डुङ्गा दुर्घटनामा १५ बालबालिकासहित १३९ आप्रवासीको मृत्यु

डिसी नेपाल
२६ असोज २०८३ १०:३७
156
Shares

काठमाडौं । पूर्वी अफ्रिकी मुलुक जिबुतीबाट यमनतर्फ गइरहेको एउटा आप्रवासी डुङ्गा समुद्रमा डुब्दा कम्तीमा १३९ जना आप्रवासीको मृत्यु भएको छ। मृतकमध्ये कम्तीमा १५ जना बालबालिका रहेका छन्।

संयुक्त राष्ट्रसङ्घीय संस्था ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले दिएको जानकारीअनुसार ३०० भन्दा बढी आप्रवासी सवार उक्त डुङ्गा जिबुतीको ओबोक सहरको उत्तरमा पर्ने गुहेरे नजिकै अक्टोबर ८ र ९ को रात दुर्घटनामा परेको हो।

डुङ्गामा कूल ३०५ जना आप्रवासीहरू सवार थिए। हालसम्म करिब ८२ जना आप्रवासीहरूलाई जीवितै उद्धार गरिएको छ। करिब ८४ जना अझै समुद्रमा बेपत्ता रहेकाले खोजी कार्य जारी छ।

जिबुतीका लागि आइओएमका मिसन प्रमुख एलेक्सान्ड्रे कोइस्याकले आफ्ना टोलीहरूले स्थानीय निकायहरूसँग मिलेर उद्धार तथा आपत्कालीन सहायता प्रदान गरिरहेको बताए।

उनले यो त्रासदीले आर्थिक अवसरको खोजीमा जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने आप्रवासीहरूको भयावह अवस्थालाई पुनः उजागर गरेको टिप्पणी गरे।

आइओएमका अनुसार जिबुतीका स्थानीय अधिकारीहरूले बेपत्ताहरूको खोजी, जीवित बचेकाहरूको उपचार र मृतकहरूको अन्तिम संस्कारको व्यवस्था गरिरहेका छन्।

यस क्षेत्रका आप्रवासीहरू राम्रो रोजगारी र आर्थिक अवसरको खोजीमा यमन हुँदै धनी खाडी मुलुकहरू पुग्ने उद्देश्यले यो जोखिमपूर्ण यात्रा तय गर्छन्।

विडम्बना के छ भने, यमनका आफ्नै नागरिकहरू भने सन् २०२२ को युएन-मध्यस्थताको युद्धविराम भङ्ग भएयता साउदी समर्थित सरकारी फौज र इरान समर्थित हुथी विद्रोहबिच चर्किएको भीषण युद्धका कारण देश छाडेर भागिरहेका छन्।

त्यस्तो चरम असुरक्षा र युद्धग्रस्त मुलुकलाई नै आप्रवासीहरूले खाडी पुग्ने बाटोका रूपमा प्रयोग गर्दा यस्ता भयानक दुर्घटनाहरू दोहोरिने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *