हार्मोजबारे इरान र ओमानबीच सकारात्मक वार्ता: पूर्ण रूपमा खुला गर्न इरानका सर्त

डिसी नेपाल
२४ साउन २०८३ ७:१४

तेहरान। ओमानले स्ट्रेट अफ हार्मोज (हार्मोज जलडमरूमध्य) बाट जलपोत आवगमन सुरक्षित गर्ने सम्झौताबारे इरानसँग सकारात्मक वार्ता भइरहेको जनाएको छ। उता, तेहरानले भने कुनै पनि सम्झौता हुँदैमा यो महत्त्वपूर्ण जलमार्ग तत्काल पूर्ण रूपमा नखुलिने चेतावनी दिएको छ।

शनिबार दुवै पक्षले छलफल सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरे पनि सम्झौता अन्तिम रूपमा कहिले टुंगाे लाग्छ भन्ने समयसीमा स्पष्ट भएको छैन। ओमानको परराष्ट्र मन्त्रालयले जलपोतहरूमाथि हुने आक्रमणले यस प्रक्रियालाई बाधा पुर्‍याउन सक्ने भन्दै चेतावनी दिएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ता अन्तिम चरणमा पुगेको तर जलडमरूमध्य खुला गर्ने विषय “अन्य सर्तहरूमा निर्भर रहने” बताएका छन्।

गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि विश्वको करिब पाँचौँ भाग तेल र प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्त्वपूर्ण जलमार्गलाई तेहरानले प्रभावकारी रूपमा नाकाबन्दी गर्दै आएको छ।

पछिल्ला दिनहरूमा भएका वार्ताहरू इरान र ओमानबिच सो जलडमरूमध्य भई नयाँ जलमार्ग कायम गर्ने सम्भावनामा केन्द्रित रहेका छन्। जसको जिम्मेवारी दुवै देशसँग रहने र यसले जहाज आवगमन पुनः सुरु गर्न प्रगति ल्याउने अपेक्षा गरिएको छ।

तर, विदेशमन्त्री अराघचीले यो व्यस्त समुद्री मार्ग पूर्ण रूपमा खुला हुनु अरू सर्तहरू पालना हुनुमा निर्भर रहने बताएका छन्।

इरान र अमेरिकाबिच युद्ध रोक्ने र युद्ध अन्त्यका लागि वार्ता अघि बढाउने गरी जुन महिनामा भएको सम्झौता उल्लंघनका लागि अमेरिकाले इरानलाई क्षतिपूर्ति दिनुपर्ने सर्तसमेत समावेश रहेको अराघचीको भनाइ छ। उक्त सम्झौता-जसलाई सहमति पत्र भनिएको थियो-र कूटनीतिक वार्ताहरू हस्ताक्षर भएको केही दिनमै एकअर्कामाथिका आक्रमण दोहोरिएपछि असफल भएका थिए।

यसैबिच, इरानका सुरक्षा प्रमुख मोहम्मद बाकर जोल्कादरले अर्ध-सरकारी समाचार एजेन्सी तास्निमलाई प्रतिक्रिया दिँदै अमेरिकाले आफ्नो व्यवहार “सुधार” नगरेसम्म हार्मोज जलडमरूमध्य नखुलिने बताएका छन्।

अमेरिकाले इरानका ६ वटा मागहरू पूरा गर्नुपर्ने जोल्कादरको भनाइ छ। जसमा इरानविरुद्धका धम्कीहरू रोक्नुपर्ने, इरानी बन्दरगाहहरूमाथिको जलसेनाको नाकाबन्दी हटाउनुपर्ने र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने सर्तहरू रहेका छन्।

यसैगरी, लाल सागरमा रहेको साउदी अरेबियाको बन्दरगाहमा गत जुलाई २० देखि इरान समर्थित येमेनका हुथी विद्रोहीहरूले अर्को नाकाबन्दी लगाउँदै आएका छन्।

यसअघि हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता “शीघ्र हुन सक्ने” बताएका थिए। तर उपराष्ट्रपति जेडी भान्सले भने शनिबार फक्स न्युजसँग कुरा गर्दै प्रगति भइरहेको भए पनि अझै धेरै काम बाँकी रहेको भन्दै सशंकित देखिएका छन्।

भान्सले भनेका छन्, “हामी अहिले खेलको बिच भागमा छौँ, यो विषय अझै सकिएको छैन।”

भान्सले थपेका छन्, “अमेरिकी जनताको हितका लागि उत्तम परिणाम हासिल गर्न कूटनीतिक, आर्थिक र सैन्य उपकरणहरूको प्रयोग भइरहेको छ।”

साथै, फेब्रुअरी २८ मा अमेरिकी सैन्य कारबाही सुरु हुनुअघि जत्तिकै परिमाणमा खाडी क्षेत्रबाट तेल बाहिरिने दाबी भान्सले गरे पनि त्यसको विस्तृत विवरण भने दिएका छैनन्।

भान्सको भनाइ छ, “अहिले मुख्य रूपमा जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न सकिने गरी यातायात योजना कसरी बनाउने भन्नेमा काम भइरहेको छ।”

तेहरान र वासिङ्टनबिचको असहमतिको मुख्य विषय इरानले सो जलडमरूमध्य पार गर्ने जहाजहरूमाथि शुल्क (टोल) लगाउने भनिएको धम्की पनि हो।

रॉयटर्सले-एक इरानी अधिकारीलाई उद्धृत गर्दै-तेहरानले सो जलमार्ग भई यात्रा गर्ने जहाजहरूको कार्गो मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क उठाउन खोजिरहेको रिपोर्ट पहिले नै प्रकाशित गरेको थियो।

भान्सले ती रिपोर्टहरूलाई कम महत्त्व दिँदै भनेका छन्, “हार्मोज जलडमरूमध्यमा शुल्क लगाउने कुनै योजना नरहेको इरानीहरूले जानकारी गराएका छन्।”

जलडमरूमध्यमा जहाजहरूमाथि हुने आक्रमणप्रति ओमानले चेतावनी दिइरहेकै बेला संयुक्त अरब इमिरेट्स (युएई) ले शनिबार इरानले उसको राज्य नियन्त्रित तेल कम्पनीसँग सम्बद्ध एक ट्यांकरलाई निशाना बनाएको जनाएको छ।

युएईको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै “शत्रुतापूर्ण इरानी आक्रमण” बाट एडनोकको ट्यांकरमा “मिसाइल प्रहार” भएको र घटनामा कुनै मानवीय क्षति नभएको बताएको छ।

शनिबार नै बेलायती समुद्री व्यापार सञ्चालन एजेन्सीले पनि ओमानको तट नजिकै एउटा जहाजमा “अज्ञात प्रक्षेप्यास्त्र” प्रहार भएको रिपोर्ट गरेको थियो। जसका कारण लागेको आगो निभाइएको र कुनै मानवीय क्षति नभएको जनाइएको छ। युकेएमटिओले उल्लेख गरेको जहाज र युएईले भनेको जहाज एउटै हो वा फरक भन्ने स्पष्ट भइसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *