श्रीलङ्काकी पूर्व प्रथम महिला सिरान्ती राजापाक्षे पक्राउ
काठमाडौं । श्रीलङ्काको भ्रष्टाचार निवारण आयोगले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेकी पत्नी तथा पूर्व प्रथम महिला सिरान्ती राजापाक्षेलाई पक्राउ गरेको छ। उनलाई १ करोड श्रीलङ्काली रुपैयाँको सार्वजनिक कोष हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको हो।
श्रीलङ्काको इतिहासमा कुनै पनि पूर्व प्रथम महिलालाई भ्रष्टाचारको मुद्दामा हिरासतमा लिइएको यो पहिलो घटना हो। अनुसन्धान अधिकारीहरूका अनुसार यो प्रकरण सिरान्ती राजापाक्षेद्वारा सञ्चालित गैरसरकारी संस्था ‘सिरिलिया साभिया’ सँग जोडिएको छ।
कोलम्बोस्थित ‘लेडी रिडवे चिल्ड्रन्स हस्पिटल’ का लागि सीटी स्क्यानर मेसिन खरिद गर्ने बहानामा उक्त चन्दा रकम सङ्कलन गरिएको भए तापनि अस्पताललाई मेसिन उपलब्ध नगराई सो रकमको दुरुपयोग गरिएको आरोप उनीमाथि छ।
सुरुमा अनुसन्धान अधिकारीहरूले सिरान्ती राजापाक्षेको किरुलापोनेस्थित निवासमै पुगेर उनको बयान दर्ता गराएका थिए। त्यसलगत्तै अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका हुन्। उनलाई कोलम्बोको मुख्य मजिस्ट्रेट अदालतमा पेस गरिएकोमा अदालतले अक्टोबर १३ सम्मका लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ।
उल्लेखनीय छ कि सिरान्ती राजापाक्षे दुई दिनअघि मात्रै विदेशमा उपचार गराएर श्रीलङ्का फर्किएकी थिइन्। पक्राउ पर्नबाट जोगिन उनका वकिलहरूले पहिले नै अग्रिम जमानत याचिका समेत दायर गरेका थिए।
महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति थिए भने उनका कान्छा भाइ गोटाबाया राजापाक्षेलाई सन् २०२२ मा देशमा सिर्जित गम्भीर आर्थिक सङ्कट र जनआन्दोलनका कारण पदबाट राजीनामा दिनुपरेको थियो। यसबाहेक महिन्दा राजापाक्षेका जेठा छोरा तथा विपक्षी सांसद नमल राजापाक्षे पनि भ्रष्टाचारका कैयौँ मुद्दाहरूमा अभियुक्त रहेका छन् र हाल न्यायिक हिरासतमा छन्।
यद्यपि, राजापाक्षे परिवारले यी सम्पूर्ण आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ र यसलाई राजनीतिक प्रतिशोध एवं षड्यन्त्र बताउँदै आएको छ।
यसैबिच, भ्रष्टाचार निवारण आयोगले बुधबार ‘बोर्ड अफ इन्भेस्टमेन्ट’ को कोष दुरुपयोग गरेको अभियोगमा पूर्व विदेशमन्त्री रोहिता बोगोल्लागामा लाई पनि हिरासतमा लिएको छ। उनीमाथि सन् २००६ मा लगानी प्रवर्द्धन मन्त्री छँदा लन्डनमा आयोजित एक कार्यक्रमका लागि राष्ट्रिय ढुकुटीको स्वीकृत सीमाभन्दा बढी रकम निकासा गराएको आरोप छ।
यसबाहेक, ‘सिरिलिया साभिया’ अनुसन्धानसँग जोडिएको कोष स्वीकृत गराउन संलग्न रहेको आरोपमा नेसनल सेभिङ्स बैंकका पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश सिरानी बन्डारनायकेका पति प्रदीप करियावासमलाई पनि पक्राउ गरिएको थियो। यद्यपि उनलाई पछि अदालतले धरौटीमा रिहा गरिसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment