इजिप्टविरुद्धको रोमाञ्चक जितपछि अल्भारेजले भने-मेस्सी फुटबल इतिहासकै महान खेलाडी हुन्

डिसी नेपाल
२४ असार २०८३ १३:५६

काठमाडौं। अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन्।

फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन्। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अल्भारेजले मेस्सीको प्रदर्शनलाई शब्दमा बयान गर्न कठिन रहेको बताउँदै उनी एक जीवित लिजेन्ड भएको उल्लेख गरे।

जारी विश्वकपमा मेस्सीको प्रदर्शन निकै प्रभावशाली रहेको र आफूहरूले उनलाई सहयोग गर्दै हरेक क्षणको आनन्द लिने प्रयास गरिरहेको अल्भारेजको भनाइ थियो।

विश्वकपको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा सुरुवाती २-० ले पछि परेको अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।

त्यसलगत्तै ८३औँ मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै खेललाई बराबरीमा ल्याए भने इन्जो फर्नान्डेजले इन्जुरी समयमा निर्णायक गोल गर्दै साविक विजेता अर्जेन्टिनाको जित सुनिश्चित गरे।

इजिप्टविरुद्धको यो गोलसँगै मेस्सीले विश्वकप इतिहासमा एकसाथ थुप्रै नयाँ कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन्। उनी लगातार नौ विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् भने जारी विश्वकपमा उनको कुल गोल संख्या आठ पुगेको छ।

यो एउटै विश्वकप संस्करणमा मेस्सीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। खेलको पहिलो हाफमा मेस्सीको पेनाल्टी प्रहार इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले रोकेका थिए। यससँगै उनी एउटै विश्वकप संस्करणमा दुई पटक पेनाल्टी चुकाउने पहिलो खेलाडी बने पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उनले आफ्नो प्रभाव साबित गरे।

तथ्यांक संस्था अप्टाका अनुसार यो गोलसँगै मेस्सीको विश्वकप करियरको कुल गोल संख्या २१ पुगेको छ र उनी विश्वकपको नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। साथै उनले सन् १९३० मा गुइलेर्मो स्टाबिलेले बनाएको अर्जेन्टिनाका लागि एउटै विश्वकपमा आठ गोल गर्ने ऐतिहासिक कीर्तिमानसँग पनि बराबरी गरेका छन्।

इजिप्टमाथिको यो रोमाञ्चक जितसँगै उपाधि रक्षा यात्रालाई निरन्तरता दिएको अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डको सामना गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.