हाकोने कप भलिबलमा पिरो स्पोर्ट्स क्लबको दबदबा, खुला र भेट्रान्स दुवैतर्फ च्याम्पियन
काठमाडौं । नेपाल कल्याण समाज जापानद्वारा आयोजित ‘प्रथम हाकोने कप भलिबल प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
जापानको पर्यटकीय क्षेत्र हाकोनेमा सम्पन्न प्रतियोगिताको खुला पुरुषतर्फ ‘पिरो स्पोर्ट्स क्लब’ ले उपाधि जित्दै नगद ३,११,१११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। ‘आदर्श युवा क्लब, सर्दाखेत’ उपविजेता बन्दै नगद २,११,१११ येनमा सीमित भयो।
त्यसैगरी, ३२ वर्षमाथिको भेट्रान्सतर्फ पनि ‘पिरो स्पोर्ट्स क्लब’ ले नै उपाधि उचाल्दै नगद १,५५,५५५ येन प्राप्त गर्दा ‘एनवाइएससी जापान’ नगद ७५,५५५ येनसहित उपविजेता बन्यो। कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभास लामिछानेले खेलकुद नेपाली समुदायलाई एकताबद्ध बनाउने र आपसी सद्भाव बढाउने महत्त्वपूर्ण माध्यम भएको बताए।
खेल संयोजक मनोज केसीका अनुसार विधागत पुरस्कारतर्फ खुला पुरुषतर्फ अशोक सुनार र भेट्रान्सतर्फ मनोज केसी ‘बेस्ट प्लेयर’ (एमभीपी) घोषित भए। अन्य विधामा सन्तोष परियार (बेस्ट स्पाइकर), अशोक जिसी (बेस्ट सेटर), रञ्जित राजवंशी (बेस्ट डिफेन्डर), सुनील कार्की (बेस्ट ब्लकर) तथा निराजन मल्ल र केशव सुवेदी (बेस्ट कोच) चुनिए। प्रतियोगितामा खेलकुदका साथै हाकोने क्षेत्रको प्राकृतिक सौन्दर्य र तालको दृश्यावलोकनले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याएको सस्थाका संरक्षक जय बहादुर खड़काले उल्लेख गरे।
कार्यक्रमका महासचिव खेमलाल सापकोटा (राजु) र सदस्य प्रभु अधिकारीले संयुक्त रूपमा सञ्चालन गरेको समापन समारोहमा निवर्तमान अध्यक्ष सुवर्ण भट्टले स्वागत मन्तव्य राखेका थिए। अन्त्यमा, संस्थाका अध्यक्ष एवं सभापति विष्णु शर्माले सहयोगी सम्पूर्ण विधा, प्रायोजक र खेलाडीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment