कविता : समाधि
विश्वासका पहाडहरू उक्लनुपर्ने
अथकित यात्रा तय गर्दै,
समुद्र शान्त छ चुपचाप
समुद्रमा तरङ्ग पैदा गर्नुपर्ने!
म विद्रोहको फूल रोप्छु
तिमीले आगो पिउनुपर्ने,
ऊ दिग्भ्रमित छ
यात्रामा बाटो बिराएपछि।
पहलमानको जिन्दगी विदीर्ण छ
उसको आस्था ढालिएपछि,
शनिमाया उदास छे
उसको सपना खोसिएपछि।
तिमी सपनाको फूलबारी गोड्छौ
म च्यातिएको विपना तुन्छु,
जिन्दगीको मीठो गीत बनाउनै सकिएन
हार-जितको लेखाजोखा नमिलेपछि।
अहोरात्र बग्ने नदीहरू
सुसाउँदैनन् हिजोआज,
डुङ्गा रित्तै छ
एक्लै छ माझी,
छैनन् यात्रु ओहोरो-दोहोरो गर्ने
माझीको दैनिकी विस्मयपूर्ण छ,
बटुवाको बाटो नहेरी हुन्न
घाट कुरेर बसेपछि।
बालबालिकाको ओठ कलेटीएको छ
आमा-बाविहीन छन् तिनीहरू,
धाइआमा सुस्केरा काढ्छिन्
अनाथालयमा सन्नाटा छाउँछ।
बालापन रोएरै बित्यो
अनाथालय पनि जेलजस्तो लाग्छ,
बालअधिकारकर्मी मौन किन?
बालबालिकाको भविष्य असुरक्षित हुँदा पनि!
म अनवरत सङ्घर्षमा छु
खुट्टा तानिँदा पनि,
मैले बचाउनुछ अस्मिता
ब्वाँसाहरूको साम्राज्य छल्दै।
मैले गाउनैछ मेरो आफ्नै गीत
चौतारीमा जिन्दगीको भारी बिसाउँदै,
कयौँ सपना विस्मृत हुन्छन्
अधकल्चो निद्रा परेका बेला।
म निरन्तर विश्वासको पहाड उक्लिरहेकै छु
अवरोधका तगारा भाँच्दै,
मलाई आशीर्वाद दिन्छिन् मेरी आमा
मेरो सुख-दुःखको सहयात्री बन्दै।
आफू मरेर मलाई बचाउँछिन्
र अमरत्व प्राप्त गर्छिन् आमा,
म श्रद्धाले शिर झुकाउँछु
समाधिमा पुष्पगुच्छा अर्पण गर्दै!
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position



Facebook Comment