रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

डिसी नेपाल
१० असोज २०७६ १४:२७

मस्को। रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ।

गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो।

एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ गरिएको छ। रुसी समाचार संस्थाले उत्तर कोरियाली माझीहरुले कुनै प्रतिरोध नगरेका र उनीहरुलाई सुदूर पूर्वी नाखोट्का बन्दरगाहमा राखिएको जनाएको छ।

पक्राउ परेका माझीहरुबाट माछा मार्न प्रयोग हुने ३० हजारभन्दा बढी चारो पनि बरामद गरिएको छ । गत साता, एफएसबीका अनुसार रुसी तटरक्षकहरुको उत्तर कोरियाली माझीहरुसँग सामान्य झडप पनि भएको थियो।

जापान समुद्रमा माछा मार्ने अधिकारका विषयमा रुस, उत्तर कोरिया र जापानबीच नियमितझैं झडप हुने गरेको छ। जुलाईमा उत्तर कोरियाले १५ जना रुसी सहित एक माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको थियो। (रासस-एएफपी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *