विश्वकप २०२६: इराकमाथि सेनेगलको ५–० को फराकिलो जित, नकआउट चरणको सम्भावना जीवितै
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५-० गोलको फराकिलो जित दर्ता गरेको छ ।
क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने आफ्नो गणितीय सम्भावनालाई कायमै राखेको हो । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक-एक गोलको योगदान दिए ।
खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इराक १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा सेनेगलले भरपूर उठायो ।
सेनेगलले खेलको चौथो मिनेटमै हबिब डियाराको उत्कृष्ट गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १० खेलाडीमा समेटिएको इराकले रक्षात्मक खेल खेल्दै थप गोल हुन नदिएपछि पहिलो हाफ १-० मा सकिएको थियो ।
तर, दोस्रो हाफमा सेनेगल इराकविरुद्ध पूर्ण रूपमा हाबी भयो र थप चार गोल थप्यो । खेलको ५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए भने ५९औँ र ७१औँ मिनेटमा पापे गुएले लगातार दुई गोल गर्दै टोलीलाई ४-० को सुदृढ स्थितिमा पुर्याए । खेल सकिन केही समय बाँकी छँदा ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गरेपछि सेनेगलले ५–० को सानदार जित सुनिश्चित गर्यो ।
यो जितसँगै समूह ‘आई’ मा तीन खेलबाट तीन अङ्क जोड्दै सेनेगल तेस्रो स्थानमा रहन सफल भएको छ । फिफा विश्वकप २०२६ को ४८ टोली सहभागी नयाँ संरचना अनुसार १२ वटा समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार वटा तेस्रो स्थानका टोलीहरू पनि नकआउट चरणमा प्रवेश पाउने नियम छ ।
यो जितपछि सेनेगल तेस्रो स्थानमा रहने टोलीहरूको समग्र सूचीमा पाँचौँ स्थानमा उक्लिएको छ, यद्यपि नकआउट चरणमा सुरक्षित हुन उसलाई अब अन्य समूहका खेलहरूको अनुकूल नतिजा कुर्नुपर्नेछ ।
यस समूहबाट फ्रान्सले आफ्ना सबै खेलमा जित निकाल्दै नौ अंकसहित समूह विजेता र नर्वे छ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगिसकेका छन् भने तीनवटै खेल हारेको इराक अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।






डिसी नेपाल





Facebook Comment