मन्त्रीलाई भेट्न जनता होइन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : प्रतिभा रावल

डिसी नेपाल
९ कार्तिक २०८३ ११:५४
4
Shares

चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या सुन्न र सरकारले गरेका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री नै जनतालाई भेट्न जानुपर्ने धारणा राखिन्। भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधानका लागि सरकारले गरिरहेका कामबारे जानकारी गराउन आफू चितवन आएको उनले बताइन्।

मन्त्री रावलका अनुसार सरकारको प्राथमिकतामा भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषय रहेका छन्। समस्याग्रस्त सहकारीबाट बचत फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले यसलाई थप तीव्रता दिइने बताइन्।

लामो समयदेखि बचत फिर्ता नपाउँदा बचतकर्ताहरू पीडामा रहेको भन्दै उनले उनीहरूको रकम छिटोभन्दा छिटो फिर्ता गर्नुपर्नेमा जोड दिइन्। बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई आवश्यक ताकेता गर्दै रकम फिर्ताको प्रक्रिया प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

सरकारले जनताको हकहितमा के काम गरिरहेको छ र आगामी कार्ययोजना के छन् भन्नेबारे जनतालाई प्रत्यक्ष जानकारी गराउन आवश्यक रहेको मन्त्री रावलले बताइन्। जनताका गुनासा र समस्या प्रत्यक्ष सुन्ने उद्देश्यले आफूहरू जनतामाझ पुगिरहेको उनले स्पष्ट पारिन्।

भूमिहीन नागरिकको समस्या सम्बोधन गर्दै उनले अहिले बसोबास गरिरहेको ठाउँबाट उठाइने हो कि भन्ने आशङ्का नराख्न आग्रह गरिन्। लामो समयदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व उपलब्ध गराउने विषयमा कानुनी जटिलता रहे पनि त्यसलाई समाधान गर्दै सरकार अघि बढिरहेको उनले बताइन्।

‘लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन केही कानुनी अड्चन थिए। ती अड्चन हटाएर जग्गाधनी पुर्जा उपलब्ध गराउने दिशामा सरकार अघि बढेको छ,’ उनले भनिन्।

मन्त्री रावलले आवश्यक नीतिगत सुधारका काम अघि बढिसकेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने समस्या पनि समाधान गरेर भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *