लियोनेल मेस्सीद्वारा स्पेनिस क्लब एलडेन्सेको बहुमत शेयर खरिद गर्न ‘प्रारम्भिक सम्झौता’

डिसी नेपाल
२५ भदौ २०८३ १५:३२

काठमाडौं । स्पेनिस सेकेन्ड डिभिजन (ला लिगा २) को क्लब एलडेन्सेले अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले क्लबको बहुमत शेयरधनी बन्नका लागि ‘प्रारम्भिक सम्झौता’ गरेको जनाएको छ।

यसअघि गत अप्रिलमा क्याटालन क्लब कर्नेला खरिद गरेका ३९ वर्षीय मेस्सीले लगानी गर्न लागेको एलडेन्से दोस्रो स्पेनिस क्लब हुनेछ।

बार्सिलोनाका पूर्वफरवार्ड मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। सन् २०२६ को विश्वकप फाइनलमा अर्जेन्टिना स्पेनसँग १-० ले पराजित भएपछि उनले भर्खरै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए।

एलडेन्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्रुपो टिएच सोलुसियोनेसको स्वामित्वमा रहेको शेयर खरिदका लागि लियोनेल मेस्सीसँग प्रारम्भिक सम्झौता भएको छ, जसले उनलाई क्लबको बहुमत शेयरधनी बनाउनेछ। यो कारोबार हाल बाँकी कानुनी र सम्झौतागत प्रक्रियाहरू पूरा गर्ने तथा स्पेनिस राष्ट्रिय खेलकुद परिषद् (सिएसडी) बाट आवश्यक स्वीकृति प्राप्त गर्ने चरणमा रहेको छ।’

अलिकान्तेमा आधारित यस क्लबको जारी सिजन चार खेलबाट दुई अङ्क मात्र छ। ला लिगा २ को २० औँ स्थानमा रहेको यस क्लबले यसै साताका सुरुमा मुख्य प्रशिक्षक क्लाउडियो बार्रागानलाई पदमुक्त गरेको थियो।

स्पेनिस फुटबलको पाँचौँ डिभिजनमा रहेको क्लब कर्नेलाले गत अप्रिलमा मेस्सीको स्वामित्वले ‘बार्सिलोनासँगको उनको निकट सम्बन्धलाई थप सुदृढ बनाउने र क्याटालोनियामा खेलकुद तथा स्थानीय प्रतिभाको विकासप्रतिको उनको प्रतिबद्धतालाई दर्शाउने’ बताएको थियो।

यस विषयमा प्रतिक्रियाका लागि बिबिसी स्पोर्ट्सले मेस्सीलाई सम्पर्क गरेको छ। मेस्सी १३ वर्षको उमेरमा अर्जेन्टिना छाडेर स्पेन गएका थिए। उनले सन् २००४ को अक्टोबरमा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए।

सन् २०२१ मा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) जानुअघि उनले बार्सिलोनाका लागि ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका थिए। त्यसपछि सन् २०२३ मा उनी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएका थिए।

साउदी प्रो लिग क्लब अल-नासरबाट खेल्दै आएका मेस्सीका पूर्व रियाल मड्रिड प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले गत फेब्रुअरीमा स्पेनिस क्लब अल्मेरियाको २५ प्रतिशत शेयर खरिद गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *