नर्थ क्यारोलाइनाका चार ‘डाक्टर’ स्रष्टा: जसले केही महिनाकै अन्तरमा जन्माए चार साहित्यिक कृति

कृष्णराज खनाल
१० साउन २०८३ १०:०४

नर्थ क्यारोलाइना, अमेरिका। विद्यावारिधि (पीएचडी) हासिल गरेका र नेपाली साहित्यसँग घनिष्ठ सम्बन्ध रहेका चार जना नेपाली सर्जकहरूले पछिल्लो एक वर्षभित्रै नेपाली साहित्यिक आकाशमा आफ्ना नयाँ कृतिहरू लोकार्पण गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यलाई केन्द्र बनाएर बसोबास गर्दै आएका यी चार डाक्टर स्रष्टाहरूको कृति प्रकाशनको यो शृङ्खला कुनै प्रतिस्पर्धा नभई एउटा सुखद संयोग मात्र हो। नर्थ क्यारोलाइना अमेरिकाका अन्य राज्यहरूको तुलनामा साहित्यिक गतिविधिका लागि उर्वर मानिन्छ, जहाँ प्रत्येक महिना घरदैलो कार्यक्रम, कविता वाचन र स्रष्टा भेटघाट जस्ता गतिविधिहरू भइरहन्छन्।

समग्र नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने ती चारै जना सर्जक र उहाँहरूका पछिल्ला कृतिहरूको संक्षिप्त परिचय:

 डा. नीलम कार्की ‘निहारिका’ – ‘राजमाता’ (उपन्यास)

मदन पुरस्कार (२०७४) विजेता डा. नीलम कार्की ‘निहारिका’ले ‘सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव’ विषयमा पीएचडी गर्नुभएको छ। हाल नर्थ क्यारोलाइनाको मोरिसभिलमा बस्नुहुने पाल्पाकी निहारिकाको केही महिनाअघि ऐतिहासिक उपन्यास ‘राजमाता’ प्रकाशित भएको छ।

तत्कालीन बाइसे-चौबीसे राज्यकालका महारानीहरूको भूमिका र इतिहासका अप्रकट तथ्यलाई गहन अनुसन्धान गरी उहाँले यो उपन्यास तयार पार्नुभएको हो। यसअघि उहाँका ‘योगमाया’, ‘अर्की आइमाई’, ‘द्रौपदी अवशेष’, ‘बेली’, ‘चीरहण’‘४३ कथा’ जस्ता कृतिहरू बहुचर्चित भइसकेका छन्।

 डा. ऋषि बस्ताकोटी – ‘पानीको रंग’ (कविता संग्रह)

जलवायु परिवर्तन र वनको कार्बन व्यापारसम्बन्धी विषयमा पीएचडी गर्नुभएका डा. ऋषि बस्ताकोटी नर्थ क्यारोलाइनाको केरीमा बस्नुहुन्छ। गोरखाको आँपपीपलमा जन्मिनुभएका डा. बस्ताकोटीको झन्डै एक वर्षअघि ‘पानीको रंग’ नामक कविता संग्रह प्रकाशित भएको हो।

वि.सं. २०५० को राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गर्नुभएका बस्ताकोटीका दुई दर्जनभन्दा बढी गीत र गजलहरू प्रकाशित छन्। उहाँको पछिल्लो कृति ‘पानीको रंग’ ले प्रकृति, ग्रामीण जीवन, विकृति-विसङ्गति र सामाजिक न्यायको पक्षलाई सशक्त रूपमा उठाएको छ।

 डा. चन्द्र गिरी – ‘डंकी सपनाको कालबाटो’ (उपन्यास)

खोटाङको चिमचिममा जन्म भई हाल नर्थ क्यारोलाइनाको च्यापेल हिलमा बस्दै आउनुभएका डा. चन्द्र गिरी रिमोट सेन्सिङ र जीआईएसका विशेषज्ञ हुन्। अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एडजङ्क्ट प्रोफेसरका रूपमा कार्यरत डा. गिरीको पछिल्लो उपन्यास ‘डंकी सपनाको कालबाटो’ केही हप्ताअघि मात्रै सार्वजनिक भएको छ

। गैरकानुनी (तल्लो) बाटो हुँदै अमेरिका आउने आप्रवासीहरूको जोखिमपूर्ण संघर्षलाई प्रस्तुत गरिएको यो कृतिबाहेक उहाँको आत्मकथा ‘मैले नदेखेको सपना’ र यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ पनि निकै चर्चित छन्।

 डा. शरद पराशर मरहट्टा – ‘यता कि उता ?’ (कविता संग्रह)

गोरखाको आँपपीपलमा जन्मिनुभएका र ‘प्लान्ट प्याथोलोजी’ मा पीएचडी गर्नुभएका कृषिविज्ञ डा. शरद पराशर मरहट्टाको पहिलो कविता संग्रह ‘यता कि उता ?’ एक हप्ताअघि मात्र प्रकाशित भएको छ।

चालीसको दशकदेखि नै कविता लेखनमा सक्रिय मरहट्टा हाल ‘भर्चुअल पोएट्री’ का संयोजकसमेत हुन्। यस संग्रहका कविताहरूमा प्रवासमा रहेका सन्तान र स्वदेशमा रहेका बाबाआमाबीचको दोधार, भावना तथा जीवनका तिता-मीठा भोगाइहरूलाई मार्मिक रूपमा उतारिएको छ।

नेपालको भूगोलभन्दा धेरै टाढा अमेरिकामा रहेर पनि आफ्नो बाल्यकालको स्मृति, नेपाली जीवन, संस्कृति र परम्परालाई आफ्ना सिर्जनामार्फत विश्वसामु चिनाउने यी चारै जना स्रष्टाहरू नेपाली साहित्यका सद्भावना दूत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *