पोखरामा मनाइयो कोदो दिवस
गण्डकी। दोस्रो राष्ट्रिय कोदो दिवस पोखरामा पनि मनाइएको छ। दिवसका अवसरमा पोखरा महानगरपालिका–२२ कोदीमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार गर्नुपर्नेमा जोड दिए।
कोदो खेतीको प्रवर्द्धन र खेती विस्तारका लागि महानगरले किसानलाई प्रोत्साहन सहयोग गर्दै आएको उनले बताए। “कोदोको उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत किसानको आय बढाउन महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, प्रमुख आचार्यले भने, “स्थानीय उत्पादनको उपयोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नु जरूरी छ।”
सो अवसरमा १७ रोपनी क्षेत्रफलमा कोदोखेती गर्नुभएका पोखरा–२२ का किसान खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२० का दुर्गाबहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२८ की शोभा भण्डारी र नौ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२३ का होमबहादुर गुरुङलाई नगदसहित सम्मान गरिएको थियो।
दिवसका अवसरमा कोदो रोप्ने प्रतियोगितासमेत आयोजना गरिएको महानगरको आर्थिक विकास तथा कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए। उहाँका अनुसार नगर क्षेत्रको करिब तीन हजार ८०० हेक्टर क्षेत्रफलमा कोदोखेती लगाउने गरिएको छ भने चार हजार ८०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ। कोदोखेतीप्रति किसानलाई आकर्षित गर्न कोदोको न्यूनतम समर्थन मूल्यसमेत प्रदान गर्न थालिएको प्रमुख कडरियाले बताए।
कार्यक्रममा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसम्बन्धी प्रदर्शनी राखिएको थियो। पुम्दीभुम्दी कृषि सहकारी संस्थाको आयोजना, महानगरको आर्थिक विकास तथा कृषि महाशाखाको सहयोग, महानगरको वडा नं २२, वडास्तरीय कृषि सञ्जाल र लिबर्ड नेपालको समन्वयमा दिवस मनाइएको हो। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment