विश्वकप क्वाटरफाइनको नतिजा के होला, यस्तो छ एक्सपर्टको भविष्यवाणी

डिसी नेपाल
२५ असार २०८३ १५:३१

काठमाडौँ । विश्वकपको क्वाटरफाइनल खेलहरूपछि थप चार टोलीहरू घर फर्किनेछन्, तर कुन चार टोली सेमिफाइनलमा प्रवेश गर्लान् भन्ने विषयले यतिबेला विश्व फुटबलमा चर्चा पाएको छ।

बीबीसी स्पोर्ट्सका फुटबल विज्ञ क्रिस सटनले ‘राउन्ड अफ १६’ का लागि गरेका भविष्यवाणीहरू निकै उत्कृष्ट रहे, जसमा कोलम्बिया विरुद्ध स्विट्जरल्यान्डको पेनाल्टी सुटआउटको जित मात्र उनको अनुमान विपरीत रह्यो।

यस विश्वकपका कूल १०४ खेलमध्ये ९६ खेलहरू सम्पन्न भइसक्दा क्रिसले ६१ पटक (६४ प्रतिशत) सही अनुमान गरेका छन् । क्रिसले क्वार्टरफाइनलका खेलहरूमा पनि आफ्नो अनुभव र टोली तथा खेलाडीहरूको बारेमा आफ्नो ज्ञानका आधारमा नतिजाको भविष्यवाणी गरेका छन् ।

फ्रान्स विरुद्ध मोरक्को

क्रिस सटन भन्छन्, – म यहाँ बलियो टोली (फेभरेट) को पक्षमा जाँदैछु। मैले सुरुदेखि नै फ्रान्सले यो विश्वकप जित्ने कुरामा समर्थन गरेको छु र म अहिले आफ्नो विचार परिवर्तन गर्नेवाला छैन।

मोरक्कोले फ्रान्सलाई हराउन सक्ने क्षमता राख्दछ, तर त्यसो गर्नका लागि उनीहरूले यस प्रतियोगितामा अहिलेसम्म नगरेको एउटा काम गर्नुपर्नेछ, त्यो हो पूर्ण ९० मिनेटसम्म राम्रो खेल्नु। ‘राउन्ड अफ १६’ मा क्यानडा विरुद्धको खेलको पहिलो हाफमा मोरक्को निकै कमजोर र सुस्त देखिएको थियो।

उनीहरू खेलका केही समयहरूमा वास्तविक शक्तिका रूपमा देखिने टोली हुन्, तर यदि उनीहरूले यस पटक पनि त्यसरी नै खेल सुरु गरे भने उनीहरू ठुलो समस्यामा पर्नेछन्। उनीहरू एक शक्तिशाली र सँगसँगै उत्कृष्ट सीप भएको टोली हुन्, तर प्रमुख फरवार्ड इस्माइल साइबारीको चोट उनीहरूका लागि ठुलो झट्का हो र उनी बिना अग्रपंक्तिमा उनीहरूले फ्रान्सलाई कत्तिको दबाबमा राख्न सक्छन् भन्नेमा आशङ्का छ।

अर्कोतर्फ, अघिल्लो खेलमा पाराग्वेको उक्साहटको सामना गर्दा फ्रान्सले शान्त रहन देखाएको वास्तविक चरित्र र क्वालिटी प्रशंसनीय थियो। डिजायर डोएले बेन्चबाट मैदान प्रवेश गर्दै खेलमा फरक पारेका थिए, जसले उनीहरूको टोलीको गहिराइ देखाउँछ र यसै कारण फ्रान्स बलियो देखिन्छ।

सटनको भविष्यवाणी: फ्रान्स २-१ मोरक्को

स्पेन विरुद्ध बेल्जियम

क्रिस भन्छन् – ‘राउन्ड अफ १६’ मा पोर्चुगल विरुद्धको खेलमा स्पेन अग्रपंक्ति (फाइनल थर्ड) मा निकै फितलो देखिएको थियो। रेडियो फाइभ लाइभका लागि सो खेलको कभरेज गर्दा स्पेनले सङ्घर्ष गर्नुको एउटा ठुलो कारण लामिन यामाल नुनो मेन्डेसको अगाडि चल्न नसक्नु थियो।

मिकेल ओयार्जाबालले स्पेनका लागि सुरुवाती राम्रो अवसर गुमाएका थिए, तर त्यसपछि खेलको अन्तिम समयमा उनीहरूका दुई वैकल्पिक खेलाडी फेरान टोरेस र मिकेल मेरिनोले उत्कृष्ट तालमेल मिलाउँदै गोल नगर्दासम्म स्पेनले खासै लय समात्न सकेको थिएन। स्पेनले अहिलेसम्म कुनै गोल खाएको छैन जुन प्रशंसनीय छर स्पेन आक्रमणमा फेरि त्यति खराब हुन सक्दैन भन्ने विश्लेषकहरूको बुझाइ छ।

बेल्जियमले अघिल्लो खेलमा अमेरिकालाई सहजै पराजित गरेको थियो, तर त्यसबाट धेरै निष्कर्ष निकाल्न गाह्रो छ किनभने सो खेलमा अमेरिका आफैँ कत्तिको खराब थियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। स्पेन स्पष्ट रूपमा धेरै कठिन परीक्षा हो र एमादु ओनानाको चोट बेल्जियमको मिडफिल्डका लागि ठुलो झट्का हो।

स्पेनले बलमाथि नियन्त्रण जमाउनेछ र बेल्जियमले काउन्टर-अट्याकमा खेल्नुपर्ने देखिन्छ। बेल्जियमले स्पेनलाई रोक्न सक्ने र स्पेन विरुद्ध गोल गर्ने पहिलो टोली बन्ने सम्भावना न्यून देखिन्छ। बेल्जियम यहाँसम्म पुग्नु नै अचम्मको कुरा हो र उनीहरू योभन्दा अगाडि बढ्ने सम्भावना कम छ।

सटनको भविष्यवाणी: स्पेन ३-० बेल्जियम

नर्वे विरुद्ध इङ्गल्यान्ड

मेक्सिको विरुद्ध इङ्गल्यान्डको ३-२ को जित सम्भवतः यस प्रतियोगिताकै अहिलेसम्मको उत्कृष्ट खेल थियो। १० जना खेलाडीमा समेटिएपछि पनि उनीहरूले देखाएको दृढता उत्कृष्ट थियो, जसमा वैकल्पिक खेलाडीहरू मैदान प्रवेश गरेर जोन स्टोन्सले विपक्षीका प्रहारहरू रोके, ड्यान बर्नले हरेक बल हेडमार्फत क्लियर गरे र जेड स्पेन्सले केही निकै महत्त्वपूर्ण ट्याकलहरू गरे।

थोमस टुचेलको टोलीका लागि यो फरक प्रकारको परीक्षा हुनेछ र यो खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। ओर्यान निल्यान्डले उत्कृष्ट बचाउहरू गर्दै नर्वेलाई ब्राजिलभन्दा अगाडि बढाउन मद्दत गरे र नर्वे एक उत्कृष्ट टोलीको रूपमा देखिएको छ।

मार्टिन ओडेगार्ड र एर्लिङ हालान्डका रूपमा उनीहरूको स्टार गुणस्तरका बारेमा सबैलाई थाहा छ, र ब्राजिललाई पाखा लगाएपछि हालान्डले यस खेलमा के हुनेछ भन्ने कुरामा ठुलो भूमिका खेल्नेछन्। ब्राजिल विरुद्ध उनको पहिलो गोलका लागि उनको चाल (मुभमेन्ट) साँच्चै पत्याउनै नसकिने खालको थियो।

खेलअघि ग्याब्रियलसँगको उनको प्रतिस्पर्धालाई निकै चर्चा गरिएको थियो तर हालान्डले त्यो प्रतिस्पर्धा सहजै जिते। हेडिङ उनको उत्कृष्ट विशेषताहरूमा नपरे पनि उनी डिफेन्डरको नजरभन्दा टाढा रहे र क्रस आएको समयमा बल कता जाँदैछ भन्ने कुराको पहिल्यै अनुमान गरे, जसले गर्दा डिफेन्डर उनी नजिक पुग्नै सकेनन्।

यस खेलमा थप गोलहरू हुनेछन् र हालान्डले केही गोल गर्न सक्नेछन्। इङ्गल्यान्डले मानिसहरूले अपेक्षा गरेजस्तो खेलमा नियन्त्रण जमाउन नसके पनि उनीहरूले अगाडि बढ्नका लागि सही समयमा उत्कृष्ट गुणस्तरका केही क्षणहरू सिर्जना गरेका छन्।

तर, अर्कोतर्फ नर्वेको डिफेन्सले ह्यारी केन र जुड बेलिङ्घमलाई शान्त राख्न सक्छ जस्तो देखिँदैन। यदि खेल खुला रूपमा अगाडि बढ्यो भने इङ्गल्यान्डका अग्रपंक्तिका खेलाडीहरूबाट अझै उत्कृष्ट प्रदर्शन आउन बाँकी छ, जसको सुरुवात यही खेलबाट हुन सक्छ।

सटनको भविष्यवाणी: नर्वे २-३ इङ्ल्याण्ड

अर्जेन्टिना विरुद्ध स्विट्जरल्यान्ड

इजिप्ट विरुद्ध २-० ले पछि परेको अवस्थामा पनि साविक विजेता अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिन्छ भन्ने फुटबल विज्ञहरूलाई लागेको थिएन। उनीहरू निकै चतुर छन् र उनीहरूले समस्याबाट बाहिर निस्कने बाटो फेला पारे।

लियोनेल मेसीले अर्को पेनाल्टी गुमाएका हुन सक्छन् तर उनले आफ्नो भूमिका उत्कृष्ट रूपमा निभाए। अर्जेन्टिनाबाहेक यस विश्वकपमा दक्षिण अमेरिकी टोलीहरू ठुलो निराशाका रूपमा रहे। प्रतियोगिता सुरु हुनुअघि उनीहरू कति खतरनाक हुन सक्छन् भनेर चर्चा गरिए पनि मेसी र उनको टोली मात्र अहिले आफ्नो महाद्वीपको झन्डा फहराउने एक मात्र टोली बाँकी छ।

अर्जेन्टिनाले ‘राउन्ड अफ ३२’ मा केप भर्डे विरुद्ध सङ्घर्ष गरेपछि र त्यसपछि इजिप्ट विरुद्ध पनि कठिन जित निकालेकाले अहिलेसम्मका दुवै नकआउट खेलहरूमा कडा मिहिनेत गर्नुपरेको छ र उनीहरूले यस खेललाई पनि जटिल पाउनेछन्।

यद्यपि, कोलम्बिया विरुद्धको खेलमा स्विट्जरल्यान्डले अग्रपंक्तिमा खासै केही गर्न सकेन, जसमा जोहान मन्जाम्बी चोटका कारण बाहिर थिए र रुबेन भार्गास अतिरिक्त समयमा मात्र मैदान प्रवेश गर्न योग्य थिए।

तर स्विस टोली निकै मजबुत छ र उनीहरूको बलियो डिफेन्सले यस खेललाई मानिसहरूले अपेक्षा गरेभन्दा बढी प्रतिस्पर्धात्मक बनाउनेछ। सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्डबीचको रोमाञ्चक खेल हेर्ने चाहना धेरैको छ र मेसीले आफ्नो टोलीलाई अगाडि बढाउन फेरि अर्को उत्कृष्ट क्षण सिर्जना गर्ने अनुमान गरिएको छ।

सटनको भविष्यवाणी: अर्जेन्टिना २-१ स्विट्जरल्याण्ड

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *