सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
१५ भदौ २०८३ १५:२२

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशलाई समृद्ध र विकसित बनाउने लक्ष्यसहित प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार धनगढीमा आयोजना गरेको जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँगको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ सम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले सुदूरपश्चिममा उपलब्ध प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै आर्थिक तथा सामाजिक विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिए । प्रदेशको समग्र विकासका लागि सरकारसँगै स्थानीय तह, जिल्ला समन्वय समिति, निजी क्षेत्र तथा नागरिक समाजको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले विकास र समृद्धिको अभियानलाई प्रभावकारी बनाउन सबै पक्ष सक्रियतापूर्वक अघि बढ्नुपर्ने बताए । प्रदेशको विकासका लागि स्थानीय तहसँग सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने आवश्यकता रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा मुख्यमन्त्री भट्टले स्थानीय तह तथा जिल्ला समन्वय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली महत्वपूर्ण हुने बताए ।

उनका अनुसार स्थानीय तहबाट प्रवाह हुने सेवा तथा विकास निर्माणका कामको प्रभावकारिता मापन गर्न यस्ता मूल्याङ्कन प्रणालीले सहयोग पुर्‍याउनेछ । यसले स्थानीय तहको कार्यसम्पादनमा देखिएका कमजोरी पहिचान गरी सुधारका लागि आवश्यक कदम चाल्नसमेत सहयोग पुग्ने उनले बताए ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकार, स्थानीय तह र जिल्ला समन्वय समितिबीच प्रभावकारी समन्वय कायम भएमा सुदूरपश्चिमको विकासले थप गति लिने विश्वास व्यक्त गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *