जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउटमा, आइभोरी कोस्ट र जर्मनी पनि अन्तिम १६ मा

डिसी नेपाल
१२ असार २०८३ ६:२०

काठमाडाैं। न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। खेलको सुरुवाती दोस्रो मिनेटमै लेरोय सानेले गोल गरेर जर्मनीलाई अग्रता दिलाए पनि त्यसलाई टोलीले जोगाउन सकेन।

खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफको ७७ औँ मिनेटमा लियोगोन्जालो प्लाटाले निर्णायक गोल गरेपछि इक्वेडरले जर्मनीमाथि रोमाञ्चक जित दर्ता गर्‍यो।

यसै समूह ‘इ’ को अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २-० गोल अन्तरले पाखा लगाउँदै नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइभोरी कोस्टको जितमा निकोलस पेपे नायक बने, जसले खेलको सातौँ र ६४ औँ मिनेटमा दुवै गोल गरे। यो हारसँगै केवल एक अंक जोडेको कुरासाओ प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणका खेलहरू सकिँदा पराजित भए पनि ६ अंक जोडेको जर्मनी समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको छ। समान ६ अंक नै बनाएको आइभोरी कोस्ट भने गोलअन्तरका आधारमा उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो। जर्मनीलाई हराएर ४ अङ्क जोडेको इक्वेडर पनि तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूको सूचीमा पर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *