जातीय विभेद अन्त्यका लागि मुगुमा सामूहिक सहभोज, व्यवहारमै परिवर्तन ल्याउन नगरप्रमुखको जोड
मुगु। हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ।
नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित यस विशेष कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, सुरक्षाकर्मी, दलित सञ्जालका प्रतिनिधि, पत्रकार, कर्मचारी तथा सर्वसाधारण नागरिकको व्यापक सहभागिता रहेको थियो।
जातीय विभेद एक सामाजिक अपराध हो भन्ने सन्देश प्रवाह गर्दै समाजमा समानता, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न सबै सहभागीहरू एउटै स्थानमा बसेर सहभोजमा सरिक भएका थिए। यस्ता कार्यक्रमले सामाजिक सद्भाव र व्यवहारिक रूपमा समानताको अभ्यास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद अन्त्यका लागि कानुन मात्र पर्याप्त नभई मानिसको व्यवहारमै परिवर्तन आउनु आवश्यक रहेको कुरामा जोड दिए।
सहभोजलाई सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण यात्राका रूपमा चित्रण गर्दै उनले बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा अझै विभेद कायम रहेको स्वीकार गरे।
साथै, आगामी दिनमा कसैले जातीय आधारमा छुवाछुत गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत उनले दिए। नगरप्रमुख भामले दुर्गम क्षेत्रका दलित समुदायका समस्या समाधान गर्न तथा उनीहरूको परम्परागत पेसाको संरक्षण र प्रवद्र्धनका लागि देशभरका स्थानीय तहमध्ये छायाँनाथ राराले पहिलोपटक दलित नीति तथा कार्यविधि पारित गरेको जानकारी समेत गराए।
दलित अधिकारकर्मी बलराम शाहनीले जातीय विभेद अन्त्यका लागि सहभोजजस्ता व्यवहारिक अभ्यास निकै प्रभावकारी हुने धारणा राखे। सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने र आगामी दिनमा सदरमुकाममा मात्र सीमित नभई गाउँगाउँमा पुगेर धामी-झाँक्रीलगायत स्थानीय समुदायलाई पनि सहभागी गराउन सके यसको प्रभाव अझ व्यापक हुने उनको सुझाव थियो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि जातीय विभेद अन्त्यका लागि सोचाइसँगै व्यवहारमा परिवर्तन ल्याउनुपर्ने कुरामा ऐक्यबद्धता जनाएका थिए।
नगरपालिकाको दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीले सहभोजलाई सामाजिक रूपान्तरणको महत्वपूर्ण माध्यम उल्लेख गर्दै यो कुप्रथा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत विष्णु पौड्यालले अब जातको आधारमा नभई मानवताको आधारमा सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको उल्लेख गरे। छुवाछुत व्यवहारमै अन्त्य नभएसम्म कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भएकाले समाजमा सहअस्तित्व, सद्भाव र सामाजिक एकताको बलियो सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको उनले प्रस्ट पारे।






डिसी नेपाल





Facebook Comment