रास्वपा सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप २७ लाख १५ हजार जम्मा गर्ने

डिसी नेपाल
२९ भदौ २०८३ १७:३४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आफ्ना सांसदहरूमार्फत थप रकम योगदान गर्ने भएको छ।

संसदीय दलका पदाधिकारीहरूबीच भएको छलफलअनुसार दलका प्रत्येक सांसदहरूबाट कम्तीमा १५ हजार रूपैयाँका दरले थप रकम सहयोग गर्ने प्रस्ताव अघि बढाइएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

सांसदहरूबाट सङ्कलन हुने न्यूनतम १५ हजार रूपैयाँ र थप स्वघोषित व्यक्तिगत रकमसमेत गरी कुल २७ लाख १५ हजार रूपैयाँभन्दा बढी रकम राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ।

यसअघि नै रास्वपाको तर्फबाट राहत कोषमा ५० लाख रूपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ। उक्त ५० लाखको योगदानमा संसदीय दलका सदस्यहरूले पार्टीमा बुझाउने मासिक लेवीसमेत समावेश गरिएको थियो। सो रकमका अतिरिक्त अहिले सांसदहरूबाट व्यक्तिगत रूपमा थप रकम सङ्कलन गरी कोषमा पठाइन लागिएको मुख्य सचेतक बुर्लाकोटीले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *