साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, २ लाख ३० हजारभन्दा बढीद्वारा दर्शन

डिसी नेपाल
४ साउन २०८३ १४:०५

काठमाडौं। साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार सोमबार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै मन्दिरका ढोका खुला गरिएका थिए। कोषका प्रतिनिधि सुशील कुमार गौतमका अनुसार भक्तजनहरूलाई विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गराई दर्शन गर्ने व्यवस्था मिलाइएको थियो।

“बिहानदेखि राखिएको रजिस्टर र व्यवस्थापन टोलीको विवरणअनुसार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको मूल मन्दिरमा दर्शन गरेको अनुमान छ,” गौतमले भने, “अहिलेसम्मको अन्तिम तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या केही समयमा स्पष्ट हुनेछ।”

मूल मन्दिरमा दर्शन गर्नेबाहेक पशुपति क्षेत्रको बाहिरी परिसर परिक्रमा गर्ने र घुमफिरका लागि आउने आगन्तुकहरूको संख्या पनि उल्लेख्य रहेको कोषले जनाएको छ। मन्दिर बाहिर परिक्रमा गर्ने तथा पशुपति क्षेत्र घुम्न आउने भक्तजनको संख्या थप करिब १ लाख पुगेको अनुमान गरिएको छ।

साउनको पहिलो सोमबार भएकाले एकाबिहानैदेखि पशुपति क्षेत्र परिसर बोलबमका भक्तजन, व्रतालु र दर्शनार्थीहरूले भरिभराऊ बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *