बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
काठमाडौं । काठमाडौंको बबरमहलमा निर्माण भइरहेको आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै पैदलयात्रुका लागि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
सवारीसाधनको अत्यधिक चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले पैदलयात्रुको आवागमन सुरक्षित बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उनले यसै हप्ताभित्र पुल पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
उक्त पुल निर्माणका लागि २०८२ फागुन २१ गते सम्झौता भएको थियो। पुल निर्माणको लागत २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ निर्धारण गरिएको छ। निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।
पुल सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा सडक पार गर्ने पैदलयात्रुलाई सहजता मिल्ने र व्यस्त सडकमा हुने जोखिम कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment