काठमाडौं, मकवानपुर र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको चन्द्रागिरी, मकवानपुरको भीमफेदी र सुनसरीको भोक्राहा नरसिंहबाट शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकिङका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाको टोलीले खोटाङ रावा बेसी गाउँपालिका–४ का ३६ वर्षीय डिल्ली निरौलालाई पक्राउ गरेको छ। काँकरभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई १७ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–२ बाट ५५३ ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २६ वर्षीय प्रिन्स सिंह र अर्का एक जनालाई पक्राउ गरेको हो।
उता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ईश्रायल कामतबाट करिब १०८ ग्राम १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने अवैध पदार्थसहित एक जनालाई प्रहरीले समातेको छ। प्रहरी चौकी नरसिंहटप्पुको टोलीले धनकुटा नगरपालिका–१ हिले घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ३५ वर्षीय मनबहादुर थापालाई पक्राउ गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment