विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आकस्मिक बाढी आयो। अकल्पनीय विनाशकारी बाढीले व्यक्तिगत घरहरू बगाउनुका साथै ठूलो क्षति पुर्यायो। जलविद्युत् आयोजना, सडक, विद्यालय र स्वास्थ्य संस्थाजस्ता पूर्वाधारमा समेत क्षति पुग्यो। बाढीको शक्तिशाली भेलले बगाएका आफ्ना प्रियजनको खोजीमा परिवारका सदस्य र आफन्तहरू भौतारिनुपर्ने, तड्पिनुपर्ने र चिन्तित हुनुपर्ने अवस्था आयो।
नेपाल रेडक्रस सोसाइटीद्वारा परिचालित प्रारम्भिक प्रतिकार्यकर्तामध्ये राष्ट्रिय प्रतिकार्य टोली (एनआरटी) का सदस्यद्वय नवीनराज तिवारी र प्रकाश कार्की पनि थिए। यो विपद्ले दुवैलाई प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि साहस र प्रतिबद्धता मात्र पर्याप्त नहुने पाठ सिकायो। पूर्वतयारी, समन्वय र समुदायलाई सबैभन्दा बढी सहयोग आवश्यक परेको समयमा छिटो तथा प्रभावकारी रूपमा परिचालित हुन सक्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने कुरा उनीहरूले पुनः महसुस गरे।
दुवैले एनआरटी तालिममा लामो समयदेखिको कार्यगत अनुभव र व्यावहारिक ज्ञान प्रस्तुत गरेका थिए। सन् २००१ मा नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई हाल चितवन जिल्ला शाखामा कार्यरत नवीनका लागि आपत्कालीन अवस्थामा काम गर्नु नौलो थिएन। अर्कातिर, जुनियर रेडक्रसबाट मानवीय स्वयंसेवाको यात्रा सुरु गरेका प्रकाश सन् २००९ देखि नेपाल रेडक्रसका कर्मचारीका रूपमा कार्यरत छन्। उनले विकास कार्यक्रमका साथै आपत्कालीन प्रतिकार्यका काममा पनि सहयोग पुर्याउँदै आएका छन्।
यति लामो अनुभव हुँदाहुँदै पनि दुवै उद्धारकर्मीका अनुसार सन् २०२६ को जुनमा नेपाल रेडक्रसले आयोजना गरेको एनआरटी तालिमले उनीहरूलाई फरक अनुभव प्रदान गर्यो। तालिमले आपत्कालीन प्रतिकार्यका लागि अझ व्यवस्थित र समन्वयात्मक दृष्टिकोण अपनाउन सिकायो।
नवीन सम्झन्छन्, “मसँग पहिले नै व्यावहारिक स्थलगत अनुभव थियो। एनआरटी तालिमले मलाई अझ व्यवस्थित तरिका अपनाएर उक्त अनुभवलाई थप सुदृढ बनाउन सहयोग पुर्यायो।”
उनका लागि सबैभन्दा महत्त्वपूर्ण सिकाइमध्ये क्षति तथा आपत्कालीन आवश्यकताको लेखाजोखा कसरी गर्ने र राहत वितरणको योजना अझ प्रभावकारी रूपमा कसरी बनाउने भन्ने थियो।
“विपद्का समयमा मानिसहरूका विभिन्न आवश्यकता हुन्छन् र ती सबैलाई तत्काल पूरा गर्न प्रायः सम्भव हुँदैन,” उनी भन्छन्, “यस तालिमले मलाई प्रभावित परिवारका सबैभन्दा अत्यावश्यक आवश्यकता पहिचान गर्न तथा अझ लक्षित र प्रभावकारी ढङ्गले सहयोगको योजना बनाउन मद्दत गर्यो।”
तालिमबाट प्राप्त ज्ञान र सीपको परीक्षण लगभग तुरुन्तै भयो। रसुवा, नुवाकोट र धादिङसहित आसपासका जिल्लामा आएको भीषण बाढीपछि प्रभावित समुदायसम्म पुग्न उद्धार तथा राहतकर्मीले ठूलो चुनौती सामना गर्नुपर्यो। बाढीले आवतजावतका मुख्य मार्गमा अवरोध सिर्जना गर्नुका साथै क्षति पुर्याएकाले ती जिल्लामा यातायात सम्पर्क विच्छेद भएको थियो। राहत सामग्री ओसारपसारमा समस्या उत्पन्न भएको थियो। विद्युत् र सञ्चार सेवा पनि नराम्ररी प्रभावित भएका थिए। यसका कारण धेरै परिवार आफ्ना प्रियजनसँग सम्पर्क गर्न वा आवश्यक सूचना प्राप्त गर्न असमर्थ भए।
त्यही समयमा विपद्का कारण बेपत्ता भएका आफन्त तथा प्रियजनको खोजीमा मानिसहरू व्याकुल भएर भौतारिरहेका थिए।
प्रकाशले प्रतिकार्यका क्रममा द्रुत लेखाजोखा गर्न सहयोग गरे। बाढी प्रभावितको खोजी, उद्धार तथा राहत वितरण व्यवस्थापनमा समन्वय गरे। स्वयंसेवक परिचालनमा सहयोग पुर्याउनुका साथै नगद सहायता प्रदान गर्न सकिने अवस्था छ कि छैन भनेर बजारको द्रुत मूल्याङ्कनसमेत गरे।
“यसअघि पनि म विभिन्न विपद्को प्रतिकार्यमा संलग्न भएको थिएँ। तर, भोटेकोशी बाढीको अवस्था भने अत्यन्तै फरक थियो,” प्रकाश भन्छन्, “त्यहाँको विनाश र सर्वस्व गुमाएका धेरै बालबालिकालाई देख्दा म निःशब्द भएँ।”
त्यस्तो कठिन परिस्थितिमा एनआरटी तालिमबाट प्राप्त मूल्याङ्कनसम्बन्धी सीपले उनलाई आवश्यक दिशा प्रदान गर्यो।
“विपद्ले पुर्याएको ठूलो क्षति देखेर आत्तिनुको सट्टा आवश्यकताको मूल्याङ्कन गर्ने विधिले मानिसहरूलाई तत्काल कस्ता सहयोग चाहिएको छ भन्ने बुझ्न र सबैभन्दा जोखिममा रहेका परिवारलाई पहिले प्राथमिकता दिन सहज बनायो,” उनी भन्छन्।
चितवन जिल्लामा नदीको तल्लो तटीय क्षेत्रमा नवीन प्रतिकार्यको अर्को महत्त्वपूर्ण पक्षमा सहयोग गरिरहेका थिए। उनले केन्द्रीय कार्यालय, स्थानीय निकाय, सुरक्षा निकाय, जिल्ला शाखा र स्वयंसेवकसँग नजिक रहेर काम गरे।
“मैले समन्वयात्मक निर्णय प्रक्रियामा सहयोग पुर्याएँ। सही सूचना सङ्कलन, विश्लेषण र आदानप्रदान सुनिश्चित गर्न मद्दत गरेँ,” उनी भन्छन्।
प्रकाशका लागि पनि तालिम अत्यन्तै उपयोगी साबित भयो। किनभने परिस्थिति तीव्र गतिमा परिवर्तन भइरहेको थियो र प्रभावकारी समन्वय सही जानकारी तथा स्पष्ट सञ्चारमा निर्भर थियो।
“विपद्को प्राविधिक पक्षमा काम गरिरहँदा पनि त्यस सङ्कटसँग जोडिएका व्यक्तिगत कथालाई बेवास्ता गर्न असम्भव थियो,” उनी भन्छन्।
नवीनका लागि सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीमध्ये एउटा नदी किनारमा फेला परेका मानव अवशेषको व्यवस्थापन गर्नु थियो।
“बाढीले माथिल्लो भागका जिल्लाबाट शव बगाएर ल्याएको थियो र धेरैजसो शव केही दिनपछि फेला परेका थिए,” उनी भन्छन्, “केही शव गम्भीर रूपमा कुहिएका थिए, जसले गर्दा पहिचान गर्न अत्यन्तै चुनौतीपूर्ण बनेको थियो। एउटा सम्झना विशेष रूपमा जीवन्त छ। जब मैले शव राखिने केन्द्रको भ्रमण गरेको थिएँ, त्यहाँको एउटा क्षण मेरो सम्झनामा सधैँका लागि रह्यो।”
बाढीपछि फेला परेका सामानमध्ये एउटा बच्चाको विद्यालयको टाई पनि थियो।
“त्यो टाई एउटा महत्त्वपूर्ण सूचना बन्यो, जसले बच्चाको पहिचान गर्न र शोकाकुल परिवारलाई जवाफ दिन मद्दत गर्यो। विद्यालयको एउटा सामान्य टाई कसरी परिवार र उनीहरूका प्रियजनबीचको एकमात्र सम्पर्क सूत्र बन्यो भन्ने कुरा निकै मर्माहत बनाउने खालको थियो,” उनी भन्छन्।
प्रकाशलाई पनि उद्धार तथा राहत कार्यका क्रममा भेटेका मानिसहरू अझै याद छन्।
“धेरै परिवारले आफ्ना कम उमेरका सदस्य गुमाएका थिए,” उनी भन्छन्, “उनीहरू सबैमा एउटा कुरा साझा थियो—आफ्ना प्रियजनको सम्झना। भौतिक सम्पत्ति उनीहरूका लागि महत्त्वपूर्ण थिएन।”
यस चुनौतीपूर्ण समयमा धेरै मानिसले आफ्नै व्यक्तिगत क्षति बेहोर्नुपरे पनि प्रभावित समुदायलाई सहयोग गर्न अग्रसरता देखाए। दुवै उद्धारकर्मीका लागि यी अनुभवले मानवीय कार्यसम्बन्धी एउटा साझा पाठलाई अझ बलियो बनाए। स्वयंसेवक तथा समुदायका सदस्यसँग मिलेर काम गर्ने क्रममा उनीहरूले असीम पीडासँगै उल्लेखनीय सहनशीलता र ऐक्यबद्धता पनि देखे।
नवीन भन्छन्, “हरेक तथ्याङ्कको पछाडि एक व्यक्ति, एउटा परिवार र सधैँका लागि बदलिएको जीवन हुन्छ।”
नेपालभरि जलवायु तथा विपद्जन्य जोखिम बढ्दै जाँदा हालैका बाढी प्रतिकार्यका अनुभवबाट सिकिएका पाठ पहिलेभन्दा अझ बढी सान्दर्भिक भएका छन्। नवीन र प्रकाशजस्ता विपद् प्रतिकार्यमा खटिनेहरूका लागि पूर्वतयारी भनेको विपद् आइपर्दा काम गर्न तयार रहनु मात्र होइन। यसको अर्थ अत्यन्त कठिन क्षणको सामना गरिरहेका मानिसले आफूलाई सबैभन्दा बढी आवश्यकता पर्दा समयमै सहयोग, सम्मान र आशा प्राप्त गर्ने सुनिश्चित गर्नु पनि हो।
पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ। तर यसको प्रभाव मानिससम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना गर्न अझ राम्ररी तयार भएको हरेक समुदायमा महसुस गरिन्छ।
No ads found for this position




Facebook Comment