विश्वकप इतिहासमा मेस्सीको कीर्तिमान: जोर्डनविरुद्ध उत्कृष्ट फ्रिकिक गोलसँगै कुल गोल संख्या १९ पुग्यो

डिसी नेपाल
१४ असार २०८३ १०:१२

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो खेल जीवनमा अर्को एउटा सुनौलो इतिहास रचेका छन्।

खेलको उत्तरार्धमा मैदान प्रवेश गरेर उत्कृष्ट फ्रिकिक गोल गर्दै मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका हुन्।

डालास स्टेडियममा जारी खेलको ६०औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका मेस्सीले खेलको ८०औं मिनेटमा आफ्नो जादुमयी प्रदर्शन देखाए। डी-बक्सभन्दा ठीक बाहिर जोर्डनका डिफेन्डर अमिर जामोसले मेस्सीमाथि फउल गरेपछि अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थियो।

उक्त अवसरलाई सदुपयोग गर्दै मेस्सीले प्रहार गरेको सटिक बल सिधै जोर्डनको जालीमा चुमेपछि अर्जेन्टिनाले खेलमा ३–१ को सुनिश्चित जित निकाल्यो।

जारी विश्वकप २०२६ मा मात्रै कप्तान मेस्सीको यो छैटौं गोल हो। यसअघि अर्जेन्टिनाले खेलेका समूह चरणका खेलहरूमा उनले अल्जेरियाविरुद्ध शानदार ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्धको खेलमा दुई गोल गर्दै टोलीलाई जिताएका थिए।

जोर्डनविरुद्धको यो थप गोलसँगै मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताहरूको शीर्ष सूचीमा आफ्नो स्थान अझ सुरक्षित गर्दै ऐतिहासिक १९ गोलको आँकडा छुन सफल भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *