परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

डिसी नेपाल
१९ असोज २०८३ १२:०१

काठमाडौं।  परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन्।

फिजी र टुभालुमा असोज १९ र २० गते आयोजना हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल सोमबार फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले असोज २० गते आयोजना हुने ‘नेताहरूको पूर्ण सत्र’ लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीहरूसमेतको उपस्थितिमा आयोजना हुने सञ्चारकर्मीहरूसँगको विशेष प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन्।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद, रणनीतिक साझेदारी र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजित यस ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा नेपालजस्ता हिमाली राष्ट्रका प्रमुख सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलिया भ्रमण र द्विपक्षीय भेटवार्ता

फिजी र टुभालुका कार्यक्रमहरू सम्पन्न गरेपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तामा नेपाल र अस्ट्रेलियाबिचको कूटनीतिक सम्बन्ध, द्विपक्षीय सहकार्य, व्यापार तथा आपसी हितका विविध विषयमा गहन छलफल हुनेछ।

अस्ट्रेलियामा रहँदा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने विशेष कार्यक्रमहरूमा सहभागिता जनाउँदै त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

परराष्ट्रमन्त्री खनाल आफ्नो वैदेशिक भ्रमण पूरा गरी असोज २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *