साउनको तेस्रो सोमबारको तयारी: पशुपति क्षेत्रमा गरियो चौथो हप्ताको सफाइ
काठमाडौं। आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको तेस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत चार हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो। सफाइको चौथो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिए।
आजको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उनले बताए।
बज्रघर दक्षिणढोका र रुद्रगारेश्वर, वासुकि मन्दिर क्षेत्रमा सफाइ गरिएको छ। मन्दिरको सुरक्षा संयन्त्र कडाइ गर्न लागिएको छ। साउन १८ गते सोमबार बोल बम यात्रा पनि भएकाले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। बोल बम यात्रीलाई वासुकितिरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको पनि परिषद् सदस्य भण्डारीले बताए।
सफाइमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घसंस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उनले सुनाए। प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो।
यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ। पहिलो र दोस्रो सोमबार साउन ४ र ११ गते सम्पन्न भइसकेको छ। यसैगरी, साउनको १८ र २५ गते पनि सोमबार परेको छ। बाँकी दुईवटै सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजाआराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो।
चान्द्रमासअनुसार भने साउन १८ गतेको सोमबार पहिलो हो। कतिपय भक्तजनले भने चान्द्रमासअनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment