हर्मुज जलघाँटीमा तनाव चरमसीमामा: अमेरिकी प्रहारपछि इरानको भीषण प्रतिकार
तेहरान। संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप भयावह बनेको छ।
अमेरिकी आक्रमण तीव्र भएसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म युद्धको राप फैलिएको छ भने इरानले पनि आफ्ना प्रतिआक्रमणहरूलाई थप आक्रामक बनाएको दाबी गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानका विभिन्न सैन्य क्षेत्रमा नयाँ हवाई आक्रमण गरिएको पुष्टि गरेको छ। सेन्टकमका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक तथा नागरिक जलयातायातमाथि भइरहेका आक्रमण रोक्न र इरानी सैन्य क्षमतालाई ध्वस्त पार्न यो कदम चालिएको हो।
अमेरिकी आक्रमणपछि बहराइनले हवाई आक्रमणको चेतावनी दिँदै आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। यता कुवेतले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानी ड्रोनहरूलाई आकाशमै निष्क्रिय पारेको जनाएको छ।
जवाफी कारबाहीस्वरूप इरानको रिभोलुसनरी गार्ड्सले सिरियाको अल-तान्फस्थित शत्रुको विशेष अपरेसन कमान्ड सेन्टरमाथि ‘आश्चर्यजनक आक्रमण’ गरेको दाबी गरेको छ।
इरानी सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानशहरमा मारिएका आफ्ना सैनिकहरूको बदला लिन यो कारबाही गरिएको हो। यसका साथै इरानले कुवेतमा रहेका दुई अमेरिकी सैन्य अड्डालाई समेत निशाना बनाएको छ।
अमेरिकाले इरानका निर्माणाधीन आणविक ऊर्जा केन्द्र तथा पूर्वाधारहरूमा निरन्तर क्षति पुर्याइरहेकाले त्यसको कडा प्रतिकार जारी रहने तेहरानको अडान छ।
गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धको मुख्य केन्द्र विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने हर्मुज जलघाँटी बनेको छ। इरानले यस जलमार्गमा जहाज आवतजावतमा कडा अवरोध सिर्जना गर्दै आइतबार मात्रै दुईवटा जहाजलाई अघि बढ्नबाट रोकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सैनिकमाथि भएका आक्रमणको कडा जवाफ दिन इरानमाथि सैन्य कारबाही तीव्र पारिएको बताउनुभएको छ। सेन्टकमका अनुसार पछिल्लो भिडन्तमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।
योसँगै फेब्रुअरीयता ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या १७ पुगेको छ। उता इरानको स्वास्थ्य मन्त्रालयले हालैका भिडन्तमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको जनाएको छ।
युद्ध चर्किँदै जाँदा कूटनीतिक मध्यस्थताका प्रयासहरू पूर्ण रूपमा असफल देखिएका छन्। इरानका केन्द्रीय सैन्य कमान्डर अली अब्दुल्लाहीले थप अमेरिकी आक्रमण भए त्यसको ‘विनाशकारी जवाफ’ दिने चेतावनी दिनुभएको छ।
यसैबीच इरानले दक्षिणपश्चिममा रहेको डार्कहोभिन आणविक ऊर्जा केन्द्रमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले घटनाको अध्ययन भइरहेको जानकारी दिँदै आणविक संरचना आसपासका क्षेत्रमा सैन्य संयमता अपनाउन दुवै पक्षलाई पुनः अपिल गरेका छन्।






डिसी नेपाल





Facebook Comment