विश्वमा चियाको महिमा
भाग १
पूरा विश्वमा चिया निकै लोकप्रिय पेय पदार्थ बनेको छ र यसको इतिहास पनि ज्यादै पुरानो छ। आज पानीपछि सायद चिया नै विश्वभर सबैभन्दा बढी खपत हुने पेय पदार्थ होला। मदिरा सेवन नगर्ने व्यक्तिहरू तथा मदिरा वर्जित मुलुक र समाजमा चियाको महिमा अझ बढी हुन्छ।
चीन तथा दक्षिण एसियामा त चिया नै पेय पदार्थको पर्यायवाची शब्द बनेको छ। खाडी राष्ट्र र युरोपेली मुलुकमा पनि चिया निकै रुचाइन्छ। चीनका किसानदेखि सबै वर्गका व्यक्तिहरू कामको दौरान या अन्य फुर्सदिला क्षणमा थर्मसभरि ग्रीन टी (हरियो चिया) बनाएर पिउँदै पानीको तिर्खा मेट्ने गर्दछन्।
एकातिर चियाको रूपमा हल्का मनतातो पानी पेटमा परिरहने भएकाले त्यसले पेटलाई फाइदा पनि गर्ने र चियामा भएका फाइदाजनक तत्त्वले गर्दा पाचनक्रिया ठीक हुनेदेखि शरीरमा जलको मात्रा सन्तुलित रूपमा उपलब्ध भइरहने भएकाले पनि शरीर स्वस्थ रहनमा मद्दत पुग्छ।
अधिकांश दक्षिण एसियाली मुलुकमा दूध हालेको र कालो वा कागती चियाको खपत घरघरमा हुने तथा सबै अड्डा एवं सार्वजनिक स्थलमा पनि चिया पिएर थकाइ मेट्ने र ताजा हुने कार्य एक आम दैनिकी भइसकेको छ।
बिहान उठ्नेबित्तिकै चियाको चुस्कीसँगै दैनिकी सुरु गर्ने र दिनभरमा कम्तीमा चार–पाँच कप चिया पिउने आदत अधिकांश दक्षिण एसियाली मुलुकका बासिन्दामा छ। कोही पाहुना आएमा चियाबाटै सत्कार गर्ने र कसैलाई हालखबर सोध्ने बेलामा पनि ‘चिया पिउनुभो ?’ भनेर सोध्ने आदतै बसिसकेको छ मानिसहरूमा।
अरब मुलुकदेखि रुस र पूर्वी युरोपमा पनि चियाको खपत निकै हुने गर्दछ। वास्तवमा चिया बनाउनको निम्ति पानी उमाल्ने भाँडो, चिया बनाउने विशेष प्रकारको भाँडो, चिया छान्नका निम्ति छान्नी, चिनी वा अन्य गुलियो हाल्न र मिसाउनका निम्ति चम्चा र चिया पिउने कप तथा गिलासको आवश्यकता पर्दछ।
तर आफूलाई सभ्य र सम्भ्रान्त भन्नेहरूले पकाएको चिया राख्ने चाँदी वा अन्य महँगा धातुका भाँडा, दूध र चिनी राख्ने त्यस्तै तर अलि साना भाँडा र चिया सेलाउँछ भनेर छोपेर राख्ने अति आकर्षक बाक्ला कपडाका टोपीहरूको पनि प्रयोग गर्ने गर्दछन्।
फारसी तथा अटोमन साम्राज्य (हालको इरान र टर्की) बाट चिया संस्कृतिबारेका धेरै कुरा पूर्वी र पश्चिमा मुलुकहरूले निकै पहिलेदेखि सिकेका हुन्। उता चीन र जापानमा भने पोर्सिलिनका साथै बाँस र काठका आकर्षक भाँडाहरू पनि उत्तिकै प्रयोगमा आउँछन्।
आजको नयाँ जमानामा बिजुलीबाट चल्ने चियादानीदेखि पानीको तापक्रम नाप्ने थर्मोमिटरसम्म पनि प्रयोगमा ल्याइन्छ। निश्चित तापक्रममा चियाको स्वाद बढी आउँछ भन्ने मान्यता विभिन्न सभ्यतामा छ। त्यसमा पनि कुन प्रकारको चियालाई कति तापक्रममा पकाउने भन्ने आ-आफ्ना सिद्धान्त र विश्वास छन्।
रुसमा ‘समाभार’ भनिने भाँडोमा पानी तताएर चिया बनाउने र त्यसकै एउटा भागमा चिया हालेर पिइराख्ने गरिन्छ भने अन्य मुलुकहरूमा पनि आ-आफ्नै किसिमले चिया पिउने परम्परा छ।
चिया पकाउने र पाकेको चियालाई गरम अवस्थामा राख्ने चियादानी पनि विभिन्न क्षेत्रका आ-आफ्ना मौलिक प्रकारका हुन्छन्। चीन तथा पूर्वी एसियामा पोर्सिलिन, सेरामिक र माटोका अन्य आकर्षक भाँडामा चिया बनाएर सजाइन्छ र पिइन्छ भने दक्षिण एसियामा कतै सिसाको गिलासमा र कतै अति आकर्षक चाँदीका भाँडा र पोर्सिलिनका प्यालाहरूको पनि प्रयोग गरिन्छ। कतै ठुला कपमा चिया पिइन्छ भने कतै कतै साना कपको प्रयोग हुने गर्दछ।
चिया नै विश्वमा पाहुनाको सत्कार गर्ने सबैभन्दा सस्तो र लोकप्रिय पेय पदार्थ हो। हिजोआज दूध चिया, मसला चिया, कागती चिया, सादा कालो चिया, ग्रीन टी, जस्मिन टी आदि जस्ता चियाका विभिन्न स्वरूप निकै लोकप्रिय छन् भने गुलियो रुचाउनेले चियामा चिनी वा सक्खर हालेर पिउने गर्दछन्।
कतिपय ठाउँमा चियामा मह र केसर हालेर पिउने पनि चलन छ। सहरी युवाहरूमा चिसो ‘बबल टी’ पनि निकै लोकप्रिय बन्दै आएको छ। चिसो बनाएर पिइने ‘आइस टी’ को पनि उत्तिकै चलन छ।
तर सादा चिया जस्तो स्वस्थकर भने कुनै प्रकारको चिया पनि हुँदैन, त्यसैले यदाकदा एकाध कप अन्य प्रकारको चिया पिउने गरे पनि चियाको असली स्वाद लिन र यसलाई स्वस्थकर तवरले पिउन भने सादा चिया नै पिउने गर्नुपर्दछ।
हिजोआज नेपालमा र अन्य दक्षिण एसियाली राष्ट्रमा पनि दूध र कालो चियाबाहेक ग्रीन टी पिउने आदतमा बढोत्तरी हुँदै आएको छ। विभिन्न प्रकारका गुलिया र रासायनिक पदार्थ मिश्रित पेय पदार्थभन्दा अर्गानिक चियाको सेवन गर्नु स्वास्थ्यको निम्ति पनि फाइदाजनक नै हुने गर्दछ।
दक्षिण एसियामा नेपालसहित भारत र श्रीलंका चिया उत्पादनका प्रमुख मुलुक हुन् भने यी मुलुकबाहेक बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान चिया बढी आयात र खपत गर्ने मुख्य देशहरू हुन्। भुटानको साम्चोलिङ भन्ने गाउँमा सन् १९५० देखि सानो स्तरमा चिया खेती गर्न थालिएको हो।
यसको लागि भारतको दार्जिलिङबाट चियाको बेर्ना लगिएको थियो। भुटानमा घिउ चिया निकै लोकप्रिय छ र यसलाई ‘सुजा’ भनिन्छ। नेपालका पनि हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरू र तिब्बतीहरू घिउ र नुन चिया नै दैनिक रूपमा पिउने गर्दछन्। यस्तो चिया पकाउने विधि पनि अन्य चियाभन्दा फरक हुने गर्दछ।
विश्वमा नै सबैभन्दा बढी चियाको खेती हुने क्षेत्र भने भारतको उत्तरपूर्वी राज्य आसाम हो। त्यहाँको मौसम र भूभाग चिया खेतीका लागि ज्यादै उत्तम भएकाले ब्रिटिसहरूले चीनबाट अवैध रूपमा चियाको बेर्ना ल्याएर यो क्षेत्रमा सबैभन्दा पहिले चिया खेती गरेका थिए।
‘आसाम चिया’ विश्वभर नै ज्यादै लोकप्रिय छ। त्यसपछि मात्र भारतको ‘दार्जिलिङ चिया’ र श्रीलङ्काको ‘सिलोन चिया’को नाम आउने गर्दछ। हाम्रो ‘इलाम चिया’ पनि निकै सशक्त ब्रान्ड बन्दै आएको छ।
चियाको इतिहास नै खोतल्ने हो भने आजभन्दा करिब चार हजार वर्षपहिले अर्थात् इसापूर्व २७३७ तिर चीनका बादशाह शेन नुङले जडिबुटी खोज्ने क्रममा चिया पत्ता लगाएका थिए। वनस्पतिका वैज्ञानिकले चियाको बोटको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेन्सिस’ राखेका छन्।
किम्बदन्ती अनुसार एकचोटि बादशाह शेन नुङ जडिबुटीकै खोजीमा कुनै झाडीको छहारीमा आराम गरेर बसिरहेका थिए। त्यतिबेला उनका सेवकले पिउनका निम्ति पानी तताइरहेको समयमा सो झाडीका सुकेका केही पात उम्लिरहेको पानीमा खसे।
पानी उम्लिएपछि ती बादशाहले त्यो पानी पिउँदा निकै मज्जाको स्वाद आएकाले, त्यो बेलादेखि उनले चियाको पात टिपेर चियाका रूपमा पिउन थालेको र यसको प्रचार हुन थालेको कुरा इतिहासमा उल्लेख छ।
चीनमा चियाको जन्म भएको सुरुवाती समयमा यसको बोटलाई पेय पदार्थभन्दा पनि बढी तरकारी र औषधीका रूपमा सेवन गरिन्थ्यो। त्यो बेलादेखि झन्डै छैटौँ शताब्दीसम्म चिया चिनियाँ दरबार, भारदार र बौद्ध गुम्बाहरूमा मात्र सीमित भएर रहेको थियो भने सन् ६१८ देखि ९०६ सम्म आइपुग्दा चिया चीनको राष्ट्रिय पेयका रूपमा नै प्रचलित भइसकेको थियो।
सोह्रौँ शताब्दीतिर व्यापार र धर्म प्रचारको सिलसिलामा पूर्वी एसियामा बसोबास गर्ने गरेका पोर्चुगिज तथा अन्य केही युरोपेलीले आफूसँगै चिया युरोप पुर्याएको विश्वास गरिन्छ।
दोस्रो शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म चीन हुँदै युरोपको भूमध्य सागरसम्मको ६,४०० किलोमिटरको पदमार्गलाई ‘सिल्क रोड’ (रेशम मार्ग) भनेर चिनिन्थ्यो। पूर्वी एसिया, दक्षिण, दक्षिणपूर्वी र पश्चिमी एसिया तथा मध्य एसिया र पूर्वी अफ्रिकालाई समेत समेटेको यो व्यापारिक मार्गले त्यतिबेलाको विश्व व्यापारमा ठूलो योगदान पुर्याएको थियो।
युरोपमा त्यतिबेला निकै माग हुने गरेको चिनियाँ सिल्क (रेशम) देखि चिया, कागज, विभिन्न रङ, पोर्सिलिन तथा अत्तरहरू र अन्य पूर्वीय उत्पादनहरू यही मार्गबाट युरोप पुर्याइन्थे भने उताबाट गहना, जवाहरात, सुन, घोडा, उँट, मह र मदिरा आदि चीन तथा अन्य पूर्वीय मुलुकमा आयात गरिन्थे।
सिल्क रोडले व्यापारको मात्र काम नगरी विभिन्न सांस्कृतिक, धार्मिक, कूटनीतिक र राजनीतिक आदानप्रदानको काम समेत गरेको थियो। नकारात्मक पक्षलाई हेर्ने हो भने सिल्क रोडमार्फत नै एक ठाउँको महामारी अर्को ठाउँमा फैलिन समेत मद्दत मिलेको थियो भने बाटोमा हुने लुटपाट र विभिन्न क्षेत्रमा हुने युद्ध, मुठभेड तथा प्राकृतिक प्रकोप र कठिनाइको समेत सामना गर्नुपर्ने हुन्थ्यो व्यापारीहरूले।
त्यसैले पनि पूरै सिल्क रोड छिचोल्नुभन्दा पनि ठाउँ-ठाउँमा अर्को पक्षलाई सामान हस्तान्तरण गर्दै गन्तव्यमा पुर्याउने खालको कठिन व्यापार हुने गरेको थियो त्यतिबेला।
यस्तै बेलातिर अर्थात् सन् १६०६ मा डचहरूले चीन हुँदै इन्डोनेसियाको जाभातिरबाट पानीजहाज र सिल्क रोदमार्फत पहिलो खेप चिया हल्यान्ड पुर्याएको कुरा इतिहासमा पढ्न पाइन्छ।
त्यस्तै सन् १६५८ तिर बेलायतको एउटा अखबारले चियालाई ‘चाइना ड्रिंक’ भन्दै लन्डनमा चिया पाइने ठाउँबारे जानकारी दिएको थियो। चियाको नाम ‘ट्चा’, ‘टे’ हुँदै ‘टी’ हुन पुग्यो। सोही ‘ट्चा’ बाट नै पछि दक्षिण एसिया र धेरै मुलुकहरूमा यसलाई ‘चाय’ वा ‘चिया’ भनेर नामाकरण गरिएको हुन सक्छ।
पोर्चुगिजहरूले युरोपमा सबैभन्दा पहिले चिया पुर्याएको र उनीहरूको दरबारमा चिया निकै लोकप्रिय भएकाले नै होला चियाप्रेमी पोर्चुगिज राजकुमारी क्याथरिनको बिहे बेलायतका राजा चार्ल्स द्वितीयसँग भएपछि बेलायतको राजप्रासाद र भारदारहरूमा चियाको महिमा बढ्दै गएको।
बेलायतमा चिया लोकप्रिय हुँदै गएपछि नै बेलायती व्यापारिक कम्पनीका रूपमा पूर्वी एसियामा घुसेको इस्ट इन्डिया कम्पनीले चीनबाट खरिद गरेको १०० पाउन्ड चियाको पहिलो खेप जाभा हुँदै सन् १६६४ मा बेलायत भित्र्याएको थियो।
सत्रौँ शताब्दीको अन्त्यतिरदेखि अठारौँ शताब्दीसम्म बेलायतमा चिया निकै लोकप्रिय भइसकेकाले यसको आयात भारी मात्रामा बढ्न थाल्यो। त्यसैले चियामा ठूलो कर लगाइने गरिन्थ्यो।
चिया महँगिँदै गएको र यसको मागभन्दा आपूर्ति कम भएकाले पकाइसकेको चियाको छोक्रालाई पनि लुकाएर नयाँ चियामा मिसाएर बेच्ने कुप्रथाको पनि सुरुवात भएको थियो। यतिबेलासम्म पूरै अमेरिका र क्यानडामा पनि युरोपका अन्य मुलुकहरूको भन्दा बेलायतको प्रभुत्व बढी थियो र एक प्रकारले अमेरिका बेलायत कै साम्राज्यभित्र पर्दथ्यो।
तर यही चियाको भारी करका कारण सुरु भएको विरोध जुलुस बढ्दै गएर पछि अमेरिकामा स्वतन्त्रताको युद्ध नै सुरु भयो र अमेरिका स्वतन्त्र राष्ट्र हुन पुग्यो। आखिर बेलायतले चियामा लगाउँदै आएको भारी करलाई घटाउन थाल्यो। फलस्वरूप चियाको पहुँच आम नागरिकमा पनि पुग्न थाल्यो र यसको अम्मल र खपत पनि झनै बढ्यो।
सन् १८३४ तिर बेलायत सरकारले आफ्नो साम्राज्यभित्र पर्ने पूर्वी र दक्षिण एसियाली मुलुकहरूमा इस्ट इन्डिया कम्पनीको साटो आफैँ सिधा शासन गर्न थालेपछि बेलायतका एसिया, अफ्रिका र अन्य सबै ठाउँमा भएका साम्राज्य तथा अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि चिया लोकप्रिय बन्दै गयो।
भारतमा र श्रीलंका (सिलोन) मा त बेलायतले चियाको खेती नै सुरु गर्यो र बेलायत लगायत विश्वभर आपूर्ति गर्न थाल्यो। यसो हुँदा चीनबाट आयात गरेको चियाभन्दा भारत र श्रीलंकामा उत्पादन भएको चिया बेलायतमा छिटो र सहज रूपमा पुग्न थाल्यो।
झनै बेलायतीहरूले पूर्वी अफ्रिकामा रहेको आफ्नो साम्राज्य केन्यामा सन् १९०३ तिर चिया खेती सुरु गरेपछि आज केन्या चिया उत्पादन र निर्यातमा चीन र भारतपछि विश्वमा तेस्रो ठूलो मुलुक बन्न पुगेको छ। अफ्रिका महादेशमा त केन्या सबैभन्दा बढी चिया उत्पादन गर्ने मुलुक नै हो।
आज आएर अफ्रिका महादेशले उत्पादन गरेको चियाले विश्व बजारमा चियाको निर्यातमा ३० प्रतिशत हिस्सा ओगटेको छ।
केन्याबाहेक चिया उत्पादन गर्ने प्रमुख अफ्रिकी मुलुकहरूमा मलावी, तान्जानिया, जिम्बाबे र दक्षिण अफ्रिका पर्दछन्। यी सबै बेलायत कै अधीनमा थिए र आज स्वतन्त्र राष्ट्र भएका छन्। यी मुलुकमा बेलायतीहरू लाखौँको सङ्ख्यामा बसाइँ सरेका थिए र उनैले चिया खेती सुरु गरेका थिए।
सन् १९०८ तिर चियाका साना-साना स्याम्पल (नमुना) पोको पारेर ग्राहकहरूलाई दिँदा, त्यसैलाई तातो पानीमा डुबाएर पिउने ठानेर प्रयोग गर्दा त्यसबाट पनि चियाको राम्रै स्वाद आएकाले चिया उत्पादकहरूले यही आकस्मिकताबाट पत्ता लागेको ‘टी ब्याग’ को सुरुवात गरेका थिए। सुरुमा पातला कपडामा बेरेर धागो राखी बनाइएका टी ब्याग पछि पातला कागजमा बेरिन थाले। आज आएर टी ब्याग विश्वभर नै निकै प्रचलित भएको छ।
आज विश्वका धेरै मुलुकमा चिया खेती हुन्छ भने चीन विश्वमा सबैभन्दा बढी चिया उत्पादन, खपत र निर्यात गर्ने मुलुक हुन पुगेको छ।
चिया उत्पादनका निम्ति उष्ण वायु र खासगरी पहाडी क्षेत्र उत्तम मानिन्छ। तर नेपालको झापा र अफ्रिकाका कतिपय मैदानी भेगमा पनि चियाको राम्रै उत्पादन हुने गरेको छ। परिमाणका हिसाबले विश्वका १० वटा ठूला चिया उत्पादक देशहरूमा चीन, भारत, केन्या, श्रीलङ्का, टर्की, इन्डोनेसिया, भियतनाम, जापान, इरान र अर्जेन्टिना हुन्।
विश्वमा वार्षिक कुल ६७ लाख टन चिया उत्पादन हुन्छ भने यसमा चीनको हिस्सा ४० प्रतिशतको हाराहारीमा छ। प्राप्त तथ्याङ्क अनुसार चीनले वार्षिक २४ लाख टन चिया उत्पादन गर्छ भने दोस्रो स्थानमा रहेको भारतले ९ लाख टन उत्पादन गर्छ।
त्यस्तै तेस्रो स्थानमा रहेको केन्याले ३ लाख ५ हजार टन उत्पादन गर्छ भने श्रीलंकाले ३ लाख टन तथा टर्कीले १ लाख ७५ हजार टन चिया उत्पादन गर्दछन्। छैटौँ स्थानमा रहेको इन्डोनेसियाले १ लाख ७७ हजार टन, भियतनामले १ लाख १७ हजार टन, जापानले ८९ हजार टन, इरानले ८४ हजार टन र दसौँ स्थानमा रहेको अर्जेन्टिनाले ७९ हजार टन चिया उत्पादन गर्ने गरेका छन्।
माथिको तथ्यांकले विश्वमा नै चिया उत्पादनमा एसिया महादेशको योगदान सबैभन्दा बढी रहेको देखिन्छ भने १० सबैभन्दा बढी चिया उत्पादन गर्नेमा अफ्रिका र दक्षिण अमेरिकाको पनि केही योगदान देखिन्छ।
कतिपय मुलुकहरूले चियाको उत्पादन नगरे पनि चिया आयात गरेर आफ्नो प्रकारले प्रशोधन गरी नयाँ ब्रान्ड र प्याकेजिङमा उत्पादन र निर्यात समेत गर्ने गर्दछन्।
विश्वमा चियाको उत्पादन र माग यत्तिको धेरै हुने भए पनि चियाको खेती साना किसानहरूबाट नै बढी हुने गरेको छ। विश्वको ६० प्रतिशत हाराहारीको चिया खेती साना किसानले गर्ने गरेका छन्। त्यसैले पनि चिया खेतीबाट आम जनताको तहसम्म आम्दानी र रोजगारी पुग्न जान्छ।
क्रमशः…
-लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।












Facebook Comment