मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत
जनकपुरधाम। मधेस प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो।
मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए।
सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
धनुषामा ८५ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
त्यस्तै महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
मधेश प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment