विश्वप्रकाश शर्माको दाबी– ‘गगन थापाको प्यानल भन्दै बाँडिएका सूची सबै फेक हुन्’
काठमाडौं। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत चिट बाँडिएको भन्ने हल्ला निराधार भएको बताएका छन्।
सभापतिका उम्मेदवार गगन थापाको नाम जोडेर आन्तरिक रूपमा प्यानलगत उम्मेदवारको सूची तयार गरी वितरण गरिएको चर्चा चलेपछि शर्माले त्यसको खण्डन गरेका हुन्।
वरिष्ठ उपसभापति पदका उम्मेदवारसमेत रहेका शर्माले आफूहरूले तयार पारेको वा पठाएको भन्दै वितरण गरिएका प्यानलका सूचीहरू नक्कली भएको बताएका छन्।
‘हामीले बनाएको वा पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउन आवश्यक छैन,’ उनले भने।
शर्माले सभापतिका उम्मेदवार गगन थापाले पनि आफ्नो नामको प्यानल भन्दै सार्वजनिक भएका सूचीहरू नक्कली भएको बताइसकेको जानकारी दिए।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा मतदान नगर्न आग्रहसमेत गरेका छन्। निर्वाचनमा जुनसुकै समूहका उम्मेदवार विजयी भए पनि सबैलाई समान रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष वा विपक्ष छुट्याएर दिनुहुन्न। मतपरिणाम आउँदा सबै थरीका अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ,’ शर्माले भने।
गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची सामाजिक सञ्जालमार्फत वितरण भएको सूचना सार्वजनिक भएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment