दार्शनिकको दृष्टिमा: गुरुकुलीय शिक्षा र अस्तित्वको संकटमा नेपाली समाज
मैले आफूलाई दार्शनिक माने पनि नमाने पनि विश्वविद्यालयको उपाधिले मलाई “दार्शनिक” को दर्जा दिन्छ। एउटा दार्शनिकका रूपमा आफू र आफू बाँचेको संसारबीचको सम्बन्ध अन्वेषण गर्नु मेरो स्वाभाविक प्रवृत्ति हो।
दर्शनशास्त्रीका नाताले म पूर्वाग्रहरहित, तार्किक र ‘शुभ’को खोजीमा केन्द्रित हुन्छु। म शतप्रतिशत नै सही छु भन्ने अहङ्कार त राख्दिनँ, तर सत्यप्रतिको मेरो निष्ठा दृढ छ।
भौतिक, मानसिक र आध्यात्मिक सत्यको कसीमा मेरा तर्कहरू अन्य दृष्टिकोणका तुलनामा बढी वस्तुगत र पूर्वाग्रहरहित हुन्छन् भन्ने तथ्यमा म विश्वास गर्छु। वैदिक संस्कृति र सभ्यताको अंशका रूपमा जन्मेका कारण आफ्नो मौलिकताप्रति मेरो विशेष आस्था अवश्य छ, तर दर्शनशास्त्रले सिकाएको वैचारिक खुलापन र स्वतन्त्रतासँग म कहिल्यै सम्झौता गर्दिनँ। दर्शनको विद्यार्थी हुनुका नाते मैले आफ्नो दायित्वलाई यसरी नै बुझेको छु।
विश्वका सम्पूर्ण अवयवहरू परिवर्तनशील छन्। संस्कृति मानव विकासक्रममा निर्माण भएको र परिष्कृत गरिएको एउटा आदर्श जीवन पद्धति हो। यो कुनै ढुङ्गामा कुँदिएको स्थिर वा जड विषय होइन। संस्कृति समयको गतिसँगै बदलिन्छ, नयाँ अनुभवहरू ग्रहण गर्छ, केही पुराना रूपहरू त्याग्छ र नवीन आयामहरू निर्माण गर्छ।
तर धर्म, परम्परा र सांस्कृतिक प्रतिमानहरू सामान्य सामाजिक व्यवहारभन्दा धेरै गहिरो तहमा अवस्थित हुन्छन्। ती मानिसको चेतना, परिवार, उत्सव, भाषा, स्मृति, आस्था र पहिचानसँग अविभाज्य रूपमा जोडिएका हुन्छन्। त्यसैले धार्मिक-सांस्कृतिक प्रतिमानहरू रूपान्तरण हुन लामो समय लाग्छ। राजनीति छिटो बदलिन सक्छ, सत्ता एकै रातमा फेरिन सक्छ, संविधान संशोधन हुन सक्छ; तर समाजको आत्मा मानिने धर्म-संस्कृति सहजै विस्थापित हुँदैन।
यही कारणले इतिहासभरि धर्म र राजनीतिबीचको सम्बन्ध अत्यन्तै जटिल रहँदै आएको छ। कहीँ राजनीतिले धर्मलाई आफ्नो स्वार्थका लागि उपकरण बनायो, त कहीँ धर्मले राजनीतिलाई आफ्नो विस्तारको साधन।
आधुनिक राजनीतिक चिन्तनले जति नै धर्मनिरपेक्षताको वकालत गरे पनि साधारण मानिस आफ्नो धर्म, संस्कृति, भाषा, चाडपर्व र परम्पराप्रति गहिरो भावनात्मक सम्बन्ध राख्छ।
केही बौद्धिक वा राजनीतिक वर्गले आफूलाई धर्मनिरपेक्ष घोषणा गर्न सक्छन्, तर व्यापक जनसमुदायले धर्म र संस्कृतिलाई नै आफ्नो पहिचानको बलियो संवाहकका रूपमा ग्रहण गर्छ। त्यसैले आधुनिकताको अर्थ अधार्मिकता होइन, आफ्नो मौलिक परम्पराप्रतिको घृणा होइन, र आत्महीनताबोध त झन् हुँदै होइन।
आधुनिक हुनु भनेको जरा काट्नु होइन, बल्कि जरालाई अझ बलियो बनाएर नयाँ पात, फूल र फल दिनु हो। दुर्भाग्यवश, नेपाल र भारतजस्ता प्राचीन सभ्यता भएका समाजहरूमा आधुनिकताका नाममा आफ्नै धर्म, संस्कृति, परम्परा, भाषा र शिक्षा पद्धतिप्रति घृणाभाव विकास गराउने एउटा घातक प्रवृत्ति देखियो।
यस्तो आत्मनिन्दक प्रवृत्तिले समाजलाई सिर्जनशील बनाउँदैन, बरु आत्मविस्मृतिको सुरुङतर्फ धकेल्छ। जुन समाज आफ्नै स्मृति, आफ्नै ज्ञानपरम्परा र आफ्नै जीवनदृष्टिलाई तुच्छ ठान्न थाल्छ, त्यो समाज बाहिरबाट जतिसुकै आधुनिक देखिए पनि भित्रबाट खोक्रो र दिशाहीन हुन पुग्छ।
ऐतिहासिक दबाब र सेमेटिक चिन्तनको प्रभाव
भारतवर्षको ऐतिहासिक अनुभवलाई हेर्दा बाह्य आक्रमणहरू केवल राजनीतिक मात्र थिएनन्, ती मुख्यतया सांस्कृतिक र धार्मिक थिए। मुस्लिम शासनकालमा इस्लामी राजसत्ताको बलियो प्रभावसँगै यहाँका मौलिक धार्मिक-सांस्कृतिक संरचनाहरूमाथि ठूलो दबाब पर्याे।
पछि युरोपेली उपनिवेशवाद, विशेष गरी अङ्ग्रेजी शासनसँगै इसाई मिसनरी गतिविधि, पश्चिमी शिक्षा-नीति र सांस्कृतिक श्रेष्ठताबोधले यस उपमहाद्वीपको रैथाने चेतनालाई कमजोर पार्ने काम गर्याे।
यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, कुनै धर्मका आम अनुयायीलाई मात्र दोष दिनु उचित हुँदैन; तर ऐतिहासिक रूपमा सत्तासँग जोडिएर आएका धार्मिक विस्तारवाद, मतान्तरण-नीति र सांस्कृतिक उपेक्षाका प्रवृत्तिहरूको निर्मम आलोचना गर्न आवश्यक छ, जुन मुस्लिम र इसाई आक्रान्ताहरूले यस भूमिमा गरे र गरिरहेका छन्।
सेमेटिक एकेश्वरवादी परम्पराहरूमा ‘एक मात्र सत्य’ को दाबी अत्यन्तै कडा हुन्छ। जब यस्तो दाबी राजनीतिक शक्ति र सत्तासँग जोडिन्छ, तब बहुधार्मिक, बहुसांस्कृतिक र बहुदर्शनवादी समाजमा गम्भीर तनाव उत्पन्न हुन्छ।
यसको विपरीत, भारतवर्षको वैदिक, जैन, बौद्ध, शैव, वैष्णव, शाक्त, लोकधर्मी र प्राकृतिक परम्पराले अनेकौँ मार्गहरूलाई आदरपूर्वक स्थान दिएको थियो। यहाँ वैचारिक असहमति थियो, तीव्र शास्त्रार्थ थियो, आलोचना थियो, तर फरक मत भएकै कारण प्रतिपक्षीलाई पूर्णतः ध्वस्त नै गर्नुपर्छ भन्ने संकीर्ण मानसिकता सामान्य थिएन।
वैदिक परम्पराभित्रैबाट बौद्ध र जैन दर्शनहरूको उदय भयो। बौद्ध र जैन आचार्यहरूले वैदिक कर्मकाण्ड, आत्मवाद वा वेदको अपौरुषेयताको कडा आलोचना गरे, तर यी परम्पराहरूबीच कहिल्यै सर्वनाशकारी धार्मिक युद्ध भएन।
यसको मूल कारण भिन्नताप्रतिको दार्शनिक सहिष्णुता नै थियो। सेमेटिक एकेश्वरवादी चिन्तनले यही ‘अनेकतामा एकता’ को मर्मउपर प्रहार गर्यो र धार्मिक क्षेत्रमा मात्र नभई विशुद्ध सामाजिक तहमा पनि घृणा र निषेधको राजनीतिलाई प्रश्रय दियो।
परिणामस्वरूप, हजारौँ वर्षदेखि एकआपसमा शान्तिपूर्वक सहअस्तित्वमा रहेका समुदायहरू आज अधिकारका नाममा एकअर्काको अस्तित्व मेटाउने आत्मघाती संघर्षमा उत्रिएका छन्।
हिन्दु, बौद्ध र जैन परम्पराहरूमा ठूलो दार्शनिक मतभेद भए पनि तिनका बीच सधैँ संवाद सम्भव थियो। चार्वाक् जस्ता कठोर भौतिकवादी र नास्तिक विचारकहरूले वेद, आत्मा, परलोक र यज्ञको तीव्र खण्डन गरे, तैपनि उनीहरूको विचारलाई भारतीय दार्शनिक परम्पराभित्र ‘लोकायत’ का रूपमा आदरपूर्वक चर्चा गरियो र ती विचारहरू जीवन्त रहे। यही नै भारतवर्षीय ज्ञानपरम्पराको महानता हो।
यहाँ प्रश्न गर्न पाइन्थ्यो, प्रतिवाद गर्न पाइन्थ्यो र शास्त्रार्थ गर्न पाइन्थ्यो। सत्यलाई डर वा दण्डबाट होइन, बल्कि तर्क, अनुभव, साधना र संवादका माध्यमबाट खोज्ने प्रयत्न हुन्थ्यो।
आजको मुख्य समस्या के हो भने, बाह्य धार्मिक विस्तारवाद र आयातित राजनीतिक विचारधाराहरूको अन्धानुकरणले नेपालजस्तो मौलिक समाजमा आफ्नै परम्पराप्रति शंका, घृणा र हीनताबोध उत्पन्न गराइदियो। धर्मनिरपेक्षताका नाममा धर्मविरोध, समाजवादका नाममा सांस्कृतिक विस्मृति, साम्यवादका नाममा आध्यात्मिकता-विरोध र आधुनिकताका नाममा परम्परा-निन्दा फैलाइयो।
यसबाट समाज स्वतन्त्र भएन, बरु आफ्नो मौलिक आधारबाटै विच्छिन्न हुन पुग्यो। यस्तो अवस्था उत्पन्न हुनुको सैद्धान्तिक आधार सेमेटिक रिलिजन र ‘पुरानोलाई छिन्नभिन्न पारेर मात्र नवीन विकास सम्भव हुन्छ’ भन्ने पश्चिमा राजनीतिक चिन्तनको एकांकी प्रभाव नै हो।
नेपाली राजनीतिको विडम्बना र आयातित सिद्धान्तको असफलता
नेपालको राजनीतिक इतिहासमा पनि यही विडम्बना स्पष्ट देखिन्छ। नेपाल संसारका ती दुर्भाग्यपूर्ण देशहरूमध्ये एक हो, जहाँ केही राजनीतिक शक्तिहरूले आफ्नै धर्म, संस्कृति, परम्परा, भाषा र पहिचानलाई कमजोर पार्नुलाई नै ‘प्रगतिशीलता’ र परिवर्तनको पर्याय ठाने।
विशेष गरी वामपन्थी र तथाकथित प्रगतिशील चिन्तनले नेपाली समाजका रैथाने संस्कार, चाडपर्व, देवपरम्परा, कुलाचार, गुरुपरम्परा, स्थानीय ज्ञान र धर्माधारित नैतिकतालाई पिछडिएको भन्दै अपमानित गर्ने काम गर्याे।
तर यहाँनेर एउटा गम्भीर प्रश्न उठ्छ- के पश्चिमी समाजवाद वा साम्यवादले नेपाली किसानको खेत बढी उब्जाउ बनायो? के त्यसले देशका युवालाई स्वदेशमै मर्यादित आजीविका दियो? के त्यसले शिक्षामा चरित्र, सीप र आत्मसम्मानको नयाँ आधार निर्माण गर्यो? उत्तर सर्वथा नकारात्मक छ।
पश्चिमी समाजवाद र साम्यवाद युरोपेली औद्योगिक समाजका ऐतिहासिक पीडा, वर्गसंघर्ष र कारखाना-व्यवस्थाको जगबाट जन्मिएका विचारधारा हुन्। तिनको आफ्नै विशिष्ट ऐतिहासिक सन्दर्भ थियो। तर, नेपाल मुख्यतः कृषि, परिवार, समुदाय, गुठी, श्रम-सहयोग (परमा), लोकजीवन र धर्म-संस्कारमा आधारित अन्तर्निभर समाज हो।
यहाँको रैथाने समस्याको समाधान युरोपको अन्ध-नक्कल गरेर कदापि सम्भव छैन। विदेशी सिद्धान्तको चस्माले नेपाली समाजको आत्मालाई ठम्याउन सक्दैन। त्यसैले, समाजवाद वा साम्यवादका रेडिमेड नारा लगाएर मात्र नेपालीको जीवनस्तर बदलिँदैन।
आजीविका बदल्न त शिक्षा, सीप, चरित्र, श्रमप्रतिको सम्मान, उद्यमशीलता, स्थानीय साधनको वैज्ञानिक उपयोग, सामाजिक उत्तरदायित्व र सांस्कृतिक आत्मविश्वास चाहिन्छ।
सबैभन्दा आश्चर्यलाग्दो तथ्य त के छ भने, पश्चिमा विश्वविद्यालय पढेर आएको कथित आधुनिक विद्वान् होस् या नेपालभित्रै वामपन्थ घोकेको राजनीतिक कार्यकर्ता- ‘उदारतावाद र प्रगतिको अर्थ केवल स्वदेशी तन्त्रको विस्थापन मात्र हो’ भन्ने अवैज्ञानिक र पूर्वाग्रही संकीर्णतामा दुवै पक्ष एकमत देखिन्छन्।
विकल्प: गुरुकुल परम्पराको पुनर्जागरण
यदि हामी साँचो अर्थमा रूपान्तरण चाहन्छौँ भने, नेपालले आफ्नो प्राचीन रैथाने शिक्षा-व्यवस्था, अर्थात् गुरुकुल परम्परालाई आधुनिक शिक्षाको सैद्धान्तिक जरोका रूपमा पुनःस्थापित गर्नैपर्छ; किनभने शिक्षा नै समाज परिवर्तनको मुख्य महामार्ग हो।
यसको अर्थ इतिहासको पुरानो स्वरूपलाई जस्ताको तस्तै फर्काउनु वा पश्चगामी हुनु होइन। यसको अर्थ त गुरुकुलको ‘आत्मा’ लाई समसामयिक आवश्यकता अनुसार पुनर्जीवित गर्नु हो।
गुरुकुल केवल गोठमा सञ्चालित वा कुनै जाति विशेषका लागि आरक्षित पाठशाला मात्र थिएन; त्यो त समग्र जीवन-शिक्षाको केन्द्र थियो। त्यहाँ ज्ञान, चरित्र, अनुशासन, सेवा, स्वाध्याय, शारीरिक श्रम, गुरु-शिष्य सम्बन्ध, प्रकृतिसँगको सामीप्य, सामाजिक उत्तरदायित्व र आत्मिक विकासलाई एउटै सूत्रमा उनिएको हुन्थ्यो।
गुरुकुल शिक्षाको महानता यसको वैचारिक खुलापनमा निहित थियो। आज कतिपय मानिसहरू अज्ञानतावश गुरुकुललाई केवल कर्मकाण्ड सिकाउने धार्मिक पाठशाला सम्झन्छन्, तर वास्तविक गुरुकुल ज्ञानको बहुविध र बहुआयामिक विश्वविद्यालय थियो।
त्यहाँ वेद र व्याकरणका साथै तर्कशास्त्र, दर्शन, आयुर्वेद (चिकित्सा), ज्योतिष, धनुर्वेद (रक्षा विज्ञान), राजनीतिशास्त्र, अर्थशास्त्र, सङ्गीत, ललितकला, कृषि, पशुपालन, वाणिज्य र समाजसेवा सम्बन्धी विविध विधाहरूको व्यावहारिक शिक्षा दिइन्थ्यो।
विद्यार्थीको अन्तर्निहित प्रकृति, क्षमता, रुचि र गुण अनुसार शिक्षाको स्वरूप तय हुन्थ्यो। आजका आधुनिक शिक्षालयहरू जस्तो सबैलाई एउटै यान्त्रिक साँचेमा ढालेर ओकल्ने ‘कारखाना’ जस्तो शिक्षा प्रणाली गुरुकुलको दर्शन होइन।
आजको पश्चिमा शिक्षा व्यवस्था र प्राचीन गुरुकुल परम्परामा समयसापेक्ष आवश्यकता बाहेक धेरै कुरामा समानता खोज्न सकिए पनि दुईवटा विन्दुमा भने निकै ठूलो खाडल छ: प्रतिस्पर्धाको स्वरूप र मानवीय दायित्वको सवालमा स्वार्थ। पश्चिमा शिक्षाको सारतत्व केवल अर्कालाई उछिन्नु, प्रतियोगिता गर्नु र जुनसुकै मूल्यमा जित्नु मात्रै हो।
गुरुकुलमा पनि प्रतिस्पर्धा हुन्थ्यो, तर त्यो अर्कोलाई पराजित गर्न वा सिध्याउनका लागि नभएर आफ्नो क्षमतालाई परिष्कृत गर्नका लागि हुन्थ्यो। गुरुकुलले व्यक्तिवादी र चरम आत्मकेन्द्रित स्वार्थको कहिल्यै समर्थन गरेन।
गुरुकुलमा आलोचक विचारहरूलाई सधैँ ससम्मान स्थान दिइन्थ्यो। चार्वाक् जस्ता नास्तिक, तथा बौद्ध र जैन जस्ता वैदिक-आलोचक परम्पराहरूको पनि त्यहाँ गहिरो अध्ययन गराइन्थ्यो। शास्त्रार्थको जीवन्त परम्पराले विद्यार्थीलाई अन्धभक्त होइन, विवेकी र तार्किक बनाउँथ्यो।
त्यसैले गुरुकुल कट्टरताको होइन, संवाद र सत्यान्वेषणको केन्द्र थियो। आजका आधुनिक विश्वविद्यालयहरूले जसरी एउटा निश्चित राजनीतिक वा वैचारिक न्यारेटिभलाई मात्र वैज्ञानिक र अरूलाई पिछडिएको भन्दै खारेज गर्छन्, त्यस्तो प्राज्ञिक संकीर्णता प्राचीन गुरुकुलको स्वभावमा थिएन।
गुरुकुलीय शिक्षा दर्शनले ज्ञानको ब्रह्माण्डलाई स्वीकार गर्छ। आधुनिक चिकित्सा, क्वान्टम भौतिकी, रसायनशास्त्र, जीवविज्ञान, अन्तरिक्ष विज्ञान, कम्प्युटर इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता, व्यवस्थापन, कानुन र मनोविज्ञान जस्ता आधुनिक विधाहरूलाई गुरुकुलीय ढाँचाभित्र सहजै समावेश गर्न सकिन्छ।
ठूला प्रयोगशाला, अनुसन्धान केन्द्र, प्राविधिक प्रशिक्षण र उद्यमशीलता गुरुकुलका विरोधी तन्त्व हुनै सक्दैनन्; बरु गुरुकुलीय दृष्टिले यी भौतिक विकासका साधनहरूलाई नैतिकता, लोकमङ्गल, पर्यावरणीय सन्तुलन र आत्मसंयमसँग जोडेर कल्याणकारी बनाउन सक्छ।
विदेशी धर्म र दर्शनको अध्ययन गर्न पनि गुरुकुलमा कुनै निषेध हुँदैन। अब्राहमिक धर्महरू, युरोपेली दर्शन, आधुनिक विज्ञान, लोकतन्त्र र मानवअधिकारका सिद्धान्तहरू अध्ययन गर्न विद्यार्थी पूर्ण स्वतन्त्र हुनुपर्छ।
तर, अध्ययन गर्नु र आत्मसमर्पण गर्नु फरक कुरा हुन्। अरूको विचार पढ्नु ज्ञान हो, तर आफ्नै जरा काटेर अरूको वैचारिक दास बन्नु आत्मविस्मृति हो। गुरुकुलीय शिक्षाले विद्यार्थीलाई विश्वसँग सन्तुलित संवाद गर्न सिकाउँछ, तर आफ्नो अस्तित्व गुमाएर होइन, बल्कि आफ्नै सांस्कृतिक मेरुदण्डमा दृढतापूर्वक उभिएर।
आजको शिक्षाको संमट र पुनर्जागरणको मार्ग
आजको शिक्षा प्रणालीले विद्यार्थीलाई प्रमाणपत्र त दिन्छ, तर जीवनदृष्टि दिँदैन। यसले रोजगारीको सपना त बाँड्छ, तर प्रकृतिको सम्मान र मानवीय संवेदना सिकाउँदैन। यसले चरम प्रतिस्पर्धा त सिकाउँछ, तर सहकार्य र करुणा सिकाउँदैन।
यसले सूचनाको ओइरो त दिन्छ, तर विवेक जागृत गराउँदैन। यही कारणले आज हजारौँ युवा हातमा महँगो डिग्री लिएर पनि मानसिक रूपमा बेरोजगार, अस्थिर, आत्महीन र पलायनमुखी बनिरहेका छन्। प्रतियोगितामा जितेकाहरू पनि उद्यमका नाममा अरूलाई सिध्याएर सबैथोक आफूले मात्रै हडप्ने कर्पोरेट स्वार्थमा केन्द्रित छन्।
यदि शिक्षा जीवन, श्रम, सीप, संस्कार र स्वदेशी आजीविकासँग जोडिएन भने समाजको रूपान्तरण असम्भव छ। गुरुकुलीय शिक्षा पद्धति यही रिक्तता पूरा गर्न सक्षम छ। यसको अर्थ यो सबै समस्याको अचूक ओखती हो भन्ने होइन, तर आफ्नो सार-सिद्धान्तका रूपमा गुरुकुलीय शिक्षा पद्धति पश्चिमा ‘स्कुलिङ’ भन्दा कयौँ गुणा बढी प्रगतिशील, उदार, पर्यावरणमैत्री र समावेशी छ।
प्राचीन गुरुकुलमा विद्यार्थीले आफ्नो प्रकृति अनुसार पाण्डित्य, रक्षा, व्यापार वा सेवा मार्ग चयन गर्न सक्थे। यो विभाजन कुनै जातिगत घमण्ड वा जन्मजात श्रेष्ठताका लागि थिएन, बल्कि सामाजिक कार्यविभाजन र योग्यतामा आधारित जीवननिर्माणका लागि थियो भन्ने तथ्यको आज नयाँ युगानुकूल व्याख्या आवश्यक छ।
आज यसलाई आधुनिक प्राज्ञिक भाषामा शैक्षिक विविधता , व्यावसायिक स्वायत्तता, रुचि-आधारित शिक्षा र जीवनोपयोगी सीपका रूपमा रूपान्तरण गर्न सकिन्छ। जसका माध्यमबाट समाजमा कोही अनुसन्धानकर्ता बन्न सक्छ, कोही सुरक्षाविद्, कोही सफल उद्यमी, कोही कृषिविज्ञ, कोही चिकित्सक, त कोही कलाकार र दार्शनिक। र, सबैको श्रम उत्तिकै सम्मानित हुनुपर्छ।
जब समाज आफ्नो धर्म, संस्कृति र रैथाने शिक्षाबाट विच्छिन्न हुन्छ, तब उसमा आत्मगौरवको सर्वनास हुन्छ। आत्मगौरव मरेपछि सृजनशीलता मर्दछ र सृजनशीलता मरेको समाज अन्ततः परनिर्भर बन्न पुग्छ। परावलम्बी समाज आर्थिक र नैतिक दुवै रूपमा टाट पल्टिन्छ।
त्यसैले नेपालको पुनर्जागरण पश्चिमी बौद्धिक दासताबाट सम्भव छैन। हामीले आधुनिक विज्ञान लिनुपर्छ, तर वैज्ञानिकताका नाममा संस्कृतिविरोधी अन्धता लिनु हुँदैन। हामीले लोकतान्त्रिक अधिकार लिनुपर्छ, तर अधिकारको नाममा कर्तव्यविमुख अराजकता लिनु हुँदैन।
हामीले आधुनिक प्रविधि लिनुपर्छ, तर प्रविधिको नाममा मानवीय सम्बन्धहरूलाई मरुभूमि बनाउनु हुँदैन। हामीले विश्वका दर्शनहरू बुझ्नुपर्छ, तर आफ्नै विरासतप्रति घृणा पाल्नु हुँदैन। संक्षेपमा भन्नुपर्दा, हाम्रो समाजमा “फलानो व्यक्ति अधिकारवादी हुनुहुन्छ” भनेर परिचय दिँदै गर्दा, अर्को व्यक्तिको परिचय गौरवका साथ “उहाँ कर्तव्यवादी हुनुहुन्छ” भनी दिन सक्ने अवस्था निर्माण हुनुपर्छ र यो केवल गुरुकुलीय शिक्षाको जगमा मात्र सम्भव छ।
निष्कर्ष
नेपालको भविष्य रैथाने चेतना, आधुनिक विज्ञान र गुरुकुलीय जीवनदृष्टिको सुनौलो समन्वयमा मात्र सुरक्षित छ। शिक्षा गुरुकुलको आत्मामा आधारित हुनुपर्छ, विज्ञान अत्याधुनिक हुनुपर्छ, चरित्र वैदिक हुनुपर्छ, आजीविका स्थानीय हुनुपर्छ, र दृष्टि विश्वव्यापी हुनुपर्छ।
यस्तो समन्वयात्मक शिक्षाले मात्र नेपाली युवालाई आत्महीनताबाट आत्मविश्वासतर्फ, बेरोजगारीबाट उद्यमतर्फ, सांस्कृतिक विस्मृतिबाट पहिचानतर्फ, र निरर्थक राजनीतिक नाराबाट वास्तविक जीवननिर्माणतर्फ लैजान सक्छ।
अन्ततः, साँचो परिवर्तन र रूपान्तरण सतही ‘नारा’ होइन, माटोमुनिको ‘जरा’ हो। जरा बलियो नभई रूख कहिल्यै हरियो हुन सक्दैन। नेपालले आफ्नो अस्तित्वको रक्षाका लागि आफ्नो जरा गुरुकुल, धर्म, संस्कृति, लोकज्ञान, प्रकृति र समुदायमा खोज्नैपर्छ र त्यसमै आधुनिक विज्ञान एवं विश्वज्ञानका श्रेष्ठ पक्षहरूलाई समाहित गर्नुपर्छ। यही मार्गले मात्र नेपाली समाजलाई पहिचानको सङ्कटबाट जोगाउनेछ र भविष्यको एक सभ्य, सबल, र आत्मसम्मानी नेपालको निर्माण गर्नेछ।















Facebook Comment