अत्यधिक गर्मी बढेसँगै सर्लाहीमा सर्पको बिगबिगी: असार तेस्रो हप्तासम्म ३०५ जनाको उपचार

डिसी नेपाल
२१ असार २०८३ ७:५७

बरहथवा (सर्लाही)। यस वर्ष अत्यधिक रूपमा गर्मी बढेका कारण सर्लाही जिल्लामा सर्पको बिगबिगी निकै बढेको छ। लालबन्दी नगरपालिका-१, नवलपुरमा सञ्चालित सर्प दंश उपचार केन्द्रको हालैको तथ्यांक अनुसार विगतका वर्षहरूका तुलनामा यस पटक सर्पको प्रकोप निकै बढेको पाइएको हो।

उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार चालू वर्षको असार तेस्रो हप्तासम्म मात्रै ३०५ जना सर्पले डसेका बिरामीहरू उपचारका लागि केन्द्रमा आइसकेका छन्, जुन संख्या गत वर्षको यही अवधिको तुलनामा निकै बढी हो। केन्द्रमा अहिले दैनिक तीनदेखि सात जनासम्म सर्पको डसाइबाट पीडित बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

केन्द्रका अध्यक्ष उद्धव पौडेलका अनुसार अन्य समयमा पनि सर्पले डसेका बिरामीहरू फाट्टफुट्ट आउने गरे तापनि विशेष गरी फागुन महिनादेखि भदौ र असोजसम्म सर्पदंशका बिरामीहरूको चाप अत्यधिक हुने गर्दछ।

विज्ञहरूका अनुसार सामान्यतया मुसाको दुलो, झाडी र ओसिलो ठाउँमा बस्न रुचाउने विषालु सर्पहरू गर्मी बढेसँगै सहन नसकेर बाहिर निस्कने गर्दछन्। विशेष गरी रातको समयमा आहाराको खोजीमा निस्कने क्रममा मानिससँग जम्काभेट हुँदा सर्पले आक्रमण गर्ने गर्छन्।

सर्पले मानिसलाई खोज्दै हिँडेर आक्रमण नगर्ने बरु मानवीय गतिविधिका कारण आफ्नो सुरक्षामा चुनौती महसुस गरेपछि आत्मरक्षाका लागि मात्रै डस्ने गरेको अध्यक्ष पौडेलले प्रस्ट पारे।

उपचार केन्द्रको महिनागत तथ्याङ्क हेर्दा गर्मी बढेसँगै टोक्ने क्रम पनि बढेको देखिन्छ। यस वर्षको फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो हप्ता सकिनै लाग्दा ९१ जनालाई सर्पले डसेको छ।

तीमध्ये अत्यन्तै विषालु मानिने कमन करेत जातको सर्पले डसेका तीन जना बिरामीलाई थप जटिल उपचारका लागि जनकपुर रिफर गरिएको स्वास्थ्य सहायक यादवले जानकारी दिए। अन्य बाँकी सबै बिरामीहरूको भने केन्द्रमै सफल उपचार गरिएको थियो।

केन्द्रमा आउने बिरामीहरूमध्ये केवल पाँचदेखि सात प्रतिशतमा मात्रै शरीरभरि विष फैलिएको अवस्था पाइने गरेको छ भने १५ देखि २० प्रतिशतमा सुक्खा डसाइ (ड्राइ बाइट) र बाँकी ७३ देखि ८० प्रतिशतसम्म डसाइको शंका लागेका वा विष नभएका सर्पले टोकेका बिरामीहरू हुने गरेका छन्।

एकैपटक दुई जनासम्म बिरामीलाई आपत्कालीन उपचार सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको यस नवलपुर केन्द्रमा हाल दुई जना एमबिबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र दुई जना नेपाली सेनाको स्वास्थ्य समूहका प्राविधिकहरू चौबीसै घण्टा तैनाथ छन्।

चिकित्सकहरूले सर्पले डस्ने बित्तिकै नआत्तिई डस्ने सर्पको पहिचान गर्न र विना ढिलाइ जतिसक्दो चाँडो उपचार केन्द्र पुर्‍याउन आग्रह गरेका छन्। ग्रामीण भेगमा अझै पनि सर्पले डसेका बिरामीलाई अस्पताल ल्याउनुको साटो सुरुमा झारफुक गरेर विष झार्ने अन्धविश्वास कायमै रहेकाले समयमै उपचार नपाएर बिरामीको ज्यान जाने गरेको भन्दै त्यस्तो गम्भीर गल्ती नगर्न र सिधै स्वास्थ्य संस्था लैजान विज्ञहरूले कडा सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *