शरणार्थी बनेर क्यानडाको नागरिकता लिएको दाबीपछि कांग्रेस केन्द्रीय सदस्य चन्द्रा अधिकारीको शपथमाथि प्रश्न
टोरोन्टो, क्यानडा। हालै सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित क्यानडा निवासी चन्द्रा अधिकारी (चन्दा) को शपथग्रहणको वैधानिकतालाई लिएर गम्भीर प्रश्न उठेको छ।
अधिकारीले क्यानडा र नेपाल दुवै देशको राहदानी (पासपोर्ट) लिएको दाबी सार्वजनिक भएसँगै उनको नेपाली नागरिकताको वैधता र केन्द्रीय सदस्य बन्ने योग्यताबारे चर्को बहस सुरु भएको छ।
यसअघि नै अधिकारीविरुद्ध आधा दर्जनभन्दा बढी उजुरी परे पनि पार्टी सभापति गगन थापासँगको निकटताका कारण निर्वाचन समितिले कुनै कारबाही नगरेको आरोप लगाइएको छ।
जनसम्पर्क समितिबाट निर्वाचित सबैलाई त्रिभुवन विमानस्थलको आगमन (अराइभल) छापसहितको नेपाली पासपोर्ट पेस गर्न तोकिएको समयसीमामा उनले आवश्यक कागजातबुझाउन नसकेपछि उनको शपथ रोकिएको थियो। तर, पछि सभापतिसँगको निकटताकै कारण कागजातबिनै उनलाई छुट्टै शपथ गराइएको दाबी गरिएको छ।
स्मरण रहोस्, जनसम्पर्क समितिले पठाएको सात जना महाधिवेशन प्रतिनिधिको नामावलीमा अधिकारीको नाम समावेश थिएन र निर्वाचन समितिले प्रकाशन गरेको पहिलो नामावलीमा पनि उनको नाम थिएन।
उनी असोज २२ गते काठमाडौं पुगी सभापति थापाको मनोनीत कोटामार्फत महाधिवेशन प्रतिनिधि बन्नुका साथै उम्मेदवारी समेत दिएकी थिइन्। निर्वाचनको नतिजा लगत्तै उनी क्यानडा प्रस्थान गरेको स्रोतको भनाइ छ।
उनी नेपाल जाँदा र आउँदा सिधै काठमाडौं नगई, नेपाली वा विदेशी पासपोर्ट प्रयोग नगरी नेपाली नागरिकताको प्रमाणपत्र देखाएर नयाँदिल्ली हुँदै आवतजावत गरेको पाइएको छ।
शरणार्थी दाबी र नागरिकताको विवाद
सामाजिक सञ्जालमा चर्का कुरा गर्ने अधिकारीले सन् २०१८ मा क्यानडा आएर नेपालमा ज्यानको सुरक्षा नभएको भन्दै शरणार्थी दाबी गरेकी थिइन्। जनवरी २०२० मा उनको उक्त दाबी स्वीकृत भएको थियो।
उनको वकिलको फेसबुक पेजमा उनलाई बधाई दिएको पोस्ट अझै पनि सुरक्षित रहेको बताइएको छ। शरणार्थी दाबी गर्ने व्यक्तिले आफ्नो देशमा कहिल्यै नफर्किने सर्तमा नेपाली पासपोर्टसमेत त्याग गर्नुपर्ने नियम हुन्छ।
यदि नेपाली पासपोर्ट लिएर नेपाल फर्किएमा शरणार्थीको अवस्था र सबै अध्यागमन सुविधा स्वतः समाप्त हुन्छ। त्यसैले अधिकांश शरणार्थीले अवधि पुगेपछि क्यानडाको पासपोर्ट लिने गरेका छन्।
शरणार्थी दाबी गरी अमेरिका र नेपालको पासपोर्ट बोकेको भन्दै रवि लामिछानेमाथि कटाक्ष गर्ने सभापति थापाले आफ्ना निकट व्यक्तिलाई बचाउन खोज्दा चुकेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
नैतिक आचरणमाथि प्रश्न र अन्य आरोपहरू
क्यानाडास्थित नेपाली समुदायका अनुसार अधिकारीको सामाजिक छवि पनि विवादित रहँदै आएको छ। गत वर्ष क्यानडाको ब्राम्पटनस्थित केनेडीमा रहेको ‘नेशन मार्ट’ मा सामान चोरी गरेको आरोपसमेत उनलाई लागेको थियो।
मार्टमा महँगो सामानको स्टिकर निकालेर सस्तो सामानको टाँसेर बिलिङ गराई पटक-पटक सामान लगेको फेला परेपछि उनी पक्राउ परेकी थिइन्। पक्राउ गरेपछि माफी माग्न लगाइ, मार्टमा कहिल्यै आउन नपाउने गरी फोटो खिचाएर पठाइएको उक्त घटनाले त्यतिबेला ठूलै खैलाबैला मच्चाएको थियो।
यसैगरी, दुई वर्षअघि एक नेपाली महिला विद्यार्थीको बलात्कार प्रकरणमा उनले व्यक्तिगत फाइदाका लागि भिडियोबाजी गरी निर्दोष नेपाली युवाहरूको भविष्य अन्धकार बनाएको गम्भीर आरोपसमेत लागेको छ। हाल अदालतले ती युवाहरूलाई सफाइ दिइसकेको र कथित पीडित महिला नेपाल फर्किसकेकी छिन्।
निष्पक्ष छानबिनको माग
नेपाली नागरिकता त्याग गरी शरणार्थी दाबी गरेको, विदेशी राहदानी लिएको विषय तथा चोरीको आरोपबारे नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने चर्को माग उठेको छ।
‘सुधारिएको कांग्रेस’ दाबी गर्ने वर्तमान नेतृत्वले यति गम्भीर आरोपहरू लाग्दा समेत मौ बस्नुले ‘नयाँ बोतलमा पुरानै मदिरा’ त होइन भन्ने आशङ्का नेपाली समुदायमा उत्पन्न गराएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment