कविता : त्यसैले मान्छेले एआई बनाए

राकेश कार्की
१७ साउन २०८३ १२:२२

मान्छेलाई धेरै स्वतन्त्रता दिएपछि

मान्छेले मान्छेलाई नै टेर्न छाडे,

अनि अनुसन्धानमा पैसा खनाए

त्यसैले मान्छेले एआई बनाए।

कल्पना गरौँ, कस्तो हुन्थ्यो होला?

सांसदहरू पनि एआई नै भए!

न त निर्वाचन, न त कुनै दल,

न भाषण, न आयोग, न अनावृत्त छलफल।

निर्दलीय दल एआईकै हुने,

नचाहिने सभामुख र अनेक पद,

न त पक्ष-विपक्षले कुर्सी ढाल्ने,

एआईले जनहितकै कानुन बनाउने।

सानो ठाउँ, एउटै कोठा पर्याप्त

किन चाहियो विशाल संसद् भवन?

न त चाहिने जम्बो सांसदको हुल,

भ्रष्टाचार र सरकारी ठगी सबै निर्मूल!

संसारभरका नेपालीलाई बराबरी माया,

स्वाभिमान, सुख र समृद्धिको संविधान,

एउटै मन, एउटै भावना, पुर्खाको एउटै रगत,

एआईले कोर्नेछ विशाल नेपाली जगत।

मान्छेमा इमान, धर्म र संस्कार हराएपछि

मान-इज्जत र सहयोग नै गर्न छाडे,

स्वार्थीलाई तह लगाउन बुद्धि खियाए

त्यसैले मान्छेले एआई बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *