पानी र चुदारोबाटै ठेकी बनाउँदै धनकुटाका दीर्घबहादुर, वार्षिक ६ लाखसम्म आम्दानी
धनकुटा। आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा परम्परागत प्रविधिबाट ठेकी बनाउने सीप अझै जीवित छ। गाउँमा बिजुली पुगे पनि स्थानीय कालिगढले पानी र चुदारोको प्रयोग गरी ठेकी निर्माण गर्दै आएका छन्।
महालक्ष्मी नगरपालिका–४ का दीर्घबहादुर पौडेलले खेतीपातीको कामबाट फुर्सद भएको समयमा ठेकी बनाउँदै आएका छन्। उनले वर्षमा करिब १०० वटा ठेकी निर्माण गर्ने गरेका छन्। खेती लगाउने र बाली भित्र्याउने समयबाहेक अन्य समयमा ठेकी निर्माणमा व्यस्त हुने पौडेलले बताए।
पौडेलले सानोदेखि ठूलो आकारसम्मका ठेकी बनाउने गरेका छन्। उनका अनुसार दुई कुरुवादेखि ३८ कुरुवासम्म अट्ने क्षमताका ठेकी निर्माण हुन्छन्। ठेकीसँगै उनले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेका छन्।
परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ। दुई कुरुवा अट्ने सानो ठेकी ६०० रुपैयाँमा बिक्री हुन्छ भने ३८ कुरुवा अट्ने ठूलो ठेकीको मूल्य करिब ११ हजार ४०० रुपैयाँ पर्छ। ठेकी निर्माणबाट पौडेलले वार्षिक करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
पौडेलका अनुसार बिजुलीबाट चल्ने मेसिन प्रयोग गरी बनाइने ठेकीको तुलनामा परम्परागत प्रविधिबाट बनाइएको ठेकी प्रतिकुरुवा करिब १०० रुपैयाँ सस्तो पर्छ। सस्तो हुनुका साथै परम्परागत विधिबाट बनाइएको ठेकीप्रति उपभोक्ताको आकर्षण रहेकाले यसको माग पनि राम्रो रहेको उनले बताए।
ठेकी निर्माणका लागि अपनाइने परम्परागत प्रविधि आफैंमा रोचक र मेहनतपूर्ण छ। नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर त्यसको शक्तिबाट काठ घुमाउने साँचो सञ्चालन गरिन्छ। घुमिरहेको साँचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आवश्यक आकारमा ढालिन्छ। लामो समयदेखि अभ्यास हुँदै आएको यही प्रविधिबाट तयार हुने ठेकीमा कालिगढको सीप र कलात्मकता झल्किन्छ।
ठेकी निर्माणका लागि दार र कटहरको काठलाई उपयुक्त मानिन्छ। स्थानीय मान्यताअनुसार दार र कटहरको काठबाट बनाइएको ठेकीमा दूध जमाउँदा दही र मोही स्वादिलो हुने विश्वास छ। यही कारण परम्परागत काठका ठेकीको माग अझै कायम रहेको स्थानीय बताउँछन्।
तर काठ र चुदारोको अभावसँगै परम्परागत सीप भएका कालिगढको संख्या घट्दै जाँदा यस्तो प्रविधि लोप हुने चिन्ता पनि बढेको छ। आधुनिक मेसिन र विद्युतीय उपकरणको प्रयोग विस्तार भइरहेका बेला पानीको शक्तिबाट सञ्चालन हुने पुरानो प्रविधिलाई निरन्तरता दिन चुनौती थपिएको छ।
महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार गाउँमा विद्युत् पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइएको छ। पानी र चुदारोको प्रयोगबाट ठेकी निर्माण गर्नुका साथै कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उनले बताए।
उनका अनुसार केही समयअघि विद्युत्बाट सञ्चालन हुने ठेकी बनाउने मेसिन गाउँमा ल्याइएको थियो। तर त्यसको दीर्घकालीन सञ्चालन हुन सकेन। पानी र चुदारोको प्रयोगबाट सञ्चालन हुने प्रविधिबाट उत्पादित सामग्री सस्तो हुनुका साथै वातावरणमैत्री र दिगोसमेत हुने बूढाथोकीको भनाइ छ।
परम्परागत ठेकी निर्माणले स्थानीय सीप, संस्कृति र पहिचानलाई जोगाउन महत्वपूर्ण योगदान पुर्याएको उनले बताए। स्थानीयस्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने भएकाले यस्ता परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको बूढाथोकीले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment