आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास र साहसी निर्णय आवश्यक: अर्थमन्त्री डा. वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि नियमनकारी निकाय, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच उच्चस्तरको नीतिगत आत्मविश्वास आवश्यक रहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको विशेष अन्तरसंस्थागत समन्वय बैठकलाई सम्बोधन गर्दै उनले अब नियमनको उद्देश्य नियन्त्रण मात्र नभई उत्पादनशील गतिविधिलाई प्रोत्साहन गर्ने हुनुपर्नेमा जोड दिए।
निजी क्षेत्र तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री डा. वाग्लेले भने, “निजी क्षेत्र अहिले केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको छ। सरकार र राष्ट्र बैंकले समस्या समाधान गर्ने नियामकका रूपमा आफ्नो भूमिका पुनर्परिभाषित गर्नुपर्छ।”
बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अर्थमन्त्रीले मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।
उनले विगतको समीक्षा गर्दै भने, “बैंकमा तरलता बढ्दै जाने तर उद्योगमा कर्जा नपुग्ने, अनि पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर हुने अवस्था अब रहनु हुँदैन। ‘यो सम्भव छैन’ भन्ने सोच छाडेर ‘यसलाई कसरी सम्भव बनाउने’ भन्ने ढङ्गले अघि बढ्नुपर्छ।”
बजेटले आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट रोडम्याप तय गरिसकेको उल्लेख गर्दै डा. वाग्लेले राष्ट्र बैंकलाई केवल नियामकका रूपमा मात्र नभई आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा प्रस्तुत हुन आग्रह गरे।
छलफल औपचारिक टिप्पणीमा मात्र सीमित नहुने स्पष्ट पार्दै उनले बैठकमा उठेका विषयहरूलाई कार्ययोजनामा ढालिने बताए। आवश्यक परे सरकार र राष्ट्र बैंकको संयुक्त कार्यदल गठन गरी नीतिगत समन्वयलाई संस्थागत गरिने र निर्णय प्रक्रियालाई अझ छरितो बनाइने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
आगामी दिनमा डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र वैकल्पिक वित्तीय उपकरणलाई सहज बनाउँदै लैजान राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई उनले विशेष निर्देशन दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment