फिफा विश्वकप २०२६: न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

डिसी नेपाल
८ असार २०८३ ९:५९

काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि सानदार जित दर्ता गरेको छ। भ्यानकुभरस्थित विसी प्लेस स्टेडियममा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट अङ्क तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो।

खेलमा सुरुवाती अग्रता भने न्युजिल्यान्डले लिएको थियो। प्रतिस्पर्धात्मक खेलको १५औँ मिनेटमा फिन सम्र्यानले गोल गर्दै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए। पहिलो हाफसम्म न्युजिल्यान्डले आफ्नो १–० को अग्रतालाई कायमै राखे पनि दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्‍यो।

इजिप्टका लागि खेलको ५८औं मिनेटमा मोस्तफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए। त्यसपछि आक्रामक बनेको इजिप्टका लागि ६७औँ मिनेटमा स्टार खेलाडी मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले तेस्रो गोल गरेपछि इजिप्टको जित सुनिश्चित भएको थियो।

यस जितसँगै समूह ‘जी’ मा दुई खेलबाट चार अंक जोड्दै इजिप्ट शीर्ष स्थानमा पुगेको छ र उसको नकआउट चरणमा पुग्ने सम्भावना निकै बलियो बनेको छ। यसै समूहमा इरान र बेल्जियमको समान दुई–दुई अंक छ भने पराजित न्युजिल्यान्ड एक अङ्कसहित तालिकाको पुछारमा छ।

यसैगरी, आजै बिहान सम्पन्न समूह ‘एच’ को अर्को रोचक खेलमा विश्वकपको नवप्रवेशी टोली केप भर्डेले दुई पटकको पूर्व विश्वविजेता उरुग्वेलाई स्तब्ध पार्दै २–२ गोलको बराबरी खेलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *