दसैँको अवधिमा देशभर सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

डिसी नेपाल
१० कार्तिक २०८३ १३:१३
4
Shares

काठमाडौं। यस वर्षको दसैँका अवधिमा देशभर भएका १ हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन्।

असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८३ पुरुष, ३९ महिला, ७ बालक र ५ बालिकाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। घाइतेमध्ये ४३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन्।

प्रदेशगत विवरणअनुसार कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमतीमा ११२, गण्डकीमा ९७ र मधेशमा ८० दुर्घटना भएका छन्। दुर्घटनामा १ हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन गरी कुल २ हजार ४८१ सवारीसाधन संलग्न थिए। गत वर्षको दसैँमा १ हजार ४९२ सवारी दुर्घटना भएका थिए।

दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको छ। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २ हजार ७९४, क्षमताभन्दा बढी यात्रु राख्ने १ हजार ८८२, तीव्र गतिमा चलाउने ७४६, यान्त्रिक परीक्षणसम्बन्धी नियम उल्लङ्घन गर्ने ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ र लागूपदार्थ सेवन गरी चलाउने ५३ सवारीसाधन छन्। लामो दूरीका सवारीसाधनमा दुई चालक भए–नभएको जाँचसम्बन्धी नियम उल्लङ्घन गर्ने ९ सवारीसाधनलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले दसैँमा देशभर ४०८ यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरेको थियो। चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रुको सङ्ख्या र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आगामी दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरणका लागि थप सुरक्षा योजना लागू गरिएको छ। प्रहरीले ट्राफिक नियम उल्लङ्घन भएको देखेमा प्रहरीको १०० वा १०३ नम्बरमा खबर गर्न आग्रह गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *