परिवर्तनलाई संस्थागत गर्ने संघर्ष र पुराना दलहरूको छटपटी

मोहन निरौला
३१ असार २०८३ १०:२२

नेपाली राजनीति आज एक ऐतिहासिक, निर्णायक र महासंग्रामको मोडमा उभिएको छ।

वर्षौंदेखि राज्यका अंगहरूमा क्यान्सर जस्तै जरा गाडेर बसेको संस्थागत भ्रष्टाचार, दण्डहीनता र राजनीतिक संरक्षणमा फस्टाएको संगठित अपराधतन्त्रविरुद्ध नेपाली युवा पुस्ताले गत निर्वाचनहरूमा जुन ऐतिहासिक विद्रोह गर्‍यो, त्यसले सिंहदरबारको भ्रष्ट जगलाई जरैदेखि हल्लाइदिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा हासिल गरेको अभूतपूर्व जनमत र बालेन शाहको नेतृत्वमा सिंहदरबारमा बनेको नयाँ सरकार केवल एउटा सत्ता परिवर्तन मात्र होइन, यो विगत ३७ वर्षदेखिको विसंगति, दलाली र सिन्डिकेटविरुद्धको वैचारिक क्रान्ति हो।

तर, इतिहासले भन्छ- परिवर्तन सहज हुँदैन र पुराना लोभी-पापीहरूले आफ्नो साम्राज्य सजिलै त्याग्दैनन्। आज नयाँ पुस्ता देशलाई विधिको शासनको बाटोमा फर्काउन अहोरात्र खटिरहेको बेला, पुरानो सिन्डिकेटले यो सरकारलाई असफल र दिशाहीन बनाउन आफ्नो सम्पूर्ण अवैध शक्ति, कालो धन र संयन्त्र लगाएको छ।

हालै त्रिपुरेश्वरमा घटेको मुगुका २५ वर्षीय युवा गणेश नेपाली र अर्का एक नागरिकको आत्मदाह, तथा विगतमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रेमप्रसाद आचार्यको आत्मदाह जस्ता कारुणिक र हृदयविदारक घटनाहरू देशका लागि अपूरणीय क्षति हुन्।

साथै, जस्तोसुकै कठिन परिस्थितिमा पनि आत्मदाह वा आत्महत्या जस्ता आत्मघाती बाटो रोज्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्दै विधिको शासन र न्यायको लडाइँमा धैर्य राख्न म सम्पूर्ण नागरिकमा हार्दिक अपिल गर्दछु।

यी युवाहरूले जुन चरम निराशा र मानसिक दबाबका कारण आफ्नो अमूल्य ज्यान आहुति दिए, त्यसको दोष यो केही हप्ताको नयाँ सरकारमाथि थुपार्नु अन्यायपूर्ण मात्र होइन, वास्तविकतालाई तोडमरोड गर्नु पनि हो।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विगत ३७ वर्ष (२०४६ सालको परिवर्तनदेखि) सत्ता र सार्वजनिक कोषको जसरी चरम र निर्लज्ज दुरुपयोग गरे, त्यसको लेखाजोखा गरेर साध्य छैन।

यो त विगत साढे तीन दशकदेखि पुराना दलहरूले देशमा स्थापित गरेको आर्थिक अराजकता, युवाहरूलाई खाडी धकेल्ने बिचौलिया संयन्त्र र कानुनविहीनताको सञ्चित उपज हो, जसको परिणाम एकपछि अर्को गर्दै क्रमशः देखिँदै आएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विगत ३७ वर्ष (२०४६ सालको परिवर्तनदेखि) सत्ता र सार्वजनिक कोषको जसरी चरम र निर्लज्ज दुरुपयोग गरे, त्यसको लेखाजोखा गरेर साध्य छैन।

नीतिगत भ्रष्टाचार गर्ने, आफ्ना खल्तीका मान्छे पोस्ने र राजनीतिक ओत दिएर ठूला-ठूला अपराधीहरूलाई कानुनको कठघराबाट जोगाउने खेलमा यी तीनै दल सधैँ भित्रभित्रै एकै ठाउँमा बसेर भागबन्डा र साझेदारी गरिरहे। आज जब नयाँ सरकारले विधि स्थापित गर्न खोज्दैछ, तब आफ्नो साम्राज्य भत्किँदा उनीहरूमा तीनवटा स्पष्ट क्षेत्रमा चरम छटपटी र डर देखिएको छ:

-पहिलो, सत्ता र लुटतन्त्रको अन्त्य : 

नयाँ सरकार आउनासाथ नीतिगत दलाली, ठेक्कापट्टाको कमिसन, कर्मचारी सरुवा-बढुवाको मूल्यसूची र राजनीतिक नियुक्तिहरूमा हुने अर्बौँको घुसखोरी र नीतिगत सेटिङ पूर्ण रूपमा बन्द भएको छ।

आफ्ना नातेदार र अन्धभक्त कार्यकर्ताहरूलाई राज्यकोष लुटाउने र विज्ञतालाई लत्याएर भागबन्डाका आधारमा गरिने राजनीतिक नियुक्तिहरूको अवसर गुमेपछि उनीहरू नयाँ सरकारमाथि मिथ्या सूचना फैलाउन अर्बौँ रुपैयाँ खर्च गरिरहेका छन्।

उनीहरूले ठूला भनिएका मिडिया हाउस र सामाजिक सञ्जालका ‘पेड कन्टेन्ट क्रिएटर’ (भाडाका डिजिटल ट्रोलर र युट्युबर) लाई परिचालन गरी नयाँ सरकारका साना प्राविधिक कामलाई पनि ‘विपत्ति’ का रूपमा व्याख्या गर्ने प्रायोजित प्रोपागान्डा अभियान चलाइरहेका छन्।

-दोस्रो, बिचौलिया संयन्त्रमा प्रहार:

उनीहरूका बिचौलिया कार्यकर्ताहरूले हिजो राजनीतिक पहुँचको दुरुपयोग गर्दै ठेक्कापट्टा कब्जा गर्ने, सार्वजनिक ठेक्का र बोलपत्रहरू अवैध रूपमा हत्याउने र देशका इमानदार व्यापारिक घरानाहरूलाई धम्क्याएर चन्दा असुल्ने जुन अनैतिक कमाइको संयन्त्र बनाएका थिए, त्यसमा कडा प्रहार भएको छ।

-तेस्रो, कानुनी अभियोजन को डर:

नयाँ सरकारले विगतका काला फाइलहरू खोल्ने र विधिको शासन लागू गर्ने भएपछि पुराना नेताहरू आफ्नो अपराध लुकाउन र सम्भावित कानुनी कारबाहीबाट बच्नका लागि संसद्देखि सडकसम्म भ्रमको खेती गरिरहेका छन्।

हुन पनि हिजो के भएको थिएन र? नेपालीलाई भुटानी बनाउने, वैदेशिक श्रममा जानेहरूबाट रकम असुल्ने, कोभिड-१९ महामारीको बेला हुने औषधि खरिदमा समेत कमिसन खाने, सार्वजनिक जग्गा हडप्ने, आफ्नो र आफ्ना सात पुस्तालाई बिनायोग्यता र क्षमता राजनीतिक तथा लाभको पदमा नियुक्ति दिने, करका दरहरूमा तलमाथि गरेर व्यापारी पोस्ने र कमिसन लिने, बिचौलियाको सिफारिस र लेनदेनमा सार्वजनिक पदहरू बाँड्ने, अनि देशको हरेक तहमा बसेर सुन तस्करी गर्ने!

अरू के भनौँ र, को चाहिँ अछुतो थियो र? नेतालाई मिलाइदिने र कर्मचारीले आफू पनि लिने, अनि छानबिन गर्ने निकायमा आफैँले नियुक्त गरेपछि कसले रखवारी गर्ने? एउटा दलमा टाँसिएपछि मौका पनि पाइने र छानबिन पनि नहुने! यो अति मात्र होइन, घोर अत्याचार नै हो।

यद्यपि, नागरिक विद्रोहको जगमा उभिएको नयाँ शक्ति र बालेन सरकारप्रति जनअपेक्षा अझ बढी छ। हामी चाहन्छौँ कि बालेन नेतृत्वको सरकारले सधैँ जनआवाजलाई ध्यान दिएर सुनोस्, जनसरोकारका सवालहरूलाई इमानदारीपूर्वक सम्बोधन गरोस्, आफ्ना हरेक निर्णयहरूमा पूर्ण पारदर्शिता अपनाओस् र आफ्ना काम-कारबाहीप्रति नागरिकप्रति सदैव जवाफदेही बनोस्।

राज्यका सीमित र बहुमूल्य सार्वजनिक स्रोत र साधनहरूको दुरुपयोग होइन, तिनलाई अत्यन्तै सावधानी र कुशलताका साथ विशुद्ध जनकल्याणका हितमा मात्र प्रयोग गरोस्। यदाकदा सुनिएका रास्वपा नेता-कार्यकर्ता संलग्न घटनाहरूमा छानबिन नभएका हल्लाहरू हल्लामै सीमित हुनुपर्छ।

हुन त प्रधानमन्त्री बालेन (बालेन्द्र शाह) सुशासनको मामलामा अहिलेसम्म आफ्नो अडानमा कायम देखिन्छन्। तर आज मात्र होइन, भोलिका शासकले पनि शक्तिको दुरुपयोग गर्न नसकून् भनेर नै प्रणालीको विकास गर्न जरुरी छ।

यससँगै, यहाँनेर एउटा गम्भीर र निर्मम प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैतर्फ पनि तेर्स्याउनु अपरिहार्य भएको छ- के रास्वपाका कतिपय नेता-कार्यकर्ताहरू आ-आफ्नो स्वार्थका लागि आफैँ यो देशमा आउन खोजेको सकारात्मक परिवर्तन र सुधारको एजेन्डालाई धराशयी बनाउन उद्यत त छैनन्?

समाजमा साँच्चैको परिवर्तनका वाहक (‘चेन्ज एजेन्ट’) बनेर उभिने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि त्याग गर्ने कसम खाएर स्थापित भएको दलभित्र कतिपय यस्ता व्यक्तिहरू पनि छिरेका छन्, जो परिवर्तन होइन, केवल आफ्नो निहित स्वार्थ र अवसरको खोजी तथा दोहनमा केन्द्रित छन्।

नेतृत्वले त्यस्ता स्वार्थी तत्त्वहरूलाई चिन्नुपर्छ। तिनीहरूको उक्साहट र बहकाउमा लागेर रवि-बालेन वा कुनै स्वार्थसमूहको ध्रुवीकरण हुनु हुँदैन। कसैको व्यक्तिगत भलाइ वा फाइदा होइन, बरु सिङ्गो देश, आम नेपाली र नेपालको वृहत्तर हितलाई केन्द्रमा राखेर सोच्नुपर्छ।

नयाँ शक्तिभित्रका विकृतिमाथि खबरदारी गरिरहँदा पुराना दलहरूको अलोकतान्त्रिक आचरण र संसद्मा देखिने नाटक अझ लाजमर्दो छ।

नेपाली कांग्रेस, एमाले र माओवादीभित्रको आन्तरिक शक्ति संघर्ष र उनीहरूको घोर अलोकतान्त्रिक आचरणले दलहरू कसरी व्यक्तिको प्राइभेट कम्पनी र अधिनायकवादको थलो बनेका थिए भन्ने कुरा छर्लङ्ग पार्छ।

यी दलभित्र कुनै आन्तरिक लोकतन्त्र, आत्म-अनुशासन वा वैचारिक बहस थिएन र अझै पनि छैन; त्यहाँ केवल गुटबन्दी, कुर्सीको लुछाचुँडी र नेतृत्वको दासत्व छ।

‘नेतृत्वको दासत्व’ भनिरहँदा कोही कसैलाई चित्त नबुझ्ला, तर सार्वजनिक मञ्चमा देउवाले दम्भसहित ‘शेरबहादुर देउवा भनेको म हूँ’ भनेर आफ्नै सदस्यलाई हुंकार गरेको कसले बिर्सियो होला र? खड्गप्रसाद ओलीको दम्भ हिजो हेलिकप्टर चढेर फर्किएदेखि चुनावसम्मै कायम थियो।

अर्का स्वघोषित ५,००० को हत्याको जिम्मेवारी लिएका पुष्पकमल त ‘म नै सबैथोक हूँ’ भन्दै हिँड्छन्। दलभित्र आफ्नै सहकर्मीलाई सिध्याउन गरिने तिकडम, महाधिवेशनहरूमा हुने मतपत्र च्यात्ने र पैसाको खोलो बगाउने प्रवृत्ति, अनि नेतृत्वमा दशकौँसम्म एउटै अनुहार टाँसिइरहने निरङ्कुश परिपाटीले उनीहरूको लोकतान्त्रिक चरित्रको धज्जी उडाएको थियो।

संकट आउँदा वा जनताले विद्रोह गर्दा देश छाडेर भाग्ने वा संकीर्ण सुरक्षा घेरामा लुक्ने मनोवृत्ति उनीहरूको इतिहासमा सधैँ देखिँदै आएको छ।

हिजो राजनीतिक संकट आउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टर चढेर भाग्नुपरेको स्थिति होस्, वा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संकटका बेला देशै छोडेर विदेश पलायन हुने बाटो रोजेको इतिहास होस्- यसले के देखाउँछ भने यी नेताहरूमा देश र जनताप्रतिको माया, अनि देशको हितका लागि खडा हुने इच्छा र साहस कहिल्यै थिएन।

उनीहरू केवल शक्तिको दुरुपयोग गर्न मात्रै सिंहदरबारमा बसेका थिए र जनभावना एवं आवाज सुन्न सकेनन्, बरु संकट आउनासाथ नागरिकलाई अलपत्र पारेर भागे।

यहाँनेर हामीले एउटा कुरा मनन गर्नैपर्छ- रास्वपाका अधिकांश नेता, वर्तमान सांसद र मन्त्रीहरू परम्परागत रूपमा ‘राजनीतिलाई नै पेसा’ बनाएर आएका मानिसहरू होइनन्।

उनीहरू समाजका विभिन्न विधा, व्यवसाय र बौद्धिक क्षेत्रमा लामो समय आफ्नो विज्ञता प्रमाणित गरेर आएका व्यावसायिक  व्यक्तिहरू हुन्। उनीहरूको भविष्यको राजनीतिक यात्रा कस्तो हुन्छ, त्यो समयले नै बताउला; तर अहिलेसम्मको उनीहरूको पृष्ठभूमि हेर्दा उनीहरूमा विधागत विज्ञता, कानुनी अनुशासन र पेशागत मर्यादा उच्च देखिन्छ।

त्यसैले, नयाँ इतिहास निर्माणको यो चरणमा उनीहरूलाई शंकाको सुविधा र नागरिकको पूर्ण विश्वास  प्राप्त हुनुपर्दछ। उनीहरूलाई कुनै पनि दबाब वा घेराबन्दीबिना स्वतन्त्र रूपमा काम गर्ने वातावरण सबै पक्षबाट निर्माण गरिनुपर्छ, ताकि उनीहरूले देशले चाहेको वास्तविक परिवर्तन डेलिभर गर्न सकून्।

यसको अर्थ उनीहरूबाट कहिल्यै गल्ती नै हुँदैन भन्ने होइन। उनीहरूलाई सधैँ जिम्मेवार र नागरिकप्रति उत्तरदायी बनाइराख्नका लागि सजगतापूर्वक पहरेदारी गर्नु, निरन्तर निगरानी राख्नु र रचनात्मक सुझाव दिइरहनु पनि उत्तिकै आवश्यक छ। तर, अहिलेको आवश्यकता भनेको उनीहरूको सकारात्मक नियतलाई बलियो ढाल बनेर सहयोग गर्नु नै हो।

तर विडम्बना, २०४६ सालमा पुनर्बहाली भएको बहुदलीय व्यवस्थाको बागडोर समातेर विगत ३७ वर्षमा प्रजातन्त्रको नाममा देशको यति दोहोलो काडियो कि देश लगभग असफल साबित भयो।

यो असफलताको मुख्य कारण राजनीतिक दलका शीर्ष नेताहरूको असीमित व्यक्तिगत लोभ, लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको पूर्ण उपेक्षा, आत्म-अनुशासनको चरम अभाव र नेता तथा कार्यकर्ता लम्पट अवसरवादी हुनु नै हो।

उनीहरूसँग राष्ट्र निर्माणको कुनै दूरगामी दृष्टिकोण थिएन, बरु केवल ‘स्व-केन्द्रित दृष्टिकोण’ मात्रै रह्यो। सत्तालाई देश विकासको साधन बनाउनुको सट्टा व्यक्तिगत र पारिवारिक सम्पत्ति आर्जन गर्ने थलो बनाइयो।

राज्यका संवैधानिक निकाय, अदालत र विश्वविद्यालयहरूमा विज्ञता र योग्यता (Merit) लाई कुल्चेर केवल आफ्नो दलप्रति वफादार झोले कार्यकर्ता भर्ती गरियो, जसले गर्दा पूरै सरकारी संयन्त्र र कानुनी प्रणाली नै थिलथिलो भयो।

इतिहास साक्षी छ, आज पनि नेपाल जुन पूर्वाधार र अन्तर्राष्ट्रिय मञ्चको बलियो जगमा उभिएको छ, त्यो स्वर्गीय राजा महेन्द्रको पालामा निर्माण भएको हो। पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग), कोदारी राजमार्ग, नेपाल राष्ट्र बैंकको स्थापना, र संयुक्त राष्ट्र संघ  तथा असंलग्न आन्दोलनमा नेपालको बलियो र सार्वभौम उपस्थिति जस्ता दूरगामी कामहरू राजा महेन्द्रकै दृष्टिकोणका उपज हुन्।

यही राष्ट्रियताको संवेदनशीलता र राजाको दूरदर्शितालाई बुझेर नै तत्कालीन नेपाली कांग्रेसका सर्वोच्च नेता बीपी कोइरालाले सन् १९७६ (२०३३ साल) मा ‘राष्ट्रिय मेलमिलापको नीति’ अघि सार्दै राजासँग सहकार्य गर्न स्वदेश फर्किएका थिए।

इतिहास साक्षी छ, आज पनि नेपाल जुन पूर्वाधार र अन्तर्राष्ट्रिय मञ्चको बलियो जगमा उभिएको छ, त्यो स्वर्गीय राजा महेन्द्रको पालामा निर्माण भएको हो। पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग), कोदारी राजमार्ग, नेपाल राष्ट्र बैंकको स्थापना, र संयुक्त राष्ट्र संघ  तथा असंलग्न आन्दोलनमा नेपालको बलियो र सार्वभौम उपस्थिति जस्ता दूरगामी कामहरू राजा महेन्द्रकै दृष्टिकोणका उपज हुन्।

बीपीले एकातिर राजाको राष्ट्रिय दृष्टिकोणको सम्मान गरेका थिए भने, अर्कोतिर आफ्नै वरपरका र अन्य राजनीतिक नेताहरूको भ्रष्ट, संकीर्ण र स्वार्थी चरित्रलाई राम्रोसँग चिनेका थिए। बीपीले हिजो जुन राजनीतिक स्खलनको आशंका गर्नुभएको थियो, २०४६ सालपछिका नेताहरूले त्यही भ्रष्ट र सत्तामुखी चरित्रलाई नाङ्गो रूपमा प्रदर्शन गरे।

आज देशमा को खुसी छ र को दुःखी छ भन्ने कुरा प्रस्ट ऐना जस्तै सफा भएको छ। जो मानिसहरू हिजोको विकृत प्रणाली, सेटिङ र कानुनविहीनताको फाइदा उठाएर प्रत्यक्ष वा परोक्ष रूपमा व्यक्तिगत स्वार्थ पूरा गरिरहेका थिए, ती आज नयाँ सरकारका सुधारात्मक कदमहरूबाट चरम दुःखी र आत्तिएका छन्।

बालेन सरकार र नयाँ पुस्ताले कानुनको डण्डा चलाउँदा, सरकारी जग्गा कब्जा गर्नेहरूलाई धकेल्दा, अवैध संरचना भत्काउँदा र नीतिगत लुटतन्त्रको बाटो बन्द गरिदिँदा उनीहरूको अनैतिक कमाइको मुहान सुकेको छ।

आफ्ना निहित स्वार्थहरू पूरा नभएपछि, तिनै सुकिला-मुकिला बिचौलिया र तिनका आकाहरू अहिले नयाँ कदमहरूको विरोधमा सडक र सदनमा डिजिटल र भौतिक रूपमा विषवमन गरिरहेका छन्।

सडकमा हेर्दा लाग्छ, यहाँ भिडतन्त्र छ। डा. जुगल भुर्तेलको एउटा पुरानो लेखको प्रसंग जस्तै- यदि कुनै एक मात्र दलको संरक्षण छ भने कानुन र नियम कार्यान्वयन गर्न आएका प्रहरी वा नगर प्रहरीलाई जथाभाबी भन्न, यहाँसम्म कि हातपात समेत गर्न छुट छ। झट्ट हेर्दा के मुलुक शासन नै गर्न नसकिने (बेलायती प्रसङ्ग झैं) अवस्थामा पुगेको हो? कसले र के गर्‍यो भने सुधार हुन्छ त?

आज म संसद् र सत्ताको खेलमा बसेका पुराना अनुहारहरूलाई सिधै भन्न चाहन्छु-देशलाई यो हविगतमा पुर्‍याउने वास्तविक दोषी तपाईंहरू नै हुनुहुन्छ।

२०४६ सालदेखि आजसम्म देशमा मौलाएको भ्रष्टाचार, दण्डहीनता र अराजकताको जग तपाईंहरूले नै हाल्नुभएको हो। हिजो सत्तामा हुँदा राज्यको संयन्त्र ध्वस्त पार्ने तपाईंहरू आज सदनमा उभिएर सुशासनको गफ हाँक्ने कुन नैतिक धरातल राख्नुहुन्छ?

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेलाई हामी अहिले देख्दै छौँ। हिजो तपाईंहरूको आफ्नै दल सरकारमा हुँदा, मन्त्रीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दा र देश लुटिँदा तपाईंहरू किन मौन बस्नुभयो?

धमिजा काण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्ममा आफ्नै नेताहरू मुछिँदा गलतका विरुद्ध नउभिने तपाईंहरूले सत्ता सम्हालेको ३६ हप्ता पनि नभएकाहरूमाथि दोष थुपार्नु ढोंग मात्र हो।

यस्तै चरित्र संसद्मा एमालेका नेताहरूको पनि छ। नेकपा एमालेकी सांसद पद्मा अर्याल ज्यूहरू, तपाईंहरू आफैँ मन्त्री हुँदा र तपाईंहरूको दलले सरकारको नेतृत्व गर्दा भएका नीतिगत घोटाला र बेथितिहरूको लगत निकै लामो छ।

ओम्नी काण्डदेखि गिरिबन्धु टी-इस्टेटको सरकारी जग्गा नीतिगत सेटिङमा हडप्ने दलका साझेदारहरू आज संसद्मा सुशासनको पर्याय बन्न खोज्दा लाज लाग्नुपर्ने होइन? भन्नैपर्दा, पद्माजी विगतका विभिन्न कालखण्डमा अनेकौँ क्षमतामा भएका नीतिगत र व्यावहारिक भ्रष्टाचारका काण्डहरूमा प्रत्यक्ष हिस्सेदार रहँदा, एमालेकै अर्का नेता ऐन महरजी त उहाँका हरेक कदमका परम साक्षी र ‘लाभांशका हिस्सेदार’  नै बनेर उभिएका देखिन्छन्!

अनि माओवादीका नेताहरू! लडाकु शिविर (क्यान्टनमेन्ट) को अर्बौं घोटाला, कृष्णबहादुर महरा जस्ता नेताहरू सुन तस्करी र पद बार्गेनिङमा मुछिँदा संरक्षण गर्ने, र अदालतले सर्वस्वसहित जन्मकैद ठहर गरेका बालकृष्ण ढुंगेल जस्ता अपराधीहरूलाई राजनीतिक ओत दिएर आममाफी दिलाउने तपाईंहरू कुन मुखले विधिको कुरा गर्नुहुन्छ? तपाईंहरूको उद्देश्य देश सुधार गर्ने होइन, बरु आगामी छानबिनबाट कसरी उम्किने र जनतालाई कसरी दिग्भ्रमित पार्ने भन्ने मात्रै हो।

परम्परागत दलहरू-नेपाली कांग्रेस, एमाले वा माओवादी, तपाईंहरूलाई यो देशमा सुधार भयो भने के बेफायदा हुन्छ? कांग्रेस महामन्त्री गगन थापाजी, एमालेमा त अझै ओली नै हुनुहोला, के तपाईंहरू यो देशमा सुधार भएको हेर्न चाहनुहुन्न? तपाईंहरूबाट यो काम नभएर नै देश यो अवस्थामा आएको हो। वर्तमान सरकार सफल भएर देशमा सुधार भयो भने तपाईंहरूले के गुमाउनुहुन्छ?

गगनजी, हिजो संसद्को रोस्टममा उभिएर रवि लामिछाने र नयाँ सरकारविरुद्ध जस्तो आक्रामक र प्रतिशोधात्मक अभिव्यक्ति दिनुहुन्थ्यो, तर आफ्नै पार्टीका उपसभापति धनराज गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको करोडौँ रकम हिनामिना र नक्कली सम्बन्धविच्छेदको प्रपञ्चमा मुछिँदा चुपचाप हुनुभयो।

आफ्नै दलका प्रभावशाली नेताहरू नक्कली भुटानी शरणार्थी काण्डमा जेल पर्दा पार्टीकै ओत दिएर बचाउन खोज्ने दलीय-संयन्त्रको केन्द्रमा बस्नुहुन्छ र बाहिर आएर नैतिकताको गफ दिनुहुन्छ! त्यसले तपाईंको राजनीतिक प्रतिशोध र ‘डबल स्ट्यान्डर्ड’ (दोहोरो चरित्र) लाई उदाङ्गो पारेको छ।

हिजो कांग्रेस सरकारमा हुँदा भएका हरेक नीतिगत भ्रष्टाचार, शक्तिको चरम दुरुपयोग र लुटतन्त्रमा तपाईंहरूको हिस्सेदारी र मौन समर्थन सधैं रह्यो। आज बाहिर बसेर सुशासनका मीठा भाषण दिने र सामाजिक सञ्जालमा भाडाका कन्टेन्ट क्रिएटरहरू प्रयोग गरेर जनतालाई थप भ्रममा पार्न बल लगाउनुहुन्छ। यो समय त केही गर्न अठोट लिएकाहरूलाई काम गर्न दिएर, आफ्नो दलाल छविलाई सुधारेर दल बनाउने र भोलि सके केही सुध्रेको नेपाल हेर्न पर्खिने पो हो त!

कांग्रेसका आङ्देम्बे हुन् या एमालेका पद्मा अर्याल वा ऐन महर हुन्- तपाईंहरू हिजो सत्ता र शक्तिको आडमा व्यक्तिगत लाभ लिने, सरुवा-बढुवाको सेटिङ गर्ने र दण्डहीनतालाई प्रश्रय दिने खेलमा प्रत्यक्ष-परोक्ष रूपमा सधैँ सक्रिय र सहभागी हुनुहुन्थ्यो।

राज्यका हरेक अंग, संवैधानिक निकाय, विश्वविद्यालय र न्यायालयमा क्षमता र योग्यतालाई कुल्चेर आफ्ना असक्षम कार्यकर्ता भर्ती गर्ने र आज सदनमा उभिएर ‘परिवर्तनको संवाहक’ जस्तो अभिनय गर्नु राजनीतिक चरित्रहीनताको पराकाष्ठा हो, जसका साझेदार तपाईंहरू सबै नै हो।

हिजो दल र सत्ताको आडमा गलत लाभ लिएकाहरूले आफ्नो नुनको सोझो गर्न र दानापानी छुटेको झोँकमा छटपटाएर विरोध गरिरहेका छन्। तर समयले केही परिवर्तन देखेको छ र आशाको उज्यालो पनि देखिएको छ।

अब आम नेपाली जनता र पुराना दलका असल कार्यकर्ताहरू ब्युँझनुपर्ने बेला आएको छ, जो आज पनि अन्धभक्त भई आफ्ना भ्रष्ट नेताहरूको रक्षाका लागि नयाँ सरकारविरुद्ध सडकमा ओर्लँदैछन्।

दलका पछाडि दौडिने कार्यकर्ता हुन् वा झोले, सबैले अहिले गम्भीरतापूर्वक सोच्नुपर्छ- तपाईंहरूले आज कसको स्वार्थका लागि लड्दै हुनुहुन्छ? आफ्ना भ्रष्ट नेतृत्वको कालो धन र राजनीतिक भविष्य जोगाउन तपाईंहरूले आफ्नै सन्तानको भविष्यमाथि खेलबाड गर्नुहुँदैन।

नयाँ सरकारले बसाल्न खोजेको यो थिति, विधिको शासन र पारदर्शी प्रणालीले भोलि तपाईं-हाम्रा छोराछोरीलाई बिनासिफारिस योग्यताका आधारमा नेपालमै अवसर दिनेछ। वास्तविक नेपालीले कांग्रेस र कम्युनिष्ट होइन, ‘नेपाली’ बनेर भ्रामक र प्रायोजित प्रोपागान्डाको सिकार हुनबाट बच्नुपर्छ।

हामीले विगत ३७ वर्ष (करिब ४४४ महिना वा १,९२४ हप्ता) सम्म देश लुट्ने र संकट आउँदा हेलिकप्टर वा विदेश भाग्ने पुराना शासकहरूलाई संसद् र सडकमा घेरेर प्रश्न गर्नुपर्छ कि उनीहरूले यतिका वर्ष के गरे? काम गर्न खोज्ने नयाँ पुस्तालाई ३६ हप्तामै असफल बनाउने यो खेल सर्वसाधारणका लागि मान्य छैन।

यस्ता गलत प्रचार र उक्साहटबाट आम नेपाली सचेत हुनुपर्छ। बरु पुराना दलहरू र तिनका नेताहरू साँच्चिकै सुध्रिन वा रूपान्तरण हुन चाहन्छन् भने, यो नयाँ सरकारलाई दृढताका साथ काम गर्न दिऊँ, ताकि उनीहरूले देशमा एउटा बलियो प्रणालीको विकास गर्न सकून्।

कांग्रेस र कम्युनिष्ट जे-जे छन्, तिनले यो समय आफ्ना दलभित्रका आन्तरिक विकृति र कार्यकर्ताको चरित्र सुधार्नमा केन्द्रित गरून्। किनकि तपाईंहरू हरेक दलभित्रै प्रशस्त दलदल, दलाली र दरिद्रता छ, जसलाई सुधार्न सकिरहनुभएको छैन।

तसर्थ, सक्नुहुन्छ भने आफ्नो घर सफा गर्न लाग्नुहोस् र परिवर्तनको यो यात्रालाई रोक्न, भ्रमित गर्न वा व्यक्ति वा संस्थाको पक्ष/विपक्षमा प्रयोग नगर्नुहोस्। यो ऐतिहासिक परिवर्तनलाई तपाईं र हामी सबैको साझा हितका लागि प्रारम्भिक थालनीको बिन्दु बनाउनुपर्छ।

परिवर्तन आवश्यक थियो, अपरिहार्य थियो र परिवर्तनले नयाँ सम्भावनाको ढोका खोलेको छ- जुन सम्भावना र अवसरलाई हामीले कदापि गुमाउनु हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *