चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी हप्ता उत्तर कोरियाको भ्रमणमा जाने, रणनीतिक सम्बन्ध मजबुत बनाउने प्रयास

डिसी नेपाल
२२ जेठ २०८३ १४:२२

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्ने भएका छन्। चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको आधिकारिक जानकारी अनुसार राष्ट्रपति सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्ने तय भएको हो।

सन् २०१९ को जुन महिनापछि पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो राजनीतिक प्रभाव र रणनीतिक सम्बन्धलाई पुनः मजबुत बनाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला यो भ्रमण हुन लागेको हो, जसमा उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप समेत लाग्दै आएको छ। यद्यपि, चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक राष्ट्रका रूपमा रहिआएको छ।

अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रुस र उत्तर कोरियाबीचको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको यस भ्रमणमार्फत प्योङयाङमा आफ्नो परम्परागत प्रभाव पुनः स्थापित गर्न र उत्तरपूर्वी एसियामा आफ्ना रणनीतिक हितहरू सुरक्षित गर्न खोजिरहेको देखिन्छ।

राष्ट्रपति सीको यो भ्रमण बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका हालैका उच्चस्तरीय भेटघाटहरू पछि हुन लागेको हो, जसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो भूमिका बलियो बनाउने रणनीतिका रूपमा लिएको छ।

अचम्मको कुरा त के छ भने, यो भ्रमणको घोषणा उत्तर कोरियाले आणविक बम निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्ने नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक गरेको भोलिपल्ट नै गरिएको हो।

उक्त केन्द्रको निरीक्षणका क्रममा नेता किमले देशको आणविक शक्तिलाई द्रुत रूपमा बढाउने योजना सार्वजनिक गर्नुभएको थियो, जसले सीको भ्रमणअघि उत्तर कोरियाले आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा अझ बलियो रूपमा प्रस्तुत गर्न खोजेको संकत गर्दछ।

विश्लेषकहरूका अनुसार किम उत्तर कोरियालाई अन्तर्राष्ट्रिय रूपमा आणविक राष्ट्रका रूपमा स्वीकार गराउँदै आफूमाथि लागेका प्रतिबन्धहरू हटाउन वा खुकुलो बनाउन चाहन्छन्।

साथै, भविष्यमा अमेरिकासँग हुने सम्भावित वार्तामा आणविक कार्यक्रमको आंशिक कटौतीको बदलामा राजनीतिक तथा आर्थिक रियायत प्राप्त गर्ने रणनीति पनि उहाँको हुन सक्ने आकलन गरिएको छ।

सन् २०१९ मा ट्रम्पसँगको कूटनीतिक प्रयास असफल भएपछि किमले आणविक कार्यक्रम विस्तारलाई प्राथमिकता दिँदै आएका छन् भने ट्रम्पले पुनः वार्ताको इच्छा व्यक्त गरे तापनि उत्तर कोरियाले अमेरिकाले आणविक निःशस्त्रीकरणलाई पूर्वसर्त बनाउन छाडेपछि मात्र सार्थक संवाद सम्भव हुने अडान राखेको छ।

गत सेप्टेम्बरमा बेइजिङमा भएको सैन्य परेडका क्रममा भेटवार्ता गर्दा सी र किमले आपसी सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ। रुस र चीनले विगतदेखि नै उत्तर कोरियामाथि थप कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अमेरिकी प्रयासहरूको विरोध गर्दै आएका छन् भने गत महिना पुटिन र सीले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध र सैन्य दबाब बढाउने गतिविधिको विरोध गरेका थिए।

कोभिड-१९ महामारीपछि विदेश भ्रमण घटाउनुभएका सीका लागि पनि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ र यसले उत्तरपूर्वी एसियाको सुरक्षा र शक्ति समीकरणमा नयाँ सन्देश दिने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *