ब्रड पिक हिमपहिरो: बेपत्ता निर्मल पुर्जा ‘निम्स दाइ’को ट्र्याकिङ उपकरणमा अझै देखिँदै मुभमेन्ट
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा गएको भीषण हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को ट्र्याकिङ उपकरणले अझै पनि गतिविधि (मुभमेन्ट) देखाइरहेको जानकारी सार्वजनिक भएको छ।
हिमपहिरोपछि पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन बनेको थियो। उद्धार प्रयास जारी रहे पनि उनीहरूको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन।
निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यअनुसार पुर्जाको लोकेसन स्थिर नभई निरन्तर परिवर्तन भइरहेको बताएका छन्।
उनका अनुसार हिमपहिरो गएयता ट्र्याकरले देखाउने स्थान बारम्बार बदलिइरहेको छ, जसले उपकरण अझै सक्रिय रहेको संकेत गरेको छ। तर, यसले निर्मल पुर्जा सुरक्षित छन् भन्ने पुष्टि भने नगर्ने भएकाले उद्धार टोलीले थप खोजीलाई तीव्र बनाएको छ।
प्राप्त जानकारीअनुसार बिहीबार बिहान करिब ९:२० बजे ब्रड पिक क्षेत्रमा ठूलो हिमपहिरो गएको थियो। त्यसयता सम्पर्कविहीन बनेका आरोहीहरूको खोजीका लागि स्थानीय उद्धार टोली, पर्वतारोहण अधिकारी तथा सम्बन्धित निकायहरू परिचालित छन्।
विश्व पर्वतारोहण क्षेत्रमा ‘निम्स दाइ’का रूपमा परिचित निर्मल पुर्जा आफ्नो साहसिक आरोहण र विश्व कीर्तिमानी अभियानका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चित छन्। उनी बेपत्ता भएको खबरपछि नेपालसहित विश्वभरका पर्वतारोही समुदायले उनको सकुशल उद्धारको कामना गरिरहेका छन्।
हालसम्म पाकिस्तानका सम्बन्धित अधिकारीहरूले उद्धार अभियान जारी रहेको जनाएका छन् भने सम्पर्कविहीन आरोहीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment