विश्वकप २०२६: हाइटीको कडा चुनौती पन्छाउँदै मोरक्को नकआउट चरणमा
काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम तथा निर्णायक खेलमा क्यारेबियन राष्ट्र हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को प्रतियोगिताको अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकामा बिहीबार बिहान भएको एउटा अत्यन्तै रोमाञ्चक र उच्च गोलसंख्या भएको खेलमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै हाइटीमाथि ४-२ को सानदार जित दर्ता गर्यो। लामो समयको अन्तरालपछि विश्वकपको मञ्चमा फर्किएको हाइटीले खेलमा दुई पटकसम्म सुरुवाती अग्रता लिएर मोरक्कोलाई कडा दबाबमा राखे पनि दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू चम्किँदा हाइटीको ऐतिहासिक अंक जोड्ने सपना अधुरै रहन पुग्यो।
खेलको सुरुवात निकै नाटकीय ढंगबाट भएको थियो। खेलको १० औँ मिनेटमै मोरक्कोका अनुभवी गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल हुन पुगेपछि हाइटीले अप्रत्याशित रूपमा १-० को सुरुवाती अग्रता लियो।
गोल खाएपछि आक्रामक बनेको मोरक्कोका लागि ३९ औँ मिनेटमा टोलीका स्टार डिफेन्डर अकराफ हाकिमीले सानदार गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। तर, हाइटीले हार मानेन र खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले प्रहार गरेको बल जालीमा चुमेपछि हाइटीले पुनः २-१ को अग्रता बनाउन सफल भयो। पहिलो हाफ सकिनुअघि नै खेलमा अर्को ट्वीस्ट आयो, जहाँ पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई फेरि २–२ को बराबरी स्थितिमा पुर्याए।
दोस्रो हाफमा मोरक्कोका मुख्य प्रशिक्षकले चालेको रणनीति र खेलाडी परिवर्तन खेलको निर्णयक मोड बन्यो। मैदान प्रवेश गरेका वैकल्पिक खेलाडीहरूले खेलको गति नै बदलिदिए। खेलको ७८ औँ मिनेटमा सुफियाने राहिमीले उत्कृष्ट फिनिसिङ गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३-२ को अग्रता दिलाए। खेल सकिन केही मिनेट मात्र बाँकी छँदा अर्थात् ८९ औँ मिनेटमा अर्का खेलाडी जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४-२ को रोमाञ्चक जित सुनिश्चित गर्यो।
यो महत्त्वपूर्ण जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै विश्वकपको अर्को चरणमा पुग्न सफल भएको छ। समूह चरणका ३ खेलबाट मोरक्कोले कुल ७ अंक जोड्यो। यसै समूहको अर्को खेलमा स्कटल्यान्डलाई ३-० को सहज नतिजाले पाखा लगाएको ब्राजिलको पनि समान ७ अंक नै भए पनि गोल अन्तर (गोल डिफरेन्स) को आधारमा ब्राजिल समूह विजेता बन्न सफल भयो भने मोरक्को उपविजेता बन्यो। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोले यस पटक पनि नकआउट चरणमा पुग्दै आफ्नो बलियो लयलाई निरन्तरता दिएको छ।






डिसी नेपाल





Facebook Comment