नेतान्याहूलाई ट्रम्पको ‘पागल’ फोन कल, जसले इरानसँगको वार्तालाई जटिल बनायो
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकाका ती राष्ट्रपतिहरूको सूचीमा सामेल भएका छन्, जसको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको मतभेद खुला रूपमा सतहमा आएको छ।
प्राप्त रिपोर्टहरूका अनुसार लेबनानमा भइरहेको सैन्य कारबाहीलाई लिएर अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोनमा निकै तीखो कुराकानी भएको छ। इजरायलको यस कदमले अमेरिकाको इरान कूटनीतिलाई गम्भीर सङ्कटमा पारेको बताइएको छ।
लेबनानमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा इरानले अमेरिकासँगको वार्ता नै रोक्ने धम्की दिएको छ। यसलाई राष्ट्रपति ट्रम्पको त्यो प्रयासका लागि ठूलो धक्का मानिएको छ, जसका माध्यमबाट उनी इरानसँग जारी एक अलोकप्रिय युद्धबाट बाहिर निस्कन चाहन्छन् ।
एक पत्रकारले ट्रम्पलाई ‘एक्सियोस’ को त्यो रिपोर्टबारे सोधेका थिए, जसमा ट्रम्पले गत सोमबार फोनमा नेतन्याहूलाई ‘क्रेजी’ (पागल) भनेको र गुण नमान्ने आरोप लगाएको उल्लेख थियो।
बुधबार प्रसारित ‘पड फोर्स वान पोडकास्ट’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त कुरा स्वीकार गर्दै भभने, “मैले त्यसो भनेको थिएँ। म रिसमा थिएँ त भन्दिनँ, तर लेबनानसँग उनको लगातारको लडाइँलाई लिएर म अलिकति चिन्तित र दुःखी थिएँ, तपाईंले कुरा बुझ्नुभयो होला।” यद्यपि उनले थपे, “म बीबी (नेतन्याहू) लाई धेरै मन पराउँछु र म उनीसँग धेरै राम्रोसँग काम गर्छु।”
ह्वाइट हाउसको धैर्यताको परीक्षा लिने नेतन्याहूको लामो इतिहास छ र उनी यस्ता विवादहरूको राजनीतिक परिणामबाट सधैँ उम्किँदै आएका छन्। यो ताजा टकराव यस्तो समयमा आएको छ जब ट्रम्प अमेरिका-इरान युद्धविरामको अवधि बढाउन सक्ने र इरानको परमाणु कार्यक्रमको भविष्यमाथि वार्ताको बाटो खोल्ने सम्झौतामा विचार गरिरहेका छन् । यसका साथै विश्वव्यापी समुद्री व्यापारका लागि अत्यधिक महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ पुनः खुलाउने विषय पनि दाउमा लागेको छ।
अर्कोतर्फ, प्रधानमन्त्री नेतन्याहूले आफ्नो अमेरिकी सहयोगीसँगको तनावको कुरालाई हाँसेरै खारेज गरिदिएका छन्। बुधबार सीएनबीसीलाई दिएको अन्तर्वार्तामा उनले भने, “कहिलेकाहीँ सबभन्दा राम्रो परिवारमा जस्तै हाम्रा बीचमा पनि केही रणनीतिक मतभेदहरू हुन्छन्। हामी सधैँ त्यसलाई सुल्झाउने बाटो निकाल्छौँ र हामी यो काम असल मित्रहरू झैँ गर्छौँ।” उनले दुई देश ‘बिहान असहमत भएर दिउँसोसम्म सहमत हुन सक्ने’ टिप्पणी समेत गरे।
तर, विज्ञहरूले भने यो फोन कलले ह्वाइट हाउसको गम्भीर असन्तुष्टिलाई सङ्केत गर्ने चेतावनी दिएका छन्। फेब्रुअरी २८ मा इरानमाथि सुरु भएको आक्रमणको १०० दिन बितिसक्दा पनि अमेरिका र इसरायलबीच सैन्य तथा राजनीतिक लक्ष्यका सवालमा तालमेल मिल्न सकेको छैन।
क्राइसिस कम्युनिकेसन एजेन्सी ‘ग्लोबल सिचुएसन रुम’ का प्रेसिडेन्ट तथा पूर्व कूटनीतिज्ञ ब्रेट ब्रुएनले बीबीसीसँग कुरा गर्दै भने, “नेतन्याहूको आफ्नै बाटो हिँड्ने लामो इतिहास छ, चाहे अमेरिकासँग जेसुकै भनिएको होस्। ट्रम्पले उनीसँग अघि बढ्ने निर्णय गरे र अहिले उनी एउटा कठिन पाठ सिक्दैछन् कि जब तपाईं यस्तो अप्रत्याशित नेतासँग युद्धमा होमिनुहुन्छ, जसको कार्यसूची सधैँ तपाईंको प्राथमिकतासँग मिल्दैन, तब के हुन्छ।”
समग्रमा नेतन्याहू र ट्रम्प दुवै अमेरिकाको मुख्य लक्ष्य इरानलाई परमाणु हतियार बनाउन वा हासिल गर्नबाट रोक्नु हो भन्ने कुरामा सहमत छन्। तर लेबनानको मामिलामा दुवैको स्वार्थ केही हदसम्म फरक छ।
इजरायलले इरान समर्थित हिज्बुल्लाह मिलिसियालाई निशाना बनाउने कसम खाएको छ, जबकि अमेरिका र इरानबीच वार्ता जारी छ। इरानले कुनै पनि युद्धविराममा लेबनानलाई पनि सामेल गरिनुपर्ने सर्त राखेको छ।
यो विवाद यस्तो समयमा भइरहेको छ जब अमेरिकी जनताको ठूलो हिस्साले लामो समयदेखि इजरायललाई दिइँदै आएको अमेरिकी समर्थनको आलोचना गरिरहेको छ। अप्रिलमा सार्वजनिक भएको ‘प्यु रिसर्च’को एक सर्वेक्षण अनुसार अहिले ६० प्रतिशत अमेरिकीहरू इजरायललाई नकारात्मक दृष्टिकोणले हेर्छन्।
सन् २०२३ मा हमाससँग युद्ध सुरु हुनुअघि यो आँकडा ४२ प्रतिशत मात्र थियो। कयौँ प्रमुख अनुदारवादी (रूढीवादी) हस्तीहरूले पनि इजरायलले इरानसँगको युद्धमा जानका लागि ट्रम्पलाई प्रभावित पारेको सार्वजनिक रूपमै बताएका छन्, यद्यपि ह्वाइट हाउस र नेतान्याहू दुवैले यसको खण्डन गर्छन्।
युद्धका प्रमुख आलोचकहरूमध्ये एक जो केन्टले, जसले मार्चमा ‘नेसनल काउन्टर टेररिज्म सेन्टर’ को प्रमुख पदबाट राजीनामा दिएका थिए, भने, “हामीले यो युद्ध इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा सुरु गर्यौँ।”
इजरायल समर्थक लबिङ समूह ‘अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी’ ले केन्टको राजीनामाको बयानलाई पुनः सेयर गर्दै उनीमाथि ‘पुरानो यहुदी-विरोधी पूर्वाग्रह’ लाई बढावा दिएको आरोप लगाएको थियो। यस राजनीतिक वातावरणमा केही विश्लेषकहरूको बुझाइ छ कि अमेरिकामा आलोचकहरूलाई शान्त पार्नका लागि ट्रम्पसँग नेतन्याहूसँग मतभेद देखाउनुको पछाडि राजनीतिक स्वार्थ पनि जोडिएको छ।
नेतान्याहूबाट निराशा भोग्ने ट्रम्प मात्र एक्लो अमेरिकी राष्ट्रपति होइनन् । यसअघि पनि अमेरिकी राष्ट्रपतिहरूसँग नेतन्याहूको सम्बन्ध तनावपूर्ण रहेको इतिहास छ । ओस्लो शान्ति सम्झौता लागू गर्ने विषयलाई लिएर तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र नेतन्याहूबीचको टकराव निकै चर्चामा रहेको थियो।
ओबामासँगको सम्बन्ध झन् बढी जटिल रह्यो, विशेष गरी मार्च २०१५ मा अमेरिकी कङ्ग्रेसमा नेतन्याहूले दिएको त्यो भाषणपछि, जुन इरान नीतिमा केन्द्रित थियो र जसको जानकारी ह्वाइट हाउसलाई पहिले दिइएको थिएन।
जो बाइडनसँगको सम्बन्धमा पनि कटुता देखिएको थियो, जब नेतान्याहूले अमेरिकामाथि हतियार र गोला-बारुदको आपूर्ति रोकेको आरोप लगाएका थिए। ह्वाइट हाउसका अधिकारीहरूले ती टिप्पणीहरूलाई ‘अनावश्यक’ र ‘अत्यन्तै निराशाजनक’ भनेका थिए।
वासिङ्टनस्थित मिडिल इस्ट इन्स्टिच्युटका विज्ञ नातान स्याक्स भन्छन्, “अमेरिकी राष्ट्रपतिहरूसँग उनको सम्बन्ध निकै तनावपूर्ण रहेको छ। उनी अत्यन्तै कठिन वार्ताकार हुन्, किनकि उनी कडा मात्र छैनन्, बरु धेरै शङ्कालु पनि छन्।”
ट्रम्पले यसअघि पनि नेतन्याहू प्रति आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । गत वर्ष पत्रकारहरूकै अगाडि उनले अपशब्दको प्रयोग गरेर्नुभएको थियो, किनकि इरानमाथिको इसरायली आक्रमणले तेहरानसँगको तथाकथित १२ दिने युद्धको अन्त्यमा भएको एक संवेदनशील युद्धविरामलाई खतरामा पारेको थियो। तर, समग्रमा दुवैको सम्बन्ध सकारात्मक नै रहेको छ र नेतन्याहूले कयौँ पटक ट्रम्पलाई अमेरिकाको इतिहासमै “इसरायलको सबैभन्दा ठूलो मित्र” भनिसकेका छन्।
स्याक्सका अनुसार, “ट्रम्पका रूपमा नेतन्याहूले मध्यपूर्वको मामिला चलाउने पुरानो ढाँचालाई तोड्न तयार व्यक्ति पाएका थिए, जसले गर्दा उनी सजिलै ट्रम्पसँग जोडिन सके।” तर, अहिले देखिएको यो मतभेदले उनीहरूको लामो समयदेखिको सुमधुर सम्बन्धमा कस्तो असर पार्नेछ भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन। यो केवल एउटा सामान्य घटना मात्र हो वा कुनै ठूलो राजनीतिक परिवर्तनको सङ्केत हो, त्यो भने भविष्यले नै देखाउनेछ।







डिसी नेपाल







Facebook Comment