ब्राजिलका राष्ट्रपतिले ट्रम्पमाथि लगाए ‘समुद्री डकैती’ गरेको आरोप
काठमाडौं । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गबाट आवतजावत गर्ने व्यापारिक जहाजहरूमा २० प्रतिशतको भारी कर (टोल) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति ब्राजिलका राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वा क्रुद्ध भएका छन् ।
राष्ट्रपति लूलाले ट्रम्पको यस विवादास्पद कदमलाई खुला ‘डकैती’ को संज्ञा दिएका हुन् । अमेरिकी राष्ट्रपतिले अमेरिका अबदेखि ‘स्ट्रेट अफ होर्मुजको संरक्षक’ का रूपमा रहने र सुरक्षाबापत कर असुल गर्ने घोषणा गरेपछि त्यसको प्रतिवाद गर्दै लूलाले भने, “पुराना दिनहरूमा यस्तै हर्कतलाई डकैती वा लुट भनिन्थ्यो।”
ब्राजिलियाली राष्ट्रपति लूलाले अन्तर्राष्ट्रिय जलमार्गका माध्यमबाट हुने व्यापारिक ढुवानीमा पैसा माग्ने कुनै पनि कानुनी अधिकार अमेरिकालाई नभएको स्पष्ट पारे। होर्मुज स्ट्रेटमा अमेरिकाले नियन्त्रण जमाउने र त्यहाँबाट गुज्रिने जहाजहरूबाट जबर्जस्ती कर असुल गर्ने ट्रम्पको योजना अन्तर्राष्ट्रिय नियमविपरीत भएको उल्लेख गर्दै उनले अमेरिकालाई कडा चेतावनी दिएका छन् ।
“अमेरिका जस्तो एउटा ठूलो र महत्त्वपूर्ण राष्ट्र… अब आफैँ एउटा ‘पायरेट’ (समुद्री लुटेरा) बन्न सक्दैन,” राष्ट्रपति लूलाले भने। उनले वासिङ्टनमाथि गम्भीर आरोप लगाउँदै ट्रम्प सरकारले अरूको सङ्कट र बाध्यताबाट नाफा कमाउने कुरुप प्रयास गरिरहेको टिप्पणी गरे। लूलाका अनुसार होर्मुज जलमार्ग लामो समयदेखि अन्तर्राष्ट्रिय नौवहनका लागि खुला रहिआएको छ र त्यहाँबाट यात्रा गर्ने जहाजहरूले इतिहासमा कहिल्यै पनि यस प्रकारको अतिरिक्त शुल्क तिर्नु परेको थिएन।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा एक पोस्ट लेख्दै होर्मुज स्ट्रेट इरानको साथ वा इरानविना पनि सधैँ खुला रहने दाबी गरेका थिए । “हामी इरानमाथिको नाकाबन्दीलाई पुनः सुरु गर्दैछौँ, जसको मुख्य उद्देश्य केवल इरानी जहाज वा उनीहरूका ग्राहकहरूलाई मात्र आवतजावतमा रोक लगाउनु हो। बाँकी अन्य सबै देशहरूले यस जलमार्गको सहज र खुला प्रयोग गर्न पाउनेछन्,” ट्रम्पले लेखेका थिए।
राष्ट्रपति ट्रम्पले अगाडि भनेका थिए – अबदेखि अमेरिकालाई ‘द गार्डियन अफ द होर्मुज स्ट्रेट’ (होर्मुज जलडमरूमध्येको रक्षक) का रूपमा चिनिनेछ। तर, यसबापत निष्पक्षताका आधारमा विश्वको यो अत्यन्तै अस्थिर क्षेत्रलाई सुरक्षा प्रदान गरेबापत लाग्ने सम्पूर्ण खर्चहरू उठाउन सो मार्ग भएर ढुवानी हुने सबै कार्गो सामानमा २० प्रतिशतका दरले कर असुल गरिनेछ र यो प्रक्रिया तत्कालै सुरु हुनेछ। ट्रम्पको यही घोषणाले गर्दा यतिबेला विश्वभरका प्रमुख नेताहरू र सिपिङ उद्योगहरू अमेरिकाको विरुद्धमा उभिन थालेका छन्।






डिसी नेपाल





Facebook Comment