‘मल अफ अमेरिका’ मा सामूहिक गोलीबारीको तयारी गरेका १८ वर्षीय युवक पक्राउ

डिसी नेपाल
२२ असोज २०८३ १४:४९
40
Shares

काठमाडौं । अमेरिकाको मिनियापोलिस नजिकै रहेको प्रसिद्ध ‘मल अफ अमेरिका’ मा आतङ्ककारी सङ्गठन आइएसआइएसको नाममा सामूहिक गोलीबारीको योजना बनाइरहेका १८ वर्षीय एक युवकलाई अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार मिनेसोटाका बासिन्दा १८ वर्षीय शेखदून अब्दुल्लाही महमूदले एफबीआईका एक गोप्य एजेन्टबाट एके-४७ राइफल, गोलीगट्टा र म्यागजिन खरिद गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो। शेखदूनले ती गोप्य एजेन्टलाई अक्टोबरको अन्त्यतिर मलमा हुने एक विशेष कार्यक्रममा ३० देखि ६० जना मानिसको हत्या गर्ने उद्देश्यले यी हतियारहरू खरिद गर्न लागेको बताएका थिए।

शेखदूनमाथि आतङ्ककारी आक्रमण गराउने उद्देश्यले घातक हतियार र गोलाबारुद सङ्कलन गरेको गम्भीर आरोप लगाइएको छ। अदालतमा दर्ता गरिएको अभियोगपत्र अनुसार शेखदूनले विभिन्न इन्क्रिप्टेड मेसेजिङ प्लेटफर्महरू मार्फत एफबीआईका सुराकीलाई आफू अमेरिकी प्रतिबन्धित विदेशी आतङ्ककारी सङ्गठन ‘अल-शबाब’ को तर्फबाट लड्न विदेश जान चाहेको बताएका थिए। विदेश यात्रा गर्न सम्भव नभएपछि उनले अमेरिकामै सामूहिक गोलीहान्ने योजना बनाएका थिए। पछि उनले आतङ्ककारी समूह आइएसआइएसमा आबद्ध हुने चाहनासमेत व्यक्त गरेका थिए।

उनले सन् २०२५ जनवरी १ मा न्यु ओर्लियान्स मा भिडमाथि ट्रक कुदाएर १४ जनाको हत्या गर्ने व्यक्तिप्रति पनि ऐक्यबद्धता जनाएका थिए। उक्त आक्रमणकारी पछि प्रहरीसँगको मुठभेडमा मारिएको थियो।

गत जुलाईमा शेखदूनले ‘मल अफ अमेरिका’ का मालिकहरू यहुदी रहेको दाबी गर्दै गैर-मुस्लिम मानिसहरूको हत्या गर्नका लागि सो मलमा ३० देखि ६० जनालाई गोली हान्ने योजना बनाएको बताएका थिए। उनले अक्टोबर २४ का दिन मलमा ‘ह्मोङ आर्ट्स सेलिब्रेसन’ नामक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएकाले सोही दिन आक्रमण गर्ने तय गरेका थिए।

उल्लेखनीय छ कि ‘मल अफ अमेरिका’ संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठुलो व्यापारिक मल हो, जहाँ इन्डोर थिम पार्क, भव्य एक्वारियम र ५०० भन्दा बढी स्टोर तथा पसलहरू रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *