बाढीपहिरोले सिंगा तातोपानी कुण्डमा क्षति, मुख्य याममै स्नानस्थल बन्द
डिसी नेपाल
१३ असोज २०८३ ९:४६
म्याग्दी। अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढी र पहिरोले बेनी नगरपालिका–४ मा रहेको प्रसिद्ध प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुगेको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कुण्डका विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि हाल स्नानस्थल बन्द गरिएको छ।
कुण्डमा रहेका तीनवटा पोखरीमध्ये बिरामीले उपचारका लागि स्नान गर्ने ठूलो तथा माथिल्लो पोखरीमा बाढी पसेर ठूलो मात्रामा हिलो र लेदो थुप्रिएको छ। पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत बाढीले भत्काएको छ। कपडा फेर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएका भवन तथा खुला स्नानस्थलमाथिबाट खसेको पहिरोले संरचना भत्किनुका साथै पुरिएका छन्।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार बाढीपहिरोले संरचनामा क्षति पुर्याएपछि तत्काल स्नान गर्न सकिने अवस्था छैन। कुण्डमा थुप्रिएको हिलो र लेदो हटाएर सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।
समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि तातोपानीवासीले श्रमदानमार्फत पोखरीमा थुप्रिएको लेदो र हिलो हटाउने निर्णय गरेको सदस्य मीना जुग्जालीले बताइन्। पर्यटकीय तथा प्राकृतिक उपचारस्थलका रूपमा रहेको कुण्डको संरक्षण र पुनःनिर्माणका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको उनले बताइन्।
असोज र कात्तिक सिंगा तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम मानिन्छ। मुख्य याममै कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत सुनसान बनेको छ। कुण्डमा आउने पर्यटक तथा बिरामीको चहलपहल घटेपछि होटल, रेष्टुरेन्ट र होमस्टे व्यवसायी निराश भएका छन्।
सिंगा तातोपानी कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचारका लागि आउने गरेका छन्। म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा वीरेनुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने गर्छ। सोही पानीलाई पोखरीमा सङ्कलन गरी स्नानका लागि प्रयोग गरिँदै आएको छ।
कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वीरेनुनको गन्ध आउने तातोपानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकसँग सम्बन्धित स्वास्थ्य समस्या निको हुने जनविश्वास छ। असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्ने मुख्य समय भए पनि अहिले बाढीपहिरोका कारण कुण्ड बन्द हुँदा स्थानीय व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ।
Facebook Comment