३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजत अनिवार्य: २१ दिनभित्र आवेदन दिन आग्रह
काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थाका लागि अनिवार्य रूपमा इजाजतपत्र लिन स्मरण गराएको छ। विभागले सूचना जारी गर्दै योग्य संस्थाहरूलाई २१ दिनभित्र अनलाइनमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो।
राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार महानगर र उपमहानगर क्षेत्रमा एकपटकमा रु ३ करोडभन्दा बढी मूल्यको घरजग्गा खरिद-बिक्री वा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ। इच्छुक कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
विभागले कारोबारको आकारअनुसार इजाजतपत्र दस्तुरसमेत तोकेको छ। जसअनुसार एकपटकमा रु ५ करोडसम्मको कारोबार गर्ने फर्म वा संस्थाले रु ५ लाख र रु ५ करोडभन्दा बढीको कारोबार गर्नेले रु १० लाख दस्तुर बुझाउनुपर्नेछ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन दिएर पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाहरूले समेत यसपटक पुनः नयाँ प्रक्रियामार्फत अनलाइन आवेदन दिनुपर्ने स्पष्ट पारिएको छ।
अनलाइन आवेदन दर्ता गरेपछि प्रणालीमा अपलोड गरिएका कागजातको एक-एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ। साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरू आपराधिक क्रियाकलापमा संलग्न नरहेको प्रमाणित हुने गरी नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको प्रहरी चारित्रिक प्रमाणपत्र/अभिलेख पत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment