विश्वमा चियाको महिमा
अन्तिम भाग: नेपाली चिया निर्यातका अवरोध र समाधान
नेपाली चिया बगान भारतीय चिया बगानको दाँजोमा निकै नयाँ भएकाले यहाँ उत्पादित परम्परागत चियाको गुणस्तर पनि भारतको भन्दा उच्च छ। भारतका पुराना चिया बगानको उत्पादन वर्षेनी घट्दै गएको छ।
एक त चियाका बोटहरू पुराना हुँदै गए, अर्कोतर्फ जलवायु परिवर्तनका कारण पनि त्यहाँ उत्पादन कम हुँदै गएको छ। त्यसैले भारतले नेपाली अर्थोडक्स चिया आयात गरी भारतीय चियामा मिसाएर उच्चस्तरीय भारतीय (दार्जिलिङ) चियाको नाममा विश्वभर बिक्री गर्दछ।
त्यस्तै, नेपाली सीटीसी चियालाई भारतले आयात गरेर आफ्नो उत्पादनमा मिसाई अनेक लोकप्रिय ब्रान्डहरूमार्फत मुलुकभित्रको आवश्यकता पूर्ति गर्दछ। कतिपय त्यस्ता ब्रान्डहरू त नेपालमा समेत आयात हुने गरेका छन्।
भारतीय व्यापारीहरूले अनेक उपाय अवलम्बन गरेर नेपाली चिया निकै सस्तो भाउमा उठाउने गरेका छन् भने त्यहाँको सरकारी स्तरबाट पनि बेलाबेलामा विभिन्न गैर-ट्यारिफ अवरोधहरू खडा गर्ने गरिन्छ।
नेपालमा हाल दर्जनौँ चिया बगान र निकै अनुभवी चिया व्यवसायीहरू छन्। इलाममा आजभन्दा करिब १२३ वर्ष अगाडि सानो चिया बगानबाट सुरु भएको नेपाली चिया उद्योगले आज ठूलो रूप लिइसकेको छ।
पहाडी क्षेत्रमा उत्कृष्ट अर्थोडक्स चिया र समथर तराईमा सीटीसी चियाको उत्पादन हुनुका साथै नेपाल आज चियामा आत्मनिर्भर भइसकेको छ र ठूलो परिमाणमा निर्यात गर्ने अवस्थामा समेत पुगेको छ।
उत्पादित चियाको अधिकांश हिस्सा भारतमा निर्यात हुने गरेको भए तापनि नेपाली चिया युरोपेली बजारमा पनि पुग्न थालेको छ र बिस्तारै लोकप्रिय बन्दै गएको छ।
बेलाबेलामा हुने भारतीय अवरोधका कारण चिया व्यवसाय प्रभावित हुन थालेपछि नेपाली उद्यमीहरू नेपाली चियालाई भारतबाहेकका तेस्रो मुलुकसम्म पुर्याउने कार्यमा जोडतोडका साथ लागेका छन्।
हिजोआज खासगरी पूर्वी नेपालमा चियाका निकै आधुनिक र वातावरणमैत्री प्रशोधन उद्योगहरू सञ्चालनमा आउन थालेका छन्। केही वर्षपहिले भारतको दार्जिलिङका चिया उद्यमी र किसानले गरेको झन्डै एक वर्षे हडतालका दौरान युरोपेली चिया आयातकर्ताहरू नेपालको चियाको गुणस्तर, उत्पादन र निर्यात क्षमताको स्थलगत अध्ययन गर्न आएका थिए।
त्यतिबेला उनीहरू नेपाली चियाबाट निकै प्रभावित भएको पाइन्छ। त्यस्तै, विश्वमा सबैभन्दा बढी चिया उत्पादन र खपत गर्ने मुलुक चीनका व्यवसायीहरू पनि नेपाली चिया आयात गर्न इच्छुक रहेको समाचारहरू सार्वजनिक भएका थिए। यदि चीनमा वा चीनको बाटो हुँदै नेपाली चिया निर्यात गर्न सकियो भने यसले चीन हुँदै रुस र युरोपसम्मकै बजार समात्ने बलियो सम्भावना रहन्छ।
सन् १९६६ मा नेपालमा चिया क्षेत्रको विकासका लागि स्थापना भएको ‘नेपाल चिया विकास निगम’ ले लामो समयसम्म चियाको विकास र बजार प्रवर्द्धनमा उल्लेखनीय काम गर्यो।
पछि यस निगम र यस मातहतमा रहेका पुराना चिया बगान एवं उद्योगहरूलाई निजीकरण गरियो। त्यसपछि सरकारले ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्ड’ को स्थापना गरेर चिया किसानलाई सुलभ र सहज ऋण प्रदान गर्ने, चिया खेतीका लागि जमिन उपलब्ध गराउने, चिया तथा कफीको विकासका लागि नीतिहरू तर्जुमा गर्ने र देश-विदेशका सम्बद्ध पक्षसँग नेपाली उत्पादनको बिक्री प्रवर्द्धनका विषयमा छलफल गर्ने उद्देश्य राखेको थियो।
विश्वमा कफीको सुरुवात एघारौँ शताब्दीतिर इथियोपियाबाट भएको देखिन्छ। युरोपमा भने टर्की हुँदै सत्रौँ शताब्दीतिर कफी भित्रिएको हो। यो हिसाबले चियाभन्दा पहिले कफी नै युरोपमा लोकप्रिय पेयका रूपमा चलनचल्तीमा आएको देखिन्छ। आज कफी विश्वभर लोकप्रिय भएको छ भने चिया र कफी दुवै पेय पदार्थको माग विश्व बजारमा उच्च छ।
नेपालमा पनि कफीको खेती बिस्तारै बढ्दै गएको छ र यहाँ मुख्य गरी ‘अरेबिका’ ब्रान्डको कफी खेती र उत्पादन हुँदै आएको छ। नेपालका ४० भन्दा बढी मध्यपहाडी जिल्लाहरूमा कफी खेती गरिन्छ। नेपालले वर्षेनी करिब १,२०० मेट्रिक टन उच्च गुणस्तरको कफी उत्पादन गर्दछ। दक्षिण एसियामै कफी संस्कृतिको व्यापक विकास भएको मुलुकमध्ये नेपाल पनि एक हो।
नेपालमा कफीको उत्पादन राम्रो हुने गरेको भए तापनि अधिकांश नेपाली कफीको खपत देशभित्रै हुने भएकाले अन्तर्राष्ट्रिय बजारको मागअनुसार निर्यातका लागि आपूर्ति हुन सकेको छैन। अर्कोतर्फ, कफी पकाउने (बरिष्टा) को तालिम लिएका दक्ष नेपाली जनशक्तिको माग अरब तथा अन्य विकसित मुलुकहरूमा राम्रो रहेको छ।
हालै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको एक अध्ययनले नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको र त्यसमध्ये ९० प्रतिशत हिस्सा भारतमै जाने देखाएको छ।
हाल निकै कम परिमाणमा समुद्रपारका मुलुकहरूमा नेपाली चिया निर्यात भइरहेको अवस्थामा, नेपाली उद्यमीहरू अब चियाको बजार विविधीकरणमा लाग्नुपर्ने निष्कर्षमा पुगेका छन्।
नेपालका परम्परागत (अर्थोडक्स) चिया उत्पादकहरूको साझा संस्था ‘हिमालयन अर्थोडक्स चिया उत्पादक सङ्घ’ ले पनि नेपाली परम्परागत चियाको खेती, उत्पादन, बजार व्यवस्थापन, गुणस्तर र निर्यातको क्षेत्रमा निकै ठूलो योगदान पुर्याएको छ।
यो संघले चिया क्षेत्रको उचित विकासका लागि प्रकृति, मानव अधिकार (खासगरी चिया मजदुरहरूको), उत्पादन प्रक्रिया र गुणस्तरसम्बन्धी आचारसंहिता नै बनाएर आफ्ना सदस्यहरूलाई सोहीमुताबिक अनुबन्धित गरेको छ।
भारत आफैँ पनि विश्वमा निकै ठूलो परिमाणमा चिया खपत गर्ने मुलुक हो। झापामा उत्पादन हुने नेपाली सीटीसी चियाको आधा हिस्सा भारतमा निर्यात भएर उतै विभिन्न चर्चित ब्रान्डको नाममा बिक्ने गरेको छ भने बाँकी आधा भाग नेपाली बजारमै खपत हुने गर्दछ।
आजभन्दा केही दशक अघिसम्म नेपाली बजारमा खपत हुने सीटीसी चिया भारत र अन्य मुलुकबाट आयात हुने गरेकोमा, हिजोआज नेपाली उत्पादनले नै आन्तरिक बजारलाई धानेर आयात प्रतिस्थापनमा निकै ठूलो टेवा पुर्याएको छ। झापामा मात्रै वार्षिक दुई करोड किलोभन्दा बढी सीटीसी चिया उत्पादन हुने गरेको तथ्यांक छ।
परम्परागत चिया समूहमा प्रायः ग्रीन टी, ह्वाइट टी, उलङ टी र हातले बेरेर बनाइएका (स्पेशालिटी) चियाहरू पर्दछन्। परम्परागत चियाको स्वाद र बास्ना निकै विशिष्ट र मधुर हुने भएकाले यसका पारखीहरू धेरै छन् र विश्व बजारमा यसको माग पनि उच्च छ।
तर, नेपालको चिया उत्पादन भारतको दाँजोमा नगण्य भएकाले र भारतबाहेकका देशमा सिधा निर्यात गर्ने पहुँचमा कमी भएका कारण अधिकांश नेपाली उद्यमीहरू आफ्नो उत्पादन भारतीय चिया लिलाम घर (अक्सन हाउस) मा पठाएर सस्तोमा बेच्न बाध्य छन्।
नेपालको चियाको सबैभन्दा ठूलो आयातकर्ता भारत भए पनि उसले बेलाबेलामा विभिन्न प्राविधिक बखेडा झिकेर नेपाली चिया उद्यमीहरूलाई निराश तुल्याउने गरेको छ। उसको यस्तो नीतिले नेपालका चियामा आश्रित मजदुर र किसानको रोजीरोटी संकटमा पर्ने गरेको छ।
चियामा मात्र होइन, भारतीय सरकारी अधिकारी तथा व्यापारीहरूले अदुवा, अलैँची, विभिन्न प्रकारका फलफूल, तरकारी र जडिबुटीको आयातमा पनि यसै गरी आकस्मिक रोक लगाउने गर्दछन्।
निर्यात गर्न लागिएका यस्ता वस्तुहरू नाकामा सड्ने, गल्ने र बिग्रने अवस्थामा पुगेपछि नेपाली व्यवसायीहरूलाई सस्तो मूल्यमा बुझाउन बाध्य पारिन्छ। तर, भारतबाहेक तत्कालै अर्को बलियो वैकल्पिक उपाय नभएकाले नेपाली व्यवसायीहरू यो सबै झन्झट सहेर भए पनि भारतमै निर्यात गर्न बाध्य छन्।
जलविद्युतकै कुरा गर्दा पनि भारतले नेपालमा उत्पादन भएको विद्युतीय ऊर्जा खरिदमा अनेकौँ सर्त र अवरोधहरू सिर्जना गर्ने गरेको देखिन्छ। त्यतिले नपुगेर नेपालले भारतको बाटो हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न लाग्दा समेत प्रसारण लाइन र परिमाणमा विभिन्न नीतिगत अड्चनहरू खडा गरिदिन्छ।
एक प्रकारले भन्नुपर्दा, भारतले नेपालसँग ठूलो स्तरको व्यापारिक साझेदारी गर्नुभन्दा आफ्नै नियन्त्रणमा राख्ने रणनीति अवलम्बन गरेको देखिन्छ। भूपरिवेष्ठित मुलुक भएकाले नेपालले पारवहन र व्यापारमा छिमेकीबाट पाउनुपर्ने अन्तर्राष्ट्रिय सुविधा सहज रूपमा पाउन सकेको छैन।
चिया बगानहरूमा वर्षमा ३६ देखि ४० पटकसम्म चियाका नयाँ मुनाहरू टिप्ने काम हुन्छ। यो काम अति नै संवेदनशील हुन्छ। एकाध दिन मात्र चियाको मुना टिप्न ढिलो भयो भने गुणस्तर खस्किनुका साथै चियाको बोट नचाहिँदो प्रकारले झाँगिन थाल्दछ।
चिया बगानमा काम गर्ने मजदुरहरू दैनिक ज्यालादारीमा निर्भर हुन्छन्। चिया टिप्ने, प्रशोधन र निर्यातमा आउने कुनै पनि व्यवधानले चिया मजदुर र किसानको दैनिक जीविकोपार्जनमा सिधै असर पार्दछ।
नेपालका चिया बगानमा काम गर्ने मजदुर र किसानको सङ्ख्या करिब ६५,००० को हाराहारीमा छ। एक परिवारमा औसत ५ जना सदस्य मान्ने हो भने पनि चिया क्षेत्रमा आउने संकटले प्रत्यक्ष रूपमा कम्तीमा ३ लाख २५ हजार जनसंख्या प्रभावित हुन पुग्छ।
यसबाहेक चियासँग सम्बन्धित अन्य व्यवसाय र सेवामा लागेका व्यक्तिहरूको सङ्ख्या त त्योभन्दा पनि बढी छ। अर्कोतर्फ, नेपालको कुल निर्यातमा चियाको हिस्सा वर्षेनी बढ्दो छ, जहाँ हाल नेपालले वार्षिक करिब ४ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रशोधित चिया निर्यात गरिरहेको छ।
केही समयअघि मात्रै पनि भारतले बिनाकुनै अग्रिम सूचना नयाँ मापदण्डअनुसार गुणस्तर जाँच गर्ने भन्दै नेपाली चियाको आयातमा रोक लगायो। यसो हुँदा नेपालको सिमानामा मात्र नभई कोलकाता र सिलिगुडी पुगिसकेको ठूलो परिमाणको चिया हप्तौँसम्म ट्रक र गोदाममा थन्किन बाध्य भयो।
यसले गर्दा ढुवानी र भण्डारण खर्चमा वृद्धि हुनुका साथै चियाको गुणस्तर र तौलमा समेत कमी आयो। सीमामा अवरोध हुनेबित्तिकै बगानमा नयाँ मुना टिप्ने कार्य रोकियो र किसानले टिपिसकेको चिया पनि प्रशोधनकर्ता एवं निर्यातकर्ताहरूले लिन मानेनन्।
यस अप्रत्याशित संकटले नेपाली चिया उद्योगलाई करोडौँको घाटा पुर्यायो, जसले राष्ट्रिय उत्पादन, रोजगारी, उद्यमशीलता, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत नराम्रो धक्का दियो।
नेपालले चिया जस्तो आफ्नो अति महत्त्वपूर्ण नगदे बालीको निर्यातका लागि भारतको मात्र मुख ताक्ने प्रवृत्तिका कारण हाम्रा उत्पादनले उचित मूल्य र बजार पाउन सकेका छैनन्।
बाह्य अवरोधका साथै देशभित्रका बिचौलियाहरूको बिगबिगी, प्रशासनिक र नीतिगत ढिलासुस्तीले गर्दा पनि हाम्रो व्यापार थलिन पुगेको छ। यस्तो अवस्थामा नेपाली उद्यमीहरूले वैकल्पिक बजार र उपायहरू खोज्नु अपरिहार्य भइसकेको छ। यसो गर्नका लागि सबैभन्दा पहिले हाम्रो उत्पादनको गुणस्तर र अन्तर्राष्ट्रिय प्रमाणीकरणमा सुधार हुनुपर्दछ।
चियाकै कुरा गर्दा, विभिन्न प्रकारका चियाका आकर्षक र गुणस्तरीय ब्रान्डहरूको निर्माण गरेर आन्तरिक र बाह्य बजारमा पठाउन सक्नुपर्दछ। विश्वमा चियाका पारखी धेरै भएका तर चिया उत्पादन नहुने राष्ट्रहरू प्रशस्त छन्।
नेपाली व्यवसायी तथा सरकारले विभिन्न मुलुकहरूको विशिष्ट माग र चाहनालाई बुझेर सोहीअनुरूप ब्रान्डको विकास गर्नुपर्दछ। छिटो, छरितो, सुरक्षित र प्रतिस्पर्धी मूल्यमा नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा नियमित रूपमा पठाउन सक्ने क्षमता हामीले विकास गर्नुपर्छ, जसका लागि हामीले श्रीलंका र केन्या जस्ता मुलुकको मोडलबाट सिक्न सक्दछौँ। नेपाली चियाको बजार विविधीकरणमा विशेष ध्यान पुर्याउन सके हाम्रा उत्पादनहरू भारतीय एकाधिकार र आकस्मिक झन्झटबाट जोगिन सक्छन्।
आज नेपालीहरू विश्वका धेरै मुलुकमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् र तीमध्ये धेरैजना सफल उद्यमी समेत भइसकेका छन्। नेपालका उत्पादन विदेशमा लगेर बिक्री गर्नेदेखि नेपालका विभिन्न उद्यमहरूमा लगानी गर्ने कार्यमा गैरआवासीय नेपाली हरूको संलग्नता बढ्दो छ।
चिया तथा कफी खेतीमा पनि धेरै गैरआवासीय नेपालीहरूको लगानी भित्रिन थालेको छ। चिया क्षेत्रमा उनीहरूको लगानी बढेसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान र निर्यात बढाउन उनीहरूको सक्रियता रहनु स्वाभाविकै हो।
विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली डायस्पोरा व्यवसायीहरूले विदेशमा रहेका नेपालीसँगै भारतीय, पाकिस्तानी, बंगलादेशी मूलका उपभोक्ता र युरोप, अमेरिका, अस्ट्रेलिया आदिका चिया पारखीहरूलाई लक्षित गरेर बजार प्रवर्द्धन गर्न सके नेपाली चियाले छिट्टै विश्व बजारमा बलियो स्थान बनाउनेछ। आशा गरौँ, आगामी दिनमा नेपाली चिया र अन्य नगदे बालीले भारतको मात्र भर नपरी विश्वभर आफ्नो बलियो र स्वतन्त्र उपस्थिति जमाउन सफल हुनेछ।
(लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन् ।)












Facebook Comment