वैभव सूर्यवंशीको चकित पार्ने कमाइ: १५ वर्षकै उमेरमा करोडौँको नेट वर्थ

डिसी नेपाल
१२ असार २०८३ १२:२२

काठमाडौं । भारतीय क्रिकेटको नयाँ उदयमान ताराका रूपमा देखा परेका १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको सम्पत्ति र आम्दानीको विवरण सार्वजनिक भएको छ। हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका तर्फबाट खेल्दै सनसनीपूर्ण प्रदर्शन गरेपछि उनको व्यावसायिक मूल्य आकाशिएको हो।

मिडिया रिपोर्टहरूका अनुसार यति सानो उमेरमै सूर्यवंशीको कुल सम्पत्ति (नेट वर्थ) करिब ५ करोडदेखि ७ करोड भारतीय रुपैयाँको बीचमा पुगेको अनुमान गरिएको छ। उनको आम्दानीको मुख्य स्रोत आईपीएलको सम्झौता, घरेलु क्रिकेट प्रतियोगिताहरूको म्याच फी, विभिन्न पुरस्कार राशी तथा विभिन्न प्रतिष्ठित ब्रान्डहरूसँगको विज्ञापन सम्झौताहरू हुन्।

आईपीएल २०२६ को अक्सनमा राजस्थान रोयल्सले उनलाई १.१० करोड भारुको आधार मूल्यमा रिटेन गरेको थियो। यस सिजनमा उनले १६ वटा खेल खेल्दै प्रतिखेल ७.५ लाख भारुका दरले थप १.२० करोड भारु म्याच फीका रूपमा मात्र आर्जन गरे।

प्रतियोगिताभर शानदार ब्याटिङ गर्दै ७७६ रन बनाएका सूर्यवंशीले ‘अरेन्ज क्याप’ समेत जितेका थिए। आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनले विभिन्न विधामा आकर्षक क्यास बोनसहरू समेत प्राप्त गरे, जसमा मस्ट भ्यालुयबल प्लेयरका लागि १५ लाख, अरेन्ज क्यापका लागि १० लाख, इमर्जिङ प्लेयर अफ द सिजनका लागि १० लाख, सुपर स्ट्राइकर अफ द सिजनका लागि १० लाख (टाटा सिएरा गाडीसहित) र सिजनमा ७२ वटा छक्का प्रहार गरेबापत थप १० लाख भारु पुरस्कार समावेश थियो। यसरी उनले केवल एकै आईपीएल सिजनबाट २.५ करोड भारुभन्दा बढी कमाई गरे।

आर्थिक रूपमा निकै सबल बन्दै गएका सूर्यवंशीले आफ्नो खेल जीवनलाई सहज बनाउन घरजग्गा र सवारी साधनमा पनि ठूलो लगानी गर्न थालेका छन्। उनको आफ्नो पुर्ख्यौली घर बिहारको समस्तीपुर जिल्लास्थित ताजपुर गाउँमा रहेको छ, जसको मूल्य ४० लाखदेखि ६० लाख भारुको बीचमा पर्दछ र त्यहाँ उनले अभ्यासका लागि नेट समेत बनाएका छन्।

यसका साथै व्यावसायिक क्रिकेटका लागि मुम्बईमा बस्न उनले हालै २.५ करोडदेखि ३ करोड भारु मूल्य बराबरको एउटा लक्जरी अपार्टमेन्ट (फ्ल्याट) समेत खरिद गरेका छन्। उनको सवारी साधनको संकलनमा खेल प्रदर्शनका क्रममा पुरस्कार स्वरूप प्राप्त मर्सिडिज बेंज र टाटा कर्भ इभी जस्ता महँगा गाडीहरू समावेश छन्।

सानो उमेरमै करोडौँ रुपैयाँ आर्जन गरेपछि नाबालिगहरूको आयकर (इन्कम ट्याक्स) सम्बन्धी कानुनी व्यवस्थाका बारेमा समेत नयाँ बहस सुरु भएको छ। भारतीय आयकर ऐनको धारा ६४(१ए) अनुसार सामान्यतया नाबालिगको आम्दानीलाई धेरै कमाउने आमाबुबामध्ये एकको आम्दानीमा जोडेर ट्याक्स काटिने नियम छ।

तर, वैभवको हकमा यो नियम लागु हुँदैन किनकि उनले यो सम्पत्ति कुनै उपहार वा पैतृक स्रोतबाट नभई आफ्नो व्यक्तिगत खेल कौशल, प्रतिभा र क्षमताको बलमा कमाएका हुन्। कानुन अनुसार आफ्नो प्रतिभा वा विशेष ज्ञानबाट कमाएको आम्दानीमा नाबालिग आफैँले व्यक्तिगत रूपमा आईटीआर-३ वा आईटीआर-४ फर्म भरेर छुट्टै कर तिर्नुपर्ने व्यवस्था रहेकाले उनको आम्दानीमा बुबाआमाको कर जोडिने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *