दुबईमा नेपालीका अभिभावक विवेक: रोजगारीसँगै उद्धार र राहतमा निरन्तर सक्रिय
युएई। करिब ७-८ वर्षअघि १९ वर्षको कलिलो उमेरमा परिवारको आर्थिक दायित्व काँधमा बोकेर वैदेशिक रोजगारीका लागि दुबई (संयुक्त अरब इमिरेट्स) पुगेका थिए चितवनका विवेक तिमल्सिना। सुरुवाती दिनमा आफ्नै भविष्य उज्ज्वल बनाउने सपना लिएर खाडी छिरेका उनी आज भने सयौँ नेपालीका लागि भरोसाका केन्द्र बनेका छन्।
हाल विवेकले थुप्रै नेपालीहरूलाई रोजगारीको अवसर दिलाउने मात्र नभई, विभिन्न समस्या र अप्ठ्यारोमा परेका नागरिकहरूको उद्धार तथा राहत कार्यमा समेत अग्रसर भई सेवा गर्दै आएका छन्।
वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका, समस्यामा जेलिएका र अशक्त बनेका नेपालीहरूका लागि उनी एक अभिभावकका रूपमा उभिएका छन्।
विवेकको समाजसेवाको दायरा युएईमा मात्र सीमित छैन। जन्मभूमि नेपालमा विपद् वा आपत्विपत् पर्दा पनि उनले व्यक्तिगत तर्फबाट उल्लेखनीय सहयोग पुर्याउँदै आएका छन्।
“सेवा नै परम धर्म हो” भन्ने मान्यतालाई आफ्नो जीवनको मूलमन्त्र बनाएका विवेक दिन-रात नभनी समस्यामा परेकाहरूको सेवामा खटिने गर्छन्। उनी भन्छन्, “आफ्नो देशका दाजुभाइ तथा दिदीबहिनी मात्र होइन, मानवीय नाताले अन्य मुलुकका नागरिकहरूलाई पनि दुःख परेको समयमा सहयोग गर्न पाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ।”
यसरी आफ्नै पसिना र मेहनतको बीचमा पनि परोपकारी भावना बोकेर निरन्तर खटिरहेका विवेक तिमल्सिना युएईमा रहेका नेपाली समुदायका लागि एक प्रेरणादायी र अनुकरणीय व्यक्तित्व बनेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment