चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ
काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकलाई सङ्गठनको तर्फबाट बिदाइ गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च आत्मबलका साथ नेपाली सेना अनुशासनको हिमायती हो भन्ने ढङ्गबाट प्रतियोगितामा प्रस्तुत हुन निर्देशन दिए।
इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल ९सिआइएसएम०ले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो।
प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने छ। नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने छ।
प्रधानसेनापति थापाले भने, “नेपाली सेना र नेपालीको गौरव प्रवद्र्धन गर्न आत्मअनुशासन रही प्रतियोगीता जित्छु भन्ने अठोटका साथ खेलाडीले ठिक समयमा अनुभव, खेल कौशल र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ, खेलाडीले प्राप्त गर्न उत्कृष्ट नतिजाले सङ्गठनको मात्र होइन, मुलुकै गौरवमाथि उठ्ने छ, डराउनु पर्दैन ढुक्क भएर खेल्नुस्, खुवी देखाएर प्रतियोगिता जित्ने कोसिस गर्नुस्।
ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले समारोहमा उक्त प्रतियोगिताको तयारीको समग्र अवस्थाका बारे जानकारी गराउँदै पहिलोपटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको जानकारी दिए।
विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन्। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनेछन्।
उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहने छन्।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment