स्वास्थ्य संस्थाको नवीकरण अवधि पाँच वर्ष बनाउन निजी अस्पताल सञ्चालकको माग

डिसी नेपाल
२२ भदौ २०८३ ८:५१

रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले स्वास्थ्य संस्था नवीकरणसम्बन्धी विद्यमान व्यवस्थालाई व्यावहारिक बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उदाहरण दिँदै लुम्बिनी प्रदेशमा पनि अस्पताल नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न आग्रह गरेका हुन्।

बुटवलमा आइतबार लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकहरूले अस्पताल सञ्चालन तथा नवीकरणसम्बन्धी विद्यमान व्यवस्थाका कारण निजी स्वास्थ्य संस्थाले अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए।

निजी अस्पताल सञ्चालकहरूका अनुसार स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यवहारिक हुने देखिन्छ। अस्पताल नवीकरणका लागि पटक–पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा समेत असहजता सिर्जना भएको उनीहरूको भनाइ थियो।

भेटमा तिनाउ अस्पताल बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउने विषयसँगै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए।

उनले निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। निजी क्षेत्रसँग सहकार्य गरेर स्वास्थ्य सेवामा देखिने गरी सुधारका काम अघि बढाउन उनले मन्त्री पुनसँग आग्रह गरे।

निजी अस्पताल सञ्चालकहरूले नवनियुक्त स्वास्थ्यमन्त्री पुनलाई कार्यकालको शुभकामना दिँदै निजी स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि नियमित संवाद र सहकार्यको व्यवस्था गर्नसमेत आग्रह गरेका थिए।

त्यस क्रममा उनीहरूले निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने र निजी स्वास्थ्य संस्थाका समस्या समाधानका लागि नियमित संवादको संयन्त्र बनाउनुपर्ने माग राखेका थिए।

निजी अस्पताल सञ्चालकहरूले राखेका माग तथा सुझावबारे मन्त्री पुनले आवश्यक छलफल र सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रको सहभागिता र सहकार्यबाट प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *